बागी विचार: भीडविरुद्धको चेतना
मानव समाजले प्राचीन कालदेखि नै “समूहमा बस्न सक्ने” क्षमता विकास गरेको छ। यसले सुरक्षा, स्रोतको पहुँच, र अस्तित्व सुनिश्चित गर्यो। यही कारणले मानिसको दिमागमा “भीडसँगै रहनु सुरक्षित छ” भन्ने मनोवैज्ञानिक ढाँचा गहिरो बसेको छ। मनोविज्ञानमा यसलाई conformity भनिन्छ व्यक्तिगत दृष्टिकोण वा सत्यलाई त्यागेर समूहको धारणा वा व्यवहारसँग मिल्ने प्रवृत्ति।
सोलोमन अस्चको (Solomon Asch, 1951) प्रसिद्ध conformity experiment यसलाई स्पष्ट देखाउँछ। साधारण रेखाको लामो-छोटो तुलना गर्ने कार्यमा, जब समूहले जानाजानी गलत उत्तर दियो, अधिकांश सहभागिहरूले आफ्नै आँखाले देखेको वास्तविकतालाई अस्वीकार गरेर गलत जवाफ नै दिए। किन? किनकि समूहसँग असहमत हुनु सामाजिक अस्वीकृति वा अलगावको जोखिम थियो। यसले देखाउँछ कि मानिसहरू सत्यभन्दा बढी “समूहमा स्वीकारिएको” हुन चाहन्छन्। तर यहींबाट बागी विचार जन्मिन्छ। जब कुनै व्यक्ति आफ्नो आँखा-कानले देखेको यथार्थलाई भीडको दबाबभन्दा माथि राख्छ, जब ऊ असहमत हुन डराउँदैन, जब ऊ समूहको आरामभन्दा सत्यको मूल्य चिन्छ—त्यतिबेला ऊ बागी हुन्छ। यस अवस्थामा बागी विचार केवल विरोध होइन, बरु सचेत अस्वीकार हो—समाजको सुरक्षित तर गलत बाटो छाडेर, जोखिमपूर्ण तर सत्यतर्फ लाग्ने साहस।
Conformity को मनोवैज्ञानिक दबाब अत्यन्तै बलियो हुन्छ, किनकि सामाजिक बहिष्कारको पीडा शारीरिक पीडासरह नै दिमागले महसुस गर्छ। तर बागी विचारले यस पीडालाई स्वीकार्छ र सहन्छ। यसले व्यक्तिगत स्वतन्त्रताको अनुभव दिन्छ, र कहिलेकाहीँ यसैबाट समाजले दीर्घकालीन सुधार इतिहासमा सुकरातदेखि ग्यालिलियो, कार्ल मार्क्सदेखि नीत्शेसम्म, गाब्रिएल गार्सिया मार्केजदेखि सआदत हसन मान्तोसम्म—यी सबै बागी विचारकहरू थिए, जसले भीडको भ्रमलाई अस्वीकार गरेर सत्य र न्याय वा वैकल्पिक दृष्टिकोणको बाटो रोजे।
यसरी बागी विचार लाई बुझ्दा, यो केवल विद्रोहीपन वा असामाजिकता होइन। यो त मानव मानसमा गहिरो जरा गाडेको conformity bias विरुद्धको सचेत प्रतिरोध हो—सामाजिक दबाबभन्दा सत्यलाई प्राथमिकता दिने साहसिक निर्णय।
बागी विचारको अनिवार्यता
भीड प्रायः अन्धकारमा बग्छ; बहुमतको सहमति नै “सत्य” ठानिन्छ, तर ऐतिहासिक अनुभवले देखाउँछ कि भीडको सुरक्षा प्रायः झूट, अन्याय, र दमनको आवरण मात्र हो। मध्यकालीन युरोपमा धार्मिक धर्मयुद्ध र समाजिक दमनले मानिसको स्वतन्त्र चिन्तनलाई कुण्ठित पारेको थियो; अमेरिकी र फ्रेन्च क्रान्तिका बागीहरूले मात्र स्थिर संरचनामा चुनौती दिए र नयाँ राजनीतिक चेतना जन्माए। यसले देखाउँछ कि भीडको बहावले स्थायित्व त दिन्छ, तर नवप्रवर्तन, न्याय र सत्य खोजीको मार्ग अवरुद्ध गर्छ।
दार्शनिक दृष्टिले, वैकल्पिक सोच मानव चेतनाको आवश्यक आधार हो। इमानुएल कान्टले “Sapere aude—सत्य खोज्न साहस गर्नु नै मानवको असली स्वतन्त्रता हो” भनेका छन्। नीत्शेले व्यक्तित्व र विवेकको स्वतन्त्रता पनि भीडको दबाबबाट सुरक्षित राख्नुपर्ने कुरा स्पष्ट पारेका थिए। हेनरी डेविड थोरोको Civil Disobedience ले देखाउँछ कि कानून वा सामाजिक दबाबका बावजूद व्यक्तिगत विवेक र नैतिकता माथि उठ्न सक्ने साहस नै बागी चेतना हो। बागी विचार केवल विरोध होइन; यो भीडमा छिपेको असत्य उजागर गर्ने, सामाजिक संरचनाको आलोचना गर्ने, र सत्यको खोजी गर्ने चेतना हो।
साहित्य र सामाजिक विचारमा पनि यही बागी चेतना प्रकट हुन्छ। सआदत हसन मान्तोका कथाहरूले सामाजिक ढोंग र दोहरो मापदण्ड उजागर गरे; गाब्रिएल गार्सिया मार्केजले जादुई यथार्थवादको माध्यमबाट प्रचलित धारणा चुनौती दिए; कार्ल मार्क्सले सामाजिक वर्ग असमानता र शोषणको पर्दाफास गरेर वैकल्पिक सोच प्रस्तुत गरे। यी उदाहरणहरूले प्रमाणित गर्छन् कि बागी/वैकल्पिक सोच बिना समाजमा सुधार, न्याय, र चेतनाको प्रगति असम्भव छ। बागी विचार केवल विद्रोह होइन; यो सत्यको खोजी, विवेकको रक्षा, र मानव चेतनाको विकासका लागि अनिवार्य आवश्यकता हो—भीडको अन्धकारमा उज्यालो खोज्ने एक अनिवार्य साहस।
बागी विचारलाई टिकाइराख्ने उपाय
स्वतन्त्र चिन्तन र विवेकको अभ्यास
बागी सोच टिकाइराख्नको लागि पहिलो र सबैभन्दा महत्वपूर्ण कुरा हो—व्यक्तिगत विवेक र स्वतन्त्र चिन्तनको निरन्तर अभ्यास। सोलोमन अस्च र स्ट्यानली मिल्ग्रामको मनोवैज्ञानिक अनुसन्धानले देखाउँछ कि भीडको दबाबमा धेरैले आफ्नो सत्यलाई छोड्छन्। यसबाट बच्न, व्यक्तिले आफ्नो मूल्य, अनुभव र तर्कलाई प्राथमिकता दिन सिक्नुपर्छ। दार्शनिक इमानुएल कान्टले भनेझैं, “सत्य खोज्न साहस गर्नु नै मानवको असली स्वतन्त्रता हो।”
सहयोग र वैकल्पिक दृष्टिकोणको समुदाय निर्माण
वैकल्पिक सोच एक्लै टिकाउन कठिन हुन्छ। बागी विचारकहरूले समान सोच भएका मानिससँग संवाद र सहयोग गर्नु जरुरी हुन्छ। साहित्यिक र ऐतिहासिक दृष्टान्तमा पनि देखिन्छ—मार्क्स र एन्गेल्सको सम्बन्ध, थोरो र अन्य नागरिक अधिकार विचारकहरू, वा मान्तो र उनका समकालीन लेखकहरू। यस्तो समुदायले आलोचना, प्रेरणा र मनोबल प्रदान गर्छ, जसले वैकल्पिक सोचलाई दमन नभई बलियो बनाउँछ।
अध्ययन र आत्म-विश्लेषण
बागी विचार केवल विद्रोह वा असहमति होइन; यो सत्य र न्यायको सतत् खोजी हो। त्यसैले, इतिहास, दर्शन, साहित्य, र विज्ञानबाट निरन्तर सिकिरहनु आवश्यक छ। गहिरो अध्ययनले व्यक्तिगत दृष्टिकोणलाई सुदृढ पार्छ र असत्य र भ्रमलाई सहजै चिन्ने क्षमता बढाउँछ। नीत्शेका शब्दमा, “साहसी बिचारकले लगातार सोचेर, आफ्नै दृष्टिकोणको उज्यालो फैलाउँछ।”
आलोचना र असहमतिको सामना गर्ने साहस
बागी विचारकले आलोचना, घृणा वा सामाजिक दबाब सहन सक्षम हुनु पर्छ। भीडसँग असहमति राख्दा प्रायः अलगाव, विरोध वा अपमानको सामना गर्नु पर्छ। यसका लागि मानसिक बल र भावनात्मक स्थिरता आवश्यक हुन्छ। साहित्यिक दृष्टान्तमा, मान्तोका कथाहरूले त्यसो साहसिक कदमको उदाहरण दिएका छन्—सत्यको खोजी गर्दा आलोचना र कानूनी दबाब सहनु परेको।
बागी चेतना: भीडको अन्धकारमा सत्यको खोजी
म सधैं भीडको रन्थनाइबाट अलग भएर सोच्ने मान्छे रही आएको छु। लोकप्रिय प्रवृत्ति, क्षणिक ट्रेन्ड, वा बहुमतको अनुमोदन मेरो लागि सत्यको प्रमाण कहिल्यै हुन सक्दैन। भीडको गर्जन भन्दा पनि मेरो कानले आफ्नै विवेकको स्वर सुन्न रुचाउँछ, र मेरो हृदयले आफ्नै अनुभूतिलाई सत्यको तराजु बनाउँछ।
गोविन्द केसीको आन्दोलनको पहिलो लहरमै मैले उनको लोकप्रियतावादी शैलीसँग असहमति प्रकट गर्दा, आलोचना र घृणाको तुफान ममाथि आइलाग्यो। पछि काठमाडौंको मेयर पदमा रञ्जु दर्शनाले उम्मेदवारी दिँदा पनि, म उनका लोकप्रियतावादी कदमहरूको प्रतिवादमा उभिँदा फेरि “अप्रिय” को कोटीमा परें। साहित्यमा पनि म प्रायः बहुमतको रोजाइको विपरीत हिंडें-सुबिन भट्टराई वा नवराज पराजुलीभन्दा ईश्वर बल्लभ र मनु मञ्जिलको गहिराइमा मैले सत्यको खोज देखेँ। संगीतमा समेत, सतही लोकप्रियताको प्रतीक ड्रेकभन्दा केन्ड्रिक लामार जस्ता कलाकारहरू मेरो आत्मालाई नजिक लागे, जसको स्वरमा विद्रोह, पीडा र प्रामाणिकताको छाप हुन्छ।
पछिल्ला वर्षहरूमा नेपालमा media manipulation विकराल बनेको थियो। बालेनदेखि रास्वपासम्म, कैयौं पात्रहरूले जनमतलाई आफ्नो स्वार्थअनुकूल घुमाउने प्रयत्न गरे। “केही भएको छैन नेपालमा” भन्ने खोक्रो सन्देशलाई सत्यको रूपमा बेच्ने धृष्टता देखाइयो। त्यस्तो प्रवृत्तिको प्रतिवाद गर्दा ममाथि फेरि उपहास र अस्वीकारको ढुङ्गामुढा बरसाइयो। तर मेरो स्वर कहिल्यै राजनीतिक लाभ वा व्यक्तिगत स्वार्थले प्रेरित थिएन-त्यो मेरो विवेकको प्रतिबिम्ब मात्र थियो।
तर यो समाजले वैकल्पिक दृष्टिकोणलाई सजिलै अँगाल्दैन। सत्य बोल्ने जति प्रयास गरें, घृणा र आलोचना उति नै बाक्लिँदै गयो। धेरै मानिसहरूलाई फरक दृष्टिकोण बुझ्ने धैर्य छैन; सजिलो उपाय भनेको नामकरण, अपमान र बहिष्कार गर्नु हो। यसरी हाम्रो सामाजिक र राजनीतिक जीवनमा “बौद्धिक-विरोध” स्थायी संस्कारजस्तै जमेको छ। बहस, तर्क र विवेकको मूल्य रहँदैन, अनि वैकल्पिक चेतनालाई खतराको रूपमा व्याख्या गरिन्छ।
यही यथार्थलाई इसाक असिमोभले प्रस्ट पारेका छन्: “Anti-intellectualism has been a constant thread winding its way through our political and cultural life, nurtured by the false notion that democracy means that ‘my ignorance is just as good as your knowledge.’ मेरो अनुभवले पनि यही देखाएको छ-हाम्रो समाज त्यही अन्धकारतिर अघि बढिरहेको छ।
तर म विश्वास गर्छु, अन्धकारलाई चिर्न सक्ने शक्ति यही बागी चेतनामा छ। भीडको लोकप्रियतावाद, क्षणभंगुर ट्रेन्ड, र media manipulation को विपरीत-सत्य खोज्ने वैकल्पिक सोच नै विवेकको रक्षक हो, र यही चेतनाले मात्र भीडको गर्जनलाई पार गर्दै उज्यालोतिर बाटो खोल्न सक्छ।













