आगामी पुस्ताकालागि भानुभक्तबाट शिक्षा

वि.सं. १८७१ असार २९ गते (सन् १८१४ जुलाई १३) हालको तनहू जिल्लाको चँदी रम्घामा पिता धनञ्जय आचार्य र माता धर्मावती देवी आचार्यबाट भानुभक्त आचार्यको जन्म भएको थियो । उहाँका हजुरबुबा श्रीकृष्ण आचार्य संस्कृतका विद्वान हुनु हुन्थ्यो ।हजुरबुबाकै प्रेरणाबाट भानुभक्तले बाल्यकालदेखि नै संस्कृत भाषा, व्याकरण, वेद, पुराण तथा धार्मिक ग्रन्थहरूको अध्ययन गरेका थिए।

भानुभक्त आचार्यलाई घाँसीको प्रेरणा

भानुभक्त आचार्यको जीवनमा घाँसीको प्रेरणा अत्यन्त महत्वपूर्ण र ऐतिहासिक मानिन्छ। एक दिन भानुभक्त घुम्दै जाँदा एक घाँसी (घाँस काटेर जीविका चलाउने व्यक्ति) ले आफ्नै खर्च र श्रमबाट सार्वजनिक इनार खनिरहेको देखे । भानुभक्तले उसलाई सोधे, ‘तिमी किन यस्तो दुःख गरेर इनार खन्दै छौ?’ घाँसीले उत्तर दियो किः ‘म धनी मानिस होइन। मेरो नाम कसैले सम्झँदैन। तर मैले बनाएको यो इनारबाट मानिसहरूले पानी खानेछन्, र यसै कारण मेरो नाम पनि सधैं सम्झिनेछन्।’ यो उत्तरले भानुभक्तको मन गहिरोसँग छोयो। उनले आफू शिक्षित, विद्वान् र सम्पन्न परिवारका भए पनि समाजका लागि स्मरणीय काम नगरेको महसुस गरे। त्यसपछि उनले समाजलाई उपयोगी हुने साहित्य सिर्जना गर्ने संकल्प गरे। यही प्रेरणाले उनले संस्कृतमा रहेको रामायणलाई सरल नेपाली भाषामा अनुवाद गर्न थाले, जसले नेपाली साहित्यमा नयाँ युगको सुरुवात गर्यो।

घाँसीको प्रेरणाबाट प्राप्त शिक्षा

घाँसीको प्रेरणाबाट महानता धन वा पदले होइन, समाजका लागि गरेको योगदानले प्राप्त हुन्छ। असल काम गर्न धनी वा शक्तिशाली हुन आवश्यक छैन; इच्छा र सेवाभाव भए पुग्छ।जुनसुकै व्यक्तिबाट पनि जीवन बदल्ने प्रेरणा प्राप्त हुन सक्छ।मानिसले आफ्नो जीवनलाई समाजका लागि उपयोगी बनाउनु पर्छ।सत्कर्मले मानिसलाई मृत्युपछि पनि अमर बनाउँछ भन्ने शिक्षा प्राप्त भएको छ।

मोतिराम भट्टले भानुभक्त आचार्यलाई कसरी चिनाए?

भानुभक्त आचार्यको निधनपछि उनका धेरै रचनाहरू व्यापक रूपमा प्रकाशित भएका थिएनन्। त्यसैले उनीबारे धेरै नेपालीलाई जानकारी थिएन। यही अवस्थामा मोतिराम भट्टले भानुभक्तको प्रतिभालाई खोजी, सङ्कलन, सम्पादन र प्रकाशन गरेर नेपाली समाजमा चिनाउने ऐतिहासिक काम गरेका थिए ।मोतिराम भट्टले नेपालका विभिन्न स्थानमा गएर भानुभक्तका हस्तलिखित रचनाहरू र प्रतिलिपिहरू सङ्कलन गरे। उनले ती सामग्रीलाई सुरक्षित राखी व्यवस्थित बनाएका थिए।त्यसै गरी सङ्कलित रचनाहरूलाई सम्पादन गरी भानुभक्तीय रामायण लगायत अन्य कृतिहरू प्रकाशित गरे। यसबाट भानुभक्तका साहित्य सर्वसाधारणसम्म पुग्न सकेका थिए। यस्तै मोतिराम भट्टले भानुभक्तको जीवनी लेखी प्रकाशनमा ल्याएका थिए जसमा भानुभक्तको जन्म, शिक्षा, साहित्यिक योगदान, घाँसी प्रसङ्ग र व्यक्तित्वबारे जानकारी समेटिएको थियो। भानुभक्तको साहित्यिक योगदानको मूल्याङ्कन गर्दै मोतिराम भट्टले उनलाई ‘नेपालीका आदिकवि’ भनेर सम्मानित गरे। त्यसपछि भानुभक्त यही उपाधिबाट व्यापक रूपमा परिचित भए।मोतिराम भट्टले सभा, गोष्ठी, लेख तथा प्रकाशनमार्फत भानुभक्तका कृतिको चर्चा गरे। यसले भानुभक्तको लोकप्रियता देशभर फैलाएको थियो।भानुभक्तप्रति सम्मान बढाउन मोतिराम भट्टको प्रयासले महत्वपूर्ण भूमिका खेलेको मानिन्छ। त्यसकै परिणामस्वरूप असार २९ गते भानु जयन्ती मनाउने परम्परा स्थापित भएको छ।

यदि मोतिराम भट्टले भानुभक्तका रचनाहरू खोजी, सम्पादन, प्रकाशन र प्रचार नगरेका भए, भानुभक्तको साहित्य त्यति व्यापक रूपमा चिनिन नसक्ने सम्भावना थियो। त्यसैले मोतिराम भट्टलाई भानुभक्तका खोजकर्ता, जीवनीकार, सम्पादक, प्रकाशक र प्रचारक का रूपमा सम्मान गरीन्छ। उनले नै भानुभक्तलाई नेपाली साहित्यका ‘आदिकवि’ का रूपमा स्थापित गर्न निर्णायक भूमिका खेलेका थिए।

नेपाली साहित्यमा योगदान

नेपाली साहित्यका प्रथम महान् कवि तथा ‘आदिकवि’ को रूपमा प्रसिद्ध छन्।उनले संस्कृत भाषामा रहेको रामायणलाई सरल र सहज नेपाली भाषामा अनुवाद गरेर नेपाली साहित्यलाई जनसाधारणसम्म पु¥याउने ऐतिहासिक योगदान दिएका छन्।उनका मुख्य कृतिहरुमा भानुभक्तीय रामायण (सबैभन्दा प्रसिद्ध), भक्तमाला , बधूशिक्षा , प्रश्नोत्तर ,रामगीता र विभिन्न फुटकर कविताहरु रहेका छन् ।

१. रामायणलाई नेपाली भाषामा अनुवाद : भानुभक्तको सबैभन्दा ठूलो योगदान संस्कृतको वाल्मीकि रामायणलाई सरल र सहज नेपाली भाषामा अनुवाद गर्नु हो। यसअघि संस्कृत नजान्ने सर्वसाधारणले रामायण बुझ्न सक्दैन थिए। उनको अनुवादपछि धार्मिक ज्ञान सर्वसाधारणको पहुँचमा पुगेको थियो।

२. नेपाली भाषालाई साहित्यिक प्रतिष्ठा दिलाउनु : भानुभक्तभन्दा पहिले नेपाली भाषामा साहित्यिक रचनाहरू सीमित थिए। उनले नेपाली भाषामा उच्चस्तरीय काव्य सिर्जना गरेर नेपाली भाषालाई साहित्यिक सम्मान दिलाए र भविष्यका लेखक–कविहरूका लागि मार्ग प्रशस्त गरेका थिए।

३. सरल, मिठासपूर्ण र जनबोलीको भाषा प्रयोग : उनका रचनाहरूमा कठिन संस्कृत शब्दभन्दा सरल नेपाली शब्दहरूको प्रयोग पाइन्छ। यसले साहित्यलाई विद्वानहरूमा मात्र सीमित नराखी आम जनतासम्म पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।

४. मौलिक कृतिहरूको सिर्जना : रामायणको अनुवाद मात्र नभई उनले भक्तमाला, बधूशिक्षा, प्रश्नोत्तर, रामगीता लगायतका मौलिक कृतिहरू पनि लेखे। यी कृतिहरूमा नैतिक शिक्षा, धर्म, समाज र पारिवारिक जीवनका विषय समेटिएका छन्।

५. नेपाली काव्य परम्पराको विकास : भानुभक्तले छन्द, लय र काव्यकलालाई व्यवस्थित रूपमा प्रयोग गरे। उनको शैलीले पछि आउने कविहरूलाई गहिरो प्रभाव पार्यो र नेपाली काव्य परम्पराको विकासमा नयाँ आधार तयार गर्यो।

६. समाजमा नैतिक र सांस्कृतिक चेतना फैलाउनु : उनका रचनाहरूले सत्य, धर्म, कर्तव्य, पारिवारिक सद्भाव, नैतिकता र मानवताको सन्देश दिएका छन्। यसले समाजमा नैतिक चेतना फैलाउन महत्वपूर्ण भूमिका खेलेको छ।

७. नेपाली साहित्यको नयाँ युगको सुरुवात : भानुभक्तको योगदानका कारण नेपाली साहित्यको एउटा युगलाई नै ‘भानुभक्त युग’ भनेर चिनिन्छ। ‘भानुभक्तको योगदानले नेपाली साहित्यको विकासमा नयाँ युगको सुरुवात ग¥यो र पछि आउने साहित्यकारहरूलाई गहिरो प्रेरणा दियो।’

‘आदिकवि’

भानुभक्तलाई नेपाली भाषामा पहिलो पटक उच्चस्तरीय काव्य सिर्जना गर्नु, संस्कृतको रामायणलाई जनभाषा नेपालीमा अनुवाद गरी सबैका लागि सुलभ बनाउनु तथा नेपाली साहित्यलाई व्यवस्थित र समृद्ध बनाउन अग्रणी भूमिका निर्वाह गरे वापत आदिकविको उपाधि दिइएको थियो ।

राष्ट्रिय विभूती घोषणा

नेपाल सरकारले भानुभक्त आचार्य र मोतिराम भट्ट दुवैलाई नेपाली भाषा र साहित्यमा पु¥याएको असाधारण योगदानको सम्मान गर्दै वि.सं. २०५६ सालमा राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

भानुभक्त आचार्यबाट अबको पुस्ताले के सिक्ने ?

भानुभक्त आचार्य नेपाली साहित्यका आदिकवि मात्र होइनन्, उनी समाजलाई सही दिशा देखाउने प्रेरणादायी व्यक्तित्व पनि हुन्। उनको जीवन, विचार र साहित्यबाट आजको पुस्ताले निम्न विस्तृत शिक्षाहरू लिन सक्छ।

१. मातृभाषाप्रतिको सम्मान र प्रेम : भानुभक्तले संस्कृतमा रहेको रामायणलाई नेपाली भाषामा अनुवाद गरेर नेपाली भाषालाई साहित्यिक उचाइमा पु¥याए। त्यस समय संस्कृत विद्वानहरूको भाषा मानिन्थ्यो भने नेपाली जनसाधारणको भाषा थियो। उनले जनताले बुझ्ने भाषामा लेखेर मातृभाषाको महत्व स्थापित गरेका थिए। अबको पुस्ताले नेपाली भाषाको संरक्षण र विकासमा योगदान गर्ने, नेपाली भाषामा अध्ययन, अनुसन्धान र सिर्जना गर्ने तथा विदेशी भाषासँगै आफ्नै भाषाको पनि सम्मान गर्न सिक्नु पर्दछ।

२. समाजका लागि केही अमूल्य काम गर्ने : घाँसीले आफ्ना लागि होइन, समाजका लागि इनार खनेको देखेर भानुभक्तले पनि समाजले सम्झिने काम गर्ने प्रेरणा पाएका थिए। यही प्रेरणाले उनले रामायण नेपालीमा अनुवाद गरे।अबको पुस्ताले आफ्नो सीप र ज्ञान समाजको हितमा प्रयोग गर्ने, केवल व्यक्तिगत सफलता होइन, सामाजिक उत्तरदायित्व पनि पूरा गर्ने तथा समाजमा सकारात्मक परिवर्तन ल्याउने काम गर्ने शिक्षा प्राप्त भएको छ।

३. ज्ञानलाई सबैसम्म पु¥याउने : जसरी संस्कृतमा भएको धार्मिक ग्रन्थ धेरै मानिसले बुझ्न सक्दैनथे र भानुभक्तले त्यसलाई नेपालीमा अनुवाद गरी ज्ञान सबैका लागि सुलभ बनाएका थिए।त्यसै गरी अबको पुस्ताले जटिल विषयलाई सरल भाषामा बुझाउने, शिक्षा र ज्ञान सबैका लागि पहुँचयोग्य बनाउने तथा डिजिटल माध्यमबाट पनि उपयोगी ज्ञान फैलाउने कार्य गर्नुपर्दछ।

४. परिश्रम, धैर्य र निरन्तरता : भानुभक्तले त्यस समयमा त्यति ठूलो साहित्यिक कृति तयार गर्नु सजिलो काम थिएन। कयौँ कठिनाइका बीच पनि उनले आफ्नो कामलाई निरन्तर दिई अघि बढाएर एउटा सफलता प्राप्त गरेका थिए। अबको पुस्ताले पनि कठिनाइ आए पनि लक्ष्यबाट पछि नहट्ने, नियमित अभ्यास र मेहनत गर्ने तथा सफलताका लागि धैर्य राख्ने शिक्षा यसबाट लिनु पर्दछ ।

५. सकारात्मक प्रेरणा ग्रहण गर्ने : भानुभक्तले कुनै राजा वा धनी व्यक्तिबाट होइन, एक सामान्य घाँसीबाट नाम राख्ने कार्य गर्ने प्रेरणा लिएका थिए। यसले महान् शिक्षा जुनसुकै व्यक्तिबाट पनि प्राप्त हुन सक्छ भन्ने देखाउँछ भने अबको पुस्तालाई सबै व्यक्तिको सम्मान गर्ने, साना घटनाबाट पनि जीवनका ठूला शिक्षा लिने तथा राम्रो काम देखे त्यसलाई अनुकरण गर्नेगर्नु पर्दछ ।

६. संस्कृति र नैतिक मूल्यको संरक्षण : उनका रचनाहरूले धर्म, नैतिकता, कर्तव्य, परिवारप्रतिको सम्मान र मानवताको सन्देश दिन्छन्। त्यसैले अबको पुस्ताले उनीबाट सत्य, इमानदारी र अनुशासनलाई जीवनमा अपनाउने, नेपाली संस्कृति र परम्पराको सम्मान गर्ने तथा परिवार र समाजप्रति जिम्मेवार बन्ने शिक्षा लिनु पर्दछ।

७. सिर्जनात्मक सोच र नेतृत्व : भानुभक्तले आफ्नो समयको आवश्यकता पहिचान गरेर नयाँ काम गरेका थिए। उनले नेपाली साहित्यमा नयाँ युगको सुरुवात गरेका थिए। त्यसै गरी अबको पुस्ताले नयाँ सोच र सिर्जनशीलता विकास गर्ने, समस्याको समाधान खोज्ने क्षमता बढाउने तथा समाजलाई सकारात्मक दिशामा नेतृत्व गर्ने जस्ता शिक्षाहरु उनीबाट लिनु पर्दछ ।

८. देशप्रेम र राष्ट्रिय पहिचान : उनले नेपाली भाषालाई समृद्ध बनाएर नेपालको राष्ट्रिय पहिचान बलियो बनाउन योगदान दिए थिए। अबको पुस्ताले देशको भाषा, इतिहास र संस्कृतिप्रति गर्व गर्ने, आफ्नो ज्ञान र सीप देशको विकासमा प्रयोग गर्ने तथा राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्न भूमिका खेल्ने कार्य गर्नुपर्दछ।

अन्त्यमा

भानुभक्त आचार्यको जीवनले मातृभाषाप्रेम, समाजसेवा, परिश्रम, ज्ञानको साझा, सकारात्मक सोच, नैतिकता, सिर्जनशीलता र राष्ट्रप्रेम जस्ता गुणहरू अपनाउन प्रेरणा दिन्छ। यदि आजको पुस्ताले यी शिक्षाहरू व्यवहारमा उतार्न सके, भने उनीहरूले व्यक्तिगत सफलतासँगै समाज र राष्ट्रको विकासमा पनि महत्वपूर्ण योगदान पु¥याउन सक्छन्। भानुभक्तको जीवनले सन्देश दिन्छ, “मानिस आफ्नो धनले होइन, समाजका लागि गरेको कार्यले महान बन्दछ । भानुभक्त आचार्यको सम्झनाका लागि उनको जन्म स्थान चुँदी रम्घा, भानु घाँसी स्मारक पार्क, तनहुँ काठमाण्डौको नेपाल प्रज्ञा–प्रतिष्ठान, रानीपोखरी , खोटाङ्गको दिक्तेल, दार्जिलिङको प्रसिद्ध चौरास्ता लगायत स्थानहरुमा पूर्ण तथा अर्धकदको सालिक स्थापनी गरी राखिएको छ भने भानु जयन्तिका अवसरमा विद्यार्थीहरु माझ कविता प्रतियोगिता सञ्चालन गरी स्मरण गर्दै आइएको छ । उनको निधन वि.सं. १९२५ साल असोज ६ गते (सन् १८६८ अप्रिल २३) सेतीघाट, तनहुँ मा भएको थियो।