अबको बहस कक्षाकोठा रुपान्तरणको
जो पुस्तक पढेर ज्ञान प्राप्त गर्छन्, उनीहरू शिक्षक बन्छन् । जो बच्चालाई पढेर ज्ञान प्राप्त गर्छन्, उनीहरू शिक्षाशास्त्री बन्छन् । शिक्षाशास्त्रीको लागि प्रत्येक बच्चा एक समर्थ, अद्वितीय र जीवित ग्रन्थ हुन् । यी हरफहरू भारतका प्रख्यात शिक्षाशास्त्री गिजुभाइद्वारा (लिखित जीवित ग्रन्थ) शिक्षा विमर्श शीर्षकबाट लिइएको हो ।
शिक्षकले पढ्ने, सोच्ने र लेख्ने काम गर्दैमा हाम्रो काम पूरा हुन्छ त ? हुँदैन, हामीले त शिक्षाको नयाँ(नयाँ मन्दिरको निर्माण गर्नु छ, र ती मन्दिरमा अहिलेसम्म अपुज्य रहेकी सरस्वती देवीको स्थापना गर्नुछ । बच्चाको लागि नयाँ युगको आरम्भ गर्नुछ । सार्थक सिकाइको युग । शिक्षणमा रुपान्तरणको युग । बच्चामा कोमल स्पर्शको युग । स्वतन्त्रताको युग । केवल गफ गरेर केही पनि हुँदैन । केही गर्नु छ । केही गराउनु छ । तसर्थ केर्ही गर्नुस् ! केही गराउनुस् !! जिम्मेवारी तपाईको पनि हो । मेरो पनि हो । हामी सबैको हो ।
विद्यालयमा विद्यार्थीका कुरा गरौं । कक्षाकोठाको कुरा गरौं । शिक्षण विधिका कुरा गरौं । शिक्षण सामग्रीका कुरा गरौं । सिकाइका कुरा गरौं । अविभावकका कुरा गरौं । घरका कुरा नगरौं । घरका कुरा घरमै गरौं । राजनीतिका कुरा नगरौं । धेरै नगरौं थौरै नै गरौं । जटिल होईन सामान्य कुरामा सुधार गरौं तर निरन्तर गरौं । बच्चालाई बगैंचामा लगौं । प्रकृतिको स्वाद चखाऊ । चासो सुनौं । भावना बुझौं । जिम्मेवारी दिऊ । आत्मसम्मान दिऊ । फूलबारी बनाउन लगाऔं । खेल खेल्न खेलाऔं । बच्चामा भाव छ । अभाव पनि छ । रुचि छ । अरुचि छ । जिज्ञासा छ । कौतुहलता छ । आवेग छ । संवेग छ । यसलाई बुझौं अनि बुझाऔं । तर कसरी ?
यो प्रश्नको उत्तर यो एउटा आलेख प्रर्याप्त भने छैन । आगामी अकंमा सेयर गर्दै गरौंला । शिक्षामा सुधार तवमात्र देखिन्छ जब कक्षाको शिक्षण सिकाईका रुपान्तरण हुन्छ भन्ने तथ्यलाई आउनुहोस् आजको अकंमा विमर्श गरौं ।
शिक्षकमा रुपान्तरण
पहिलो कुरा त शिक्षकको सोचमा रुपान्तरण हुन जरुरी छ । यो मेरो विद्यालय हो र यी बालबालिका मेरा छोराछोरी समान हुन् भन्ने भावना राख्नु पर्दछ । बच्चाको खुशी नै आफ्नो खुशी ठानौं । शिक्षक रोलमोडल बन्नुपर्दछ । विद्यार्थी समयमा विद्यालयमा आउनुपर्दछ भन्ने शिक्षकलाई लाग्छ । तर आफैं समयमा नआउदा विद्यार्थीले के सिक्छन् । व्यक्तिगत सरसफाई र व्यक्तित्वमा ध्यान दिनुपर्छ भनिन्छ तर शिक्षक स्वयमा कमजोरी छ भने हामीले के आशा गर्न सक्छौं र ? बच्चालाई अनुशासनको पाठ बोध गराउन शिक्षक अनुशासित हुन जरुरी छ । शिक्षकको कार्य शिक्षण मात्र होइन । शिक्षणसँगसँगै आचरण र व्यवहार प्रदर्शन गर्न जरुरी छ ।
स्मरण रहोस् : बालबालिकाले अरुले गरेको कार्यको अनुकरण र नक्कल गरेर अरु जस्तै बन्न खोज्दछ । तसर्थ अनुकरणीय बनौं ।
दोस्रोस शिक्षक गतिशील बन्नुपर्दछ । सबै विद्यार्थीले एउटै विधिबाट पढाएको बुझ्दछन् भन्ने छैन । सिकाइको शैली र गति फरक हुन सक्दछ । कक्षामा गएर किताब पढेर सुनाउदा विद्यार्थीलाई झर्को र पट्यार लाग्छ । यसै प्रसगंमा उत्तर अमेरिकी शिक्षाविद् टोम हायरक भन्छन, हामी २१ औं शताब्दीका बच्चाहरूलाई २० औं शताब्दीका वयस्कहरूले १९ औं शताब्दीको पाठ्यक्रम र प्रविधिहरू प्रयोग गरेर १८ औं शताब्दीको क्यालेन्डर सिकाउँदै छौं । तसर्थ शिक्षणमा नयाँ नयाँ प्रविधिहरूको प्रयोग गर्न आवश्यक छ । जस्तो भनौं विषयबस्तुको प्रकृति हेरेर कहिले व्याख्यान विधि, कहिले परियोजना विधि, कहिले छलफल विधि, प्रदर्शन विधिको प्रयोग गरौं । तिम्रो विचारमा यो पाठले भनेको के होला ? तिमीलाई के लाग्छ ? जस्ता प्रश्न सोधौं । विचार बुझौं । सोको विनिमय गरौं । सिर्जनशील बनौं । सहकार्य गरौं ।
तेस्रो : शिक्षक प्रविधिमैत्री बन्न जरुरी छ । अडियो, भिडियो, स्लाइडको माध्यमबाट शिक्षण गरौं । उनीहरूलाई जिम्मेवारी दिऊ । परियोजना गर्न लगाऊ । असल कार्य गर्ने र्विद्यार्थीलाई प्रोत्साहन गरौं । पुरस्कार दिऊ । स्यावास् , राम्रो , उत्कृष्ट भन्दा पनि विद्यार्थीलाई प्रेरणा मिल्छ । यहाँ कुनै ठुलो भौतिक पुरस्कार मात्र पुरस्कार होइन । बच्चाले गलत कार्य गरेमा सोको आत्मबोध गराऔं र दण्डलाई जिम्मेवारीले प्रतिस्थापन गरौं । कक्षाकोठामा विषयगत कुनाको निर्माण गर्न सकिन्छ ।
विद्यार्थीले गरेका सिर्जनात्मक कार्यलाई सो कुनामा प्रदर्शन गर्ने अवसर दिनु राम्रो हुन्छ । कक्षाकोठा लाईभ बनाऊ । कक्षामा शिक्षक तथा विद्यार्थी दुबैका आचारसंहिता उनीहरूलाई नै बनाउने नेतृत्व दिइ भित्तामा टाँस गर्न सकिन्छ । शिक्षकले पनि त्यो आचारसंहिता पालना गरौं । जसले गर्दा नियम सबैलाई हो भन्ने महसुस हुन्छ । कक्षा मनोरन्जनात्मक हुन्छ । विद्यार्थीलाई ओइ ! यु ! भित्तामा बस्ने भाइ । टोपी लगाउने केटो । चस्मा लगाउने केटी ! जस्ता वाक्याश प्रयोग नगरौं । सकेसम्म नामले बोलाउने गरौं । जस्ले गर्दा शिक्षक र विद्यार्थी बीचमा आत्मियताको महसुस हुन्छ । फलस्वरुप सिकाइमा सहज वातावरण सिर्जना हुन्छ । अनि मात्र रुपान्तरणको रुझान देखापर्दछ ।
प्रत्येक विद्यार्थीको व्यक्तिगत फाइल बनाइ उनीहरूले गरेको क्रियाकलापका अभिलेख राखौं । विद्यार्थी अनुपस्थित भए भने सोको कारण खोजौं । नियमित आउने विद्यार्थी किन नियमित छ त्यो पनि बुझौं । कक्षागत रुपमा कक्षा शिक्षकले अभिभावकको फोन डायरी मेनटेन गरौं । विद्यार्थी अनुपस्थित हुँदा अभिभावकलाई फोन गर्न सकिन्छ ।
विद्यालयको रुपान्तरण
केही समय अगाडी शिक्षाविद् विद्यानाथ कोइराला र शिक्षाकर्मी देवीराम आचार्यसँगको सामुदायिक विद्यालयको सुधार र रुपान्तरण : सरोकारवालाको भूमिका विषयक एकदिने अन्तर्क्रियामा शिक्षाविद् कोईराला भन्छन्, हामी माझ तितो यथार्थ के छ भने सार्वजनिक विद्यालयमा अभिभावकको चासो कम छ । आफ्ना छोराछोरीको पढाईको बारेमा ध्यान दिएको पाईदैंन जसरी नीजि विद्यालयका अभिभावकले दिन्छन् । अभिभावक विद्यालय आउँदैनन् भने विद्यालय अभिभावककोमा पुग्न सक्ने कुराकानी गर्न सकिन्छ र सक्नुपर्दछ ।
फरक प्रसङ्गमा विद्यार्थीको परीक्षा किन लिन्छौं भन्दा उनीहरूको वास्तविक सिकाइ अवस्था बुझ्न तर १० अंकको परीक्षा लिएर त्यो दिन बिदा दिनुपर्दछ भन्ने छ र रु पठनपाठन गर्न सकिन्छ नि । हामीले विद्यालयमा कहिले छुट्टी हुन्छ र पढाउनुपर्दैन भनेर सोचिरहन्छौं भने शिक्षामा रुपान्तरण गर्न सकिन्न । त्यस्तै गरी शिक्षाकर्मी देवीराम आचार्यको बुझाईमा शिक्षामा पहुँचमा परिवर्तन भयो । पोशाक फेरिए । खानपान फेरियो । प्रविधिले सूचना सन्चारमा परिवर्तन ल्यायो । उपचार पद्धति फेरियो ।
रोजगारीका क्षेत्र र कामको प्रकृति फेरिदै छ तर हाम्रो कक्षाकोठा, हाम्रो शिक्षण शैली र सिकाई भने फेर्न नरकेको स्वीकार्छन् । विद्यालयले विहानको मर्निङ् एसेम्लीमा सामान्य ज्ञानको प्रश्नहरू सोध्न सक्छ । विद्यार्थीको जन्मदिनको शुभकामना व्यक्त गर्नु राम्रो हुन्छ ।
नेपालमा मनाइने दिवशको बारेमा विद्यार्थीलाई जानकारी दिन सकिन्छ । यी र यस्ता बच्चाका लागि मोटिभेटरङ फ्याक्टर हुन् । एक अध्ययन अनुसार प्रारम्भिक बालकक्षामा भर्ना हुने विद्यार्थीमध्ये ६० प्रतिशत कक्षा १० मा पुग्छन् भने १८ प्रतिशतले माध्यमिक कक्षा पुरा गर्छन् । यसरी हेर्दा भर्ना भएका विद्यार्थीलाई टिकाउन नै मुस्किल छ । यो विषयमा हामी सबैनै सोच्नु पर्ने समय होइन र ?
स्थानीय तहको भूमिकामा रुपान्तरण स् नेपालको संविधान २०७२ को धारा ५७ को अनुसूची ८ नं तथा स्थानीय सरकार सन्चालन ऐन, २०७४ को परिच्छेद ३ को दफा १०२ ले माध्यमिक तह सम्मको शिक्षाको सन्चालन, व्यवस्थापन तथा नियमन गर्ने अधिकार र जिम्मेवारी स्थानीय तहलाई दिएको हुनाले नागरिकको सबैभन्दा नजिकको सरकारका हैसियतले आफ्नो क्षेत्राधिकार भित्र रुपान्तरित शिक्षाको प्रबन्ध गर्नु सबै नगरपालिका र गाउँपालिकाको कर्तव्य हुन्छ ।
त्यसका लागि नेपालको संविधानले स्थानीय तहलाई प्रदत्त गरेको विद्यालय शिक्षाको यो जिम्मेवारी पुरा गर्न स्थानीय शिक्षा नीति, शिक्षा ऐन निर्माण गरी सार्वजनिक विद्यालयको शिक्षासम्बन्धी नीति, मापदण्ड, योजना तर्जुमा, कार्यक्रम कार्यान्वयन तथा अनुगमन नियमन गर्न आवश्यक छ । सो स्थानीय शिक्षा ऐनमा निश्चित कार्यसम्पादनका आधारमा सम्बन्धित स्थानीय तहले राम्रो शिक्षण गर्ने शिक्षकलाई पुरस्कार र नराम्रोलाई नसिहत व्यवस्था गर्नु अपरिहार्य छ ।
सरकारी सेवासुबिधा लिने सम्पूर्ण जनप्रतिनिधि, शिक्षक, कर्मचारी सबैका बालबालिकाहरूलाई सामुदायिक विद्यालयमै अनिवार्य पठनपाठन गराउन पर्ने व्यवस्था गरौं । आफू चाँहि सामुदायिक विद्यालयमा अध्यापन गराउने अनि आफ्ना छोराछोरीलाई चाहिँ नीजि विद्यालयमा पढाउँदा आफूले आफैंलाई अविश्वास गरेको ठानिन्छ ।
शिक्षकलाई शिक्षण कौशल सम्बन्धी क्षमता विकास र पेशागत विकासका कार्यशाला सन्चालन गर्नुपर्ने देखिन्छ । भने शिक्षकले पनि समयसापेक्ष आफूलाई अपडेट गर्दै जानुपर्दछ । वडा शिक्षा समितिको व्यवस्था गरौं । पालिकाले विद्यार्थीको सिकाइ उपलब्धीको विश्लेषण मार्फत विद्यालयको सिकाइ कुन अवस्थामा छ भन्ने दिशानिर्देश गर्दछ । शिक्षामा लगानी गर्नु भनेको बाटो बनाउँनु झै ठानिनु गलत बुझाई हुन्छ ।
आज शिक्षामा गरेको लगानीले तुरुन्तै प्रतिफल दिदैन । आज गरेको लगानीले आउने पुस्तामा परिवर्तन आउने हो । शिक्षण सिकाइमा लगानी गरौं । शिक्षकमा लगानी । विद्यार्थीमा लगानी । अध्यापन गर्ने विधिमा लगानी । शिक्षण सामग्रीमा निर्माणमा लगानी गरौं । शिक्षाविद् विद्यानाथ कोइरालाले भनेझै शिक्षामा सुधार गर्न स्थानीय तहले विद्यालयलाई ‘मेन्टरिङ र मनिटरिङ’ गर्नुपर्छ ।
भोलि होइन आज गरौं । अरुले होइन आफैँले गरौं । आफ्नो विद्यालय आफैँ सुधारौं । अनि मात्र सामुदायिक विद्यालयमा रुपान्तरणको रुझान देखापर्दछ । अन्नपूर्णबाट ।













