भदौं २८ गते अट्वारी पर्व

कैलाली । कैलालीदेखि दाङ्गसम्मका थारु बस्तीमा यहि भदौं २८ गते अट्वारी पर्व परेको छ । सुदूरपश्चिम प्रदेश सरकारको राजपत्रमा यहि भदौं २८ गते अट्वारी पर्वको उपलक्ष्यमा सार्वजनिक विदा उल्लेख गरिएको छ ।

यो पर्वमा थारू जातिले महाभारतका प्रमुख पात्र पाँच पाण्डवमध्येका माइलो भाइ भीमको श्रद्धापूर्वक पूजा गर्ने गर्दछन् । श्रीकृष्ण अष्टमीपछिको पहिलो आइतबार मनाइने भएकोले अट्वारी भनिएको र सो दिन अधिकांश थारू समुदायका पुरुषहरु दिदीबहिनीका लागि व्रत बस्ने बताए ।

अटवारी विशेषगरी दुई दिन मनाउने गर्दछन् पहिलो दिन दिनभरि व्रत बसेर फलफूल र रोटीका परिकार बनाउने तथा दोस्रो दिन बिजोडी थरीथरीका तरकारीलगायत खानेकुराको परिकार पकाइन्छ ।

व्रत लिएर बेलुका पूजाको काम सकिएपछि छोरी, दिदीबहिनीका लागि छुट्याइने खानाको परिकारलाई ‘अग्रासन’ दिने भनिन्छ । त्यही परिकार लिएर दाजुभाइ विवाहिता दिदीबहिनीलाई भेट्न उनीहरूकै घर जान्छन् । अग्रासनलाई दिदीबहिनीले अत्यन्त महत्वका साथ लिने गरेको थारू अगुवा बताउँछन् ।