श्रावणको पहिलो सोमबार: भगवान् शिवको आराधनाको विशेष दिन

श्रावण महिना भगवान् शिवलाई अत्यन्त प्रिय महिना मानिन्छ। विशेष गरी श्रावणको प्रत्येक सोमबार व्रत, उपवास, जप, ध्यान र शिवपूजा गर्दा भगवान् शिव प्रसन्न भई मनोकामना पूरा गर्ने, परिवारमा सुख–शान्ति, आरोग्य, समृद्धि र आध्यात्मिक उन्नति प्राप्त हुने धार्मिक विश्वास छ। यही कारण श्रावणको पहिलो सोमबारदेखि नै नेपालभरका शिवालयहरूमा बिहानैदेखि श्रद्धालुहरूको ठूलो भीड लाग्ने गर्दछ।

श्रावणको पहिलो सोमबार ब्रतालुले के गर्ने?
• ब्रह्ममुहूर्त (बिहान सबेरै) उठेर स्नान गरी शुद्ध वस्त्र धारण गर्ने।
• घरको पूजा कोठा वा शिवालयमा भगवान् शिवको ध्यान गर्ने।
• शिवलिङ्गमा शुद्ध जल, गङ्गाजल (उपलब्ध भए), दूध, दही, मह, घ्यू, चिनी वा पञ्चामृतले अभिषेक गर्ने।
• बेलपत्र (तीन दल भएको), धतुरो, आक, भाङ, दूबो, चन्दन, अक्षता, फूल र फल अर्पण गर्ने।
• “ॐ नमः शिवाय” मन्त्रको कम्तीमा १०८ पटक जप गर्ने।
• महामृत्युञ्जय मन्त्र जप गर्नु अत्यन्त शुभ मानिन्छ।
• दिनभर सकेसम्म उपवास वा फलाहार गर्ने।
• साँझ शिव आरती, दीप प्रज्वलन र शिव चालीसा वा रुद्राष्टकम् पाठ गर्ने।
• गरिब, असहाय वा ब्राह्मणलाई दान-दक्षिणा तथा अन्नदान गर्ने।
• दिनभर सत्य बोल्ने, संयमित रहने र मन, वचन तथा कर्मलाई पवित्र राख्ने।

श्रावण सोमबारमा के नगर्ने?
• माछा, मासु, अण्डा, मदिरा तथा नशालु पदार्थ सेवन नगर्ने।
• प्याज, लसुन र तामसिक भोजनबाट टाढा रहने।
• झुटो बोल्ने, रिसाउने, विवाद गर्ने वा कसैलाई दुःख दिने काम नगर्ने।
• हिंसा, चोरी, छलकपट, अपशब्द तथा अनैतिक कार्य नगर्ने।
• भगवान् शिवलाई चढाइएको बेलपत्र पुनः प्रयोग नगर्ने।
• बेलपत्र चढाउँदा च्यातिएको वा धेरै बिग्रिएको पात प्रयोग नगर्ने।
• पूजा गर्दा मन अशान्त, क्रोधित वा अहंकारी नबन्ने।

शिवभक्तिले दिने आध्यात्मिक सन्देश
भगवान् शिवलाई भोलेनाथ भनिन्छ, किनकि उहाँ सच्चा भक्तिको भावबाट छिट्टै प्रसन्न हुनुहुन्छ। शिवभक्तिको मूल आधार बाह्य आडम्बरभन्दा पनि श्रद्धा, सत्य, करुणा, क्षमा, संयम र परोपकार हो।शिवभक्तले अपनाउनुपर्ने गुणहरूमा सबै प्राणीप्रति दया, सत्य र इमानदार जीवन, लोभ, मोह र अहंकारको त्याग, माता–पिता, गुरु तथा ज्येष्ठ नगरिकको सम्मान, प्रकृति र वातावरणको संरक्षण तथा दैनिक रूपमा “ॐ नमः शिवाय” मन्त्रको स्मरण गर्ने जस्ता रहेका छन् ।

श्रावण सोमबारमा बढी भीड हुने नेपालका प्रमुख शिवधाम
श्रावणको पहिलो सोमबार विशेषगरी शिवालयहरूमा बिहानैदेखि भक्तजनको ठूलो भीड लाग्ने गर्दछ । यस्ता शिवालयहरुमा पशुपतिनाथ मन्दिर, डोलेश्वर महादेव, कुम्भेश्वर मन्दिर, हलेसी महादेव, पिण्डेश्वर महादेव, देवघाटधाम, कुशेश्वर महादेव तथा अन्य शिव मन्दिर र शिवालयहरुमा समेत भक्तजनहरुको भिडभाड रहने गर्दछ ।

श्रावण सोमबारको विशेष प्रार्थना

करचरणकृतं वाक्कायजं कर्मजं वा।
श्रवणनयनजं वा मानसं वापराधम्॥
विहितमविहितं वा सर्वमेतत्क्षमस्व।
जय जय करुणाब्धे श्रीमहादेव शम्भो॥