चार शहिदको ईतिहास
नेपालको ईतिहासमा १०४ बर्ष लामो जहानिया राणा शासनको सम्बन्धमा हामी सबैले पढ्दै र सुन्दै आईरहेका छौं । बि.सं. १९०३ मा प्रधानमन्त्रीको रुपमा नियुक्त भएका जंग बहादुर राणाको कार्यकालबाट सुरु भएको यो शासन बम बहादुर कुँवर, कृष्ण बहादुर कुँवर राणा, रनोद्धिप सिंह राणा, बिर शम्सेर जंग बहादुर राणा, देव शम्सेर जंग बहादुर राणा, चन्द्र शम्सेर जंग बहादुर राणा, भिम शम्सेर जंग बहादुर राणा, जुद्ध शम्सेर जंग बहादुर राणा, पद्म शम्सेर जंग बहादुर राणा हुदैं वि.सं.२००७ साल फागुन ७ गते राणा प्रधानमन्धी मोहन शम्सेर जंग बहादुर राणाको पालामा आएर अन्त्य भएको थियो ।
राणाहरु आफु राष्ट्रको श्रोत प्रयोग गरेर सुखसयल, मोजमस्ती गरी उच्च स्तरको जिवन यापन गर्दथे तर गरिबी र अशिक्षामा बाँचीरहेका जनतालाई शिक्षादिक्षा तथा जिवन यापनको लागी केहि सुविधा उपलब्ध गराउदैंन थिए। राणाहरु जनताहरु शिक्षित भए भने विभिन्न हक अधिकार खोज्छन र हाम्रो शासन अन्त्य हुन सक्छ भन्ने गलत मान्यता राख्दथे । जसले गर्दा कोहि राणा भित्रैबाट जनतालाई शिक्षादिक्षाको राम्रो ब्यवस्था हुनु पर्छ भन्ने ब्यक्ति निश्कियो भने पनि उसलाई राणा शासनको अन्त्य नजिक आयो भनी भगाउने प्रवृत्ति थियो ।
राणा परिवार भित्रैका प्रधानमन्धी भएका स्कुलका पिता समेत भनेर चिनिने देव शमसेर जंग बहादुर राणाले आफ्नो ११४ दिनको प्रधानमन्त्रिय कार्यकालमा धेरै विद्यलयहरु संचालन गर्ने र अन्य सुधारका कुराहरु गरेको देखेर उनलाई प्रधानमन्त्रीबाट हटाई चन्द्र शम्सेरलाई प्रधानमन्त्री बनाईएको थियो । यस्ता जनतालाई शिक्षा दिक्षा नदिने तर राज्यको शासन गर्न चाहने जहानिया शासनको अन्त्यका लागी जनता जागरुक हुदैं जहानिया शासनको अन्त्य गर्न तथा प्रजातन्त्र स्थापन गर्नको लागी लड्न थाले । राणा शासनको विरुद्धमा लड्नको लागी राणाहरुले गरेका कार्यहरु जनता माझमा प्रचार प्रसार गर्न थालियो । यस्तो प्रचार प्रसार राणाहरुलाई पाच्य भएन र त्यस्ता गतिविधीमा संलग्न हुनेलाई पक्रिएर विभिन्न कारबाहीहरु गर्ने तथा मृत्यु दण्डसम्म दिईयो। राणा शासनको विरुद्धमा लागी प्रजातन्त्र स्थापनाको लागी लडेका ४ जना ब्यक्तिहरुलाई राणाहरुले मृत्यु दण्ड दिएका थिए जो हालसम्म नेपालका चार शहिदका नामले चिनिन्छन । जसको बारेमा तल केहि उल्लेख गर्न खोजिएको छ ।
शुक्रराज जोशी (शास्त्री) (१९५०-१९९७)
वि.सं. १९५० मा नेपालको राजधानी काठमाण्डौको बांगेमुडामा बुबा माधवराज जोशी र आमा रत्नमाया जोशीको छोराको रुपमा शुक्रराज जोशी (शास्त्री)को जन्म भएको थियो । नेवार समुदायमा जन्मिएका जोशीले आफ्नो बुबाले गर्दै आउनु भएको पेशा नै रोजी अध्ययन गर्ने क्रममा संस्कृत साहित्यमा उच्च श्रेणी ल्याई शास्त्री पास गरेका थिए । शास्त्री पास गरेपछि उनको नामको पछाडी शास्त्री लेख्न थालिएको थियो। उनले भारतको पञ्जाब विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा स्नातकसम्म अध्ययन गरेका थिए । स्नातक पश्चात उनले शिक्षक बनेर भारतको इलाहाबादमा ४ वर्ष अध्यापन समेत गराएका थिए । नेपाल भाषा, नेपाली, हिन्दी, संस्कृत र अङ्ग्रेजी भाषाका ज्ञाता शास्त्रीका ब्रह्मसूत्र, शाङ्कर, भाष्य, स्वर्गको दरबार, नेपाल भाषा व्याकरण, संस्कृत प्रदीप, सत्य कल्पना, सत्य प्रकाश लगायत थुप्रै पुस्तकहरु प्रकाशित छन् ।
आर्य समाजका सक्रिय सदस्य शुक्रराजको विवाह शहीद धर्मभक्त माथेमाकी बहिनीसँग भएको थियो। भारतबाट अध्ययन सकेर नेपाल फर्किए पछि उनको भेट राणा शासन विरुद्ध लागेका ब्यक्तिहरुसंग भयो । उनी आफ्ना पुस्तकहरु छपाउनको लागी समय समयमा भारत जाने गर्दथे । भारत जादां उनले महान भारतीय विद्वान र सुधारक पंडित मालवीय तथा माहात्मा गान्धीलाई समेत भेट्ने गर्दथे । उनी भारत जांदा भारतमा नेपालबाट भुमीगत भएका नेताहरुसं पनि भेट हुन्थ्यो जो राणा शासन बिरुद्धको गतिविधीमा संलग्न भई भुमिगत भएका थिए । भारतीय नेताहरुसँग शुक्रराजको सम्बन्ध रहेको थाहा पाएपछि प्रधानमन्त्री जुद्धशमशेरले राणा शासन विरुद्ध लागेको भनी शुक्रराज शास्त्रीलाई हिरासतमा लिएर देशद्रोहको मुद्दा लगाए । शुक्रराजले आफु निर्दोश भएको भन्दै भारतीय नेताहरुलाई भेटेको र राणा शासन विरुद्ध लागेको कुराको खण्डन गरे तर उनको कुरा कसैले सुनेन्न । उनी आफ्नै घर भित्र ३ बर्ष थुनिए । यस घटनाले उनको हृदयमा राणाहरूप्रति ठूलो घृणा उत्पन्न गर्यो र वि.सं.१९९३ देखि राणा शासनविरुद्ध अभियान चलाउन थाले । वि.सं.१९९४ मा शुक्रराज शास्त्री, राजालाल, केदारमान व्याठित, गंगालाल आदिले शुक्रराजको अध्यक्षतामा नेपाली अधिकार समितिको स्थापना गरे। उक्त समितिका सदस्यहरूले पुराणको व्याख्या र पत्रपत्रिकामा लेख छापेर राजनीतिक चेतना जगाउन ठूलो भूमिका खेल्दै आएको थियो । यस्तै शास्त्रीले धेरै ठाउँमा गीताको व्याख्यान दिए । राणा शासन विरुद्ध बढ्दै गएका शंकास्पद गतिविधिहरुको रहस्य बाहिर आयो र नेपाली अधिकार समितिका सबै सदस्यहरू पक्राउ परे।राणाहरुले सरकारको अनुमतिबिना जनताहरुलाई चेतना दिएको भन्दै शुक्रराज शास्त्रीलाई दोषी ठहर गर्दै थुनामा राखेर यातना दिए । उनलाई वि.सं. १९९७ माघ १० गते काठमाण्डौको टेकुमा रहेको पाँचली भैरवको मन्दिरमा झुण्ड्याएर मृत्यु दण्ड दिईएको थियो । राणा शासन विरुद्ध लागेको आरोपमा मृत्यु दण्ड पाउने उनी पहिलो शहिद हुन ।
धर्मभक्त माथेमा (वि.सं.१९६६-१९९७)
वि.सं.१९६६ असोज ९ गते काठमाडौंको ओम्बाहालमा पिता सुब्बा आदिभक्त माथेमा र माता चन्द्रकुमारी देवीको कोखबाट धर्मभक्त माथेमाको जन्म भएको थियो। उनका बुबा तत्कालिन राणा शासनमा सुब्बा स्तरका सरकारी कर्मचारी थिए।त्यसैले उनका पिताले धर्मभक्तलाई दार्जिलिङ्गमा राखेर पढाएका थिए । दार्जिलिङ्गबाट उनी पढाईको लागी कलकत्तासम्म पुगे । कलकत्तामा अध्ययनरत रहंदा पातलो भएको भन्दै साथीहरूले उनको खिल्ली उडाउने गर्दथे । उनलाई साथीहरुले खिल्ली उडाएको मन परेन र कलकत्तामा ‘फिजिकल इन्स्टिच्युट’ मा भर्ना भए। शारीरिक कसरतका कारण उनको स्वास्थ्यमा अप्रत्याशित सुधार भयो र एक शारीरिक शोमा उनी ूबङ्गाल च्याम्पियनू घोषित भए। त्यो समय भारतीय नेताहरू ब्रिटिश शासनबाट भारतको स्वतन्त्रताको लागि संघर्ष गरिरहेका थिए। धर्मभक्त पनी चित्तरञ्जन दासलाई भेटेर भारतीय स्वतन्त्रता संघर्षमा सामेल भए। त्यसपछि उनी राणा शासनबाट मुक्तिको तीव्र इच्छा लिएर काठमाडौं फर्किए ।
धर्मभक्त माथेमा नेपालको राजनीतिक आन्दोलनका नेता मात्र नभई देशकै उत्कृष्ट खेलाडी पनि थिए । पढाइ र राजनीतिसँगै उनले खेलकुद क्षेत्रलाई पनि प्रवर्धन गरेका थिए । उनी नेपालको पहिलो पेशेवर बडीबिल्डर पनि हुन। उनी काठमाडौं फर्किएर ओम्बाहालको आफ्नै घरमा जिमखाना स्थापना गरे । उनको जिममा धेरै युवाहरु जिम गर्न आउने गर्थे । उनको जिम हाउस यति चर्चित थियो कि राणा परिवारका सदस्य र प्रहरी पनि जिममा आउने गर्दथे ।
एकपटक काठमाडौंको टुँडिखेलमा भएको शारीरिक तन्दुरुस्ती र व्यायाम कार्यक्रममा राजा त्रिभुवन धर्मभक्त माथेमालाई देखेर प्रभावित भएका थिए । पछि त्रिभुवनले उनलाई आफ्नो व्यायाम प्रशिक्षकका रुपमा समेत नियुक्त गरेका थिए । धर्मभक्तले विसं १९९० मा दशरथ चन्दलाई काठमाडौंमा भेटेका थिए । दशरथ चन्दलाई भेटे पश्चात उनी राणा विरोधी गतिविधीहरुमा विस्तारै संलग्न हुन थाले ।
राणा शासनको आतंकबाट जनतालाई मुक्त गराउन विक्रम संवत् १९९३ साल जेठ महिनामा टंकप्रसाद आचार्य, जीवनराज शर्मा, रामहरि शर्मा, धर्मभक्त माथेमा र दशरथ चन्द रहेको नेपाल जन परिषद् आफ्नै घरमा स्थापना गरेका थिए । राणा विरोधी गतिविधिमा संलग्न भए पछी धर्मभक्तका पिता अदीभक्त माथेमा भारतमा निर्वासित भएका थिए । त्रिभुवनको ब्यायाम प्रशिक्षकको रुपमा नियुक्त भएका माथेमाले राजा र प्रजा परिषद बीचको कडीको रूपमा काम गरेका थिए। उनले प्रजा परिषदको हरेक गतिविधि राजालाई सुनाउथे। एक दिन लैनचौरमा राजा त्रिभुवन सहित प्रजा परिषद्को गोप्य बैठक बसेको खबर प्रधानमन्त्री जुद्धशमशेरलाई पुग्यो । धर्मभक्त लगायत प्रजा परिषद्का धेरै सदस्यहरु पक्राउ परे । तत्पश्चात वि.सं. १९९७ माघ १२ गते मध्यरातमा धर्मभक्त माथेमालाई काठमाण्डौ सिफलमा झुण्ड्याएर राणाहरुले मृत्युदण्ड दिएका थिए ।
दशरथ चन्द (बि.सं. (१९६०-१९९७)
बि।सं। १९६० साल श्रावण महिनामा नेपालको सुदुर पश्चिममा रहेको बैतडी जिल्लाको बास्कोट भन्ने ठाउंमा बुबा शेरबहादुर चन्द र आमा ओजकुमारी चन्दको गर्भबाट दशरथ चन्दको जन्म भएको थियो । उनले प्ररम्भिक शिक्षा नेपालगन्ज, अलमोडा, कुमाउँ, नैनीताल जस्ता ठाउँमा लिएका थिए भने बनारसबाट मानविकी तथा समाजशास्त्रमा प्रमाणपत्र तह देखि स्नातकसम्म उत्तीर्ण गरेका थिए । काशीमा अध्ययनरत रहंदा उनले भारतीयहरूले भारतलाई ब्रिटिश शासनबाट मुक्त गर्नको लागी संचालन गरेको स्वतन्त्रता आन्दोलनका बारेमा जान्ने मौका पाए । उनी भारतको स्वतन्त्रता आन्दोलनबाट प्रभावित भएर महात्मा गान्धीले सुरु गरेको सत्याग्रहमा सक्रिय रुपमा सहभागी भएका थिए। बनारसमा रहंदा उनले काशी नगरी प्रचारिणी सभाको लागि समेत काम गरेका थिए । यस्तै कार्यक्रमहरुमा संलग्न भएका चन्दले नेपालका आम जनताको दयनीय अवस्था सम्झे । नेपालका जनता गरिबी, अशिक्षा र अज्ञानताबाट पीडित थिए । शासक वर्गले जनता माथी शोषण गरिरहेका थिए । जनताले संधै शोषण हुनु परेको थियो तर शासकहरुको मनलागी चली रहेको थियो । शासकहरुले केही कानुनको पनी पालना गर्नु पर्दैन थियो र विलासी जिवन बिताई रहेका थिए ।
यस्तो शासनको बिरुद्धमा डटेर लाग्ने र राणा शासन जस्तो ब्यवस्था अन्त्य गर्ने एउटा दृढ सोचाई लिएर उनी राणा शासन विरुद्धमा लागे । उनी भारतमा रहंदा देखिनै राणा विरोधी विभिन्न लेखहरु पत्रपत्रिका प्रकाशित गर्न थालेका थिए । दशरथ चन्दले बि.सं. १९९० मा टंक प्रसाद आचार्यसंग भेटी नेपालमा राणा शासन विरुद्ध विभिन्न कार्यक्रमहरु संचालन गर्न छलफल गरेका थिए । उनी बि.सं. १९९१ मा आफ्ना सहकर्मी शिवदत्त भट्टसंग बर्मा र थाइल्याण्डसम्म पुगी राणा शासन विरुद्ध सशस्त्र क्रान्ती गर्ने योजना गरेका थिए । बि.सं. १९९३ साल जेठ महिनामा टंकप्रसाद आचार्यको अध्यक्षतामा गठन भएको नेपाल प्रजा परिषद पार्टीको कार्यकर्ता भएर पनी दशरथ चन्दले काम गरे । विस्तारै नेपाल प्रजा परिषद राणा विरोधी गतिविधीमा संलग्न हुदैं राणाहरुको विरुद्धमा पर्चाहरु बांड्न थाले । दशरथ चन्द आफ्नो बोल्ने शैलीको कारण राणा शासनका विरोधीहरूमध्ये सबैभन्दा शक्तिशाली मानिन्थे । राणा शासन विरुद्धमा पर्चाहरु वितरण हुन थाले पछि राणाहरुले यस्तो पर्चा बांडनेहरुको बारेमा जानकारी दिएमा पांचहजार रुपैंया पुरस्कार दिने प्रचार गरे । पुरस्कारको घोषणा भए पछी प्रलोभनमा परी प्रजा परिषद्का सदस्य रामजी जोशीले पोल खोलिदिए र राणा बिरोधी गतिविधीमा संलग्न नेताहरुलाई पक्राउ गर्न थालियो । पक्राउ गर्ने क्रममा दशरथ चन्द र गङ्गालाल श्रेष्ठ पनि पक्राउ परे । उनीहरुलाई एउटै जेलमा राखेर कठोर यातना र पीडा दिइयो। उनीहरूलाई माफी माग्न भनियो तर उनीहरूले माफी मागेन्न । अन्ततः उनको बि.सं.१९९७ माघ १५ गते शोभा भगवतीमा तत्कालिन राणा सरकारले गोली हानी हत्या गरेको थियो । उनलाई माइला शहिद पनी भनिन्छ ।
गंगालाल श्रेष्ठ (१९७५(१९९७)
वि.सं. १९७५ सालमा रामेछाप जिल्लाको भङ्गेरी भन्ने ठाउमा बुबा भक्तलाल श्रेष्ठ र आमा तुलसीमाया श्रेष्ठको कोखबाट गंगालाल श्रेष्ठको जन्म भएको थियो । उनका पिता सरकारी सेवामा थिए।गंगालाल रामेछापबाट पढ्नको लागी आफ्ना काकासँग कलकत्ता गएका थिए । उनी कलकत्तामा केही समय पढेपछी फेरी काठमाडौं फर्किए र दरबार हाईस्कूलमा भर्ना भई पढ्न थाले। उनी दरबार हाईस्कुलबाट म्याट्रिक परीक्षामा प्रथम श्रेणमा पास भए र स्कूलको पढाई सकिएपछि त्रिचन्द्र कलेजमा भर्ना भएर विज्ञान बिषय अध्ययन गर्न थाले । उनलाई अभिनय गर्न खुब मन पर्थ्यो र उनको अभिनय मानिसहरुले पनि खुब मन पराउंथे ।यसका अतिरिक्त उनी उत्कृष्ट वक्ता समेत थिए । वि।सं १९९५ मा एक दिन गंगालालले असनमा मानवअधिकार सम्बन्धी व्याख्यान गरिरहेको अवस्थामा पक्राउ परेका थिए तर चाँडै रिहा समेत भएका थिए । वि.सं. १९९७ मा त्यस ताकाका शिक्षित र चेतनशील नेपालीहरुले राणा शासन विरुद्धको अभियान संचालन गर्नको निमित्त महावीर संस्था स्थापना गरेका थिए । महावीर संस्थानमा राणा विरोधी प्रवचन र गतिविधिहरू हुन्थे । गंगालाल पनी महावीर संस्थाका कलाकार तथा कार्यकर्ता थिए। गंगालालले विद्यालयलाई संयुक्त रुपमा सञ्चालन गरेका थिए । विद्यालयको मुख्य उद्देश्य विद्यार्थीको मनमा देशभक्तिको भावना भर्नु थियो। यसै क्रममा उनको एक दिन दशरथ चन्द संग भेट भयो र उनलाई भेटेर प्रजा परिषदमा सामेल भएर राणा शासन विरोधी गतिविधिमा सक्रिय भए । उनले राणा शासनलाई ढाल्नका लागि कडा मिहनेत गर्न थाले । प्रजा परिषदले राणा सरकार विरुद्ध पर्चा बाँड्न थाल्यो । विसं १९९७ मा उनलाई पक्राउ गरी जेल हालियो । त्यहाँ उनलाई अमानवीय यातना दिइयो ।
उनी प्रजा परिषद्को गतिविधिमा संलग्न भएको आरोपमा १९९७ कार्तिक २ गते पक्राउ परेका थिए । उनलाई राणाहरुले विभिन्न यातना पश्चात विष्णुमतीको बगरस्थित शोभा भगवतीमा वि।सं। १९९७ साल माघ १५ दशरथ चन्दसँगै गोली हानी हत्या गरिदिए । उनको हत्या हुदां उनी २२ बर्षका थिए । उनी कान्छा शहिद पनि हुन ।













