खरानीबाट उठेर पूर्ववत् अवस्थामा सेवा सञ्चालन
कैलाली । गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनीका मारमा परेका कैलालीका सबै सरकारी कार्यालय पूर्ववत् अवस्थामा फर्किसकेका छन् । मर्मतसम्भार तथा पुनर्निर्माणपछि सरकारी कार्यालयले पूर्ववत् रूपमा नै सेवा प्रवाह थालेका हुन् । यद्यपि भौतिक रूपमा भने धेरै जसो सरकारी कार्यालयको पुनर्निर्माण अझै बाँकी छ ।
आन्दोलनका क्रममा कैलालीमा १३७ वटा भवनमा आगजनी र तोडफोड गरिएको थियो । यसमध्ये सरकारी कार्यालयका भवन १०३, राजनीतिक दलका पार्टी कार्यालय भवन १७, सर्वसाधारणका निजी भवन १२ र प्रहरी कार्यालयका पाँच वटा रहेका थिए ।
आगजनी र तोडफोड भएका ११ वटा सरकारी भवन प्रयोग गर्न नमिल्ने ठहरसहित रातो स्टिकर टाँस गरिएको थियो । कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले मर्मतसम्भार र केही कार्यालयले पुनर्निर्माणपछि सबै सरकारी कार्यालयले पूर्ण रूपमा सेवा दिइरहेको बताए । उनले भने “संरचनाकै अभावमा अहिले कुनै पनि कार्यालयको सेवा प्रभावित छैन ।”
उठ्न सकेन व्यवसाय
जेनजी आन्दोलनका नाममा व्यापारिक प्रतिष्ठानमा समेत आगजनी तथा तोडफोड गरिएपछि हालसम्म व्यवसाय माथि उठ्न सकेको छैन । आन्दोलनकारीले होटेल ओपेरा, सिएमजी क्यासिनो, डायमन्ड क्यासिनोमा तोडफोड र लुटपाट गरेका थिए ।
प्रहरीले जेनजी आन्दोलनका नाममा निजी निवास, सरकारी कार्यालय तथा सवारीसाधन तोडफोड, आजगानी र लुटपाट गर्ने २१ जनालाई नियन्त्रणमा लिएर मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले बताए । प्रहरीले फरार ८५ जना कैदीबन्दीको खोजी गरिरहेको जनाएको छ ।
दुई सय कैदीबन्दी अझै फरार
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते कैलाली कारागारबाट भागेका १९ भारतीय नागरिकसहित २०२ कैदीबन्दी अझै फरार छन् । जिल्ला प्रशासन कार्यालयले भागेका कैदीबन्दीलाई फर्कनका लागि आग्रह गर्दै आएको छ ।
आन्दोलनकारीले कारागारमा तोडफोड गर्नुका साथै क्षति पुर्याएपछि कारागारमा रहेका ६६७ कैदीबन्दीमध्ये ६६५ जना भागेका थिए । बिरामी भई अस्पताल भर्ना भएका एक र कारागार नछोडेका अर्का एक गरी दुई जना कैदीबन्दी मात्रै बाँकी थिए । फरार भएकामध्ये हालसम्म ४६३ कैदीबन्दी कारागार फर्किसकेको निमित्त जेलर वसन्त जोशीले जानकारी दिए ।













