बल्झिरहने माघ

सखिय हो !

माघक पिली गुरी गुरी जाँर !!

सखिय हो !

माघ पर्व नजिकिदै गर्दा थारु समुदायमा गुञ्जिने निकै लोक प्रिय गीत हो । यो गीत जति लोक प्रिय छ, माघ पर्व पनि उत्तिकै महत्वपूर्ण छ । मौलकि रुपमा नयाँ वर्षको रुपमा मनाइने यो पर्वमा विस्तारै नयाँपन थपिदै गएको देखिन्छ । माघ पर्वको रमाइला क्षण सँम्झिदा मलाई भन्न मन लाग्छ –

अहिलेको माघ त के रमाइलो ?

बच्चा छँदाको माघ पो रमाइलो !

आजको उमेर सम्म आइपुग्दा, मलाई बच्चा छँदा मनाएको सवै चाडपर्व बढी रमाइलो र अर्थपूर्ण लाग्छन् । यसो भनिरहँदा एउटा गीतको केहि हरफ सम्झिन्छु(

फेरि कहाँ आउँछर घुमेर !

त्यो बालापनको उमेर !!

बालापानको उमेर पक्कै पनि फर्काउन सकिंदैन । तर सम्झना र स्मृतिहरु फर्काउन सकिन्छ । यहि सम्झनाहरुलाई यो लेख मार्फत फर्काउन खोजेको छु ।

मेरो बालापन हसनपुर गाउँमा वित्यो । आज भन्दा ३०-३५ वर्ष पहिलेको हसनपुर बेग्लै थियो । घरहरु कम थिए ।बस्ती पातलो थियो । गोत्र अनुसार स–साना थारु टोल मिलेर गाउँ बनेको थियो । दक्षिणतिर मंघरान टोल, बीचमा झुम्क्याहान टोल र उत्तरमा कट्क्याहान अनि रट्ग्यान टोल । मेरो घर मंघरान टोलमा भित्र पर्दथ्यो । बाजेको पालामा दाङको मंघर गाऊँबाट बसाँई सराई गरि धनगढीमा आएपछि हाम्रो टोलको नाम नै मंघरान घर भएको हो रे ।

पौषको अन्तिम दिन गाउँका किसानहरुले सामूहिकरुपमा सुँगुर ढाल्थे । यसलाई ‘जिता- मरना’ भन्थे । परिवारको संख्या अनुसार मासुको भाग बण्डा हुन्थ्यो ।आफ्नो गच्छे अनुसार पसेरीका पसेरी सुँगुरका राता मासुहरु भाग लगाउँथे । बाल्टी बोकेर आफ्नो घरको भाग उठाउन म पनि कहिलेकाहीँ जान्थे ।यसरी मासु लिन जानुको मजा छुट्टै हुन्थ्यो, किनकी रकट्वा खान पाइन्थ्यो । घरमा आमा र दिदीहरूलाई भ्याइ नभ्याइ हुन्थ्यो । आफ्नै बारीको तरूल उसिन्ने ,शुद्ध चामलको पिठोलाई कुनै लाम्चो कुनै गोलो बनाई ढीक्री उसिन्ने, मासुको अलावा झोलिलो माछा पकाउने, अन्डी धानको चिम्टाइलो चामलको रोटी तेलमा तार्नु आजको बिशेष भान्सा हुन्थ्यो । अगेना वरिपरि घर भरिका सदस्यहरु बसेर घर मूलीले स्नानका लागि नयाँ सिक्का बाँड्दा माघको खुशी शुरु हुन्थ्यो ।ऊबेला पाँच पैसाको सिक्काले दिने खुशी अहिलेको लाखौं रुपैयाँले कहाँ दिन सक्ला ररुगाउँका पुरूषहरू समूह बनाई माघ स्नानका लागि ‘धमार-गीत’ गाउँदै नजिकको मोहना नदीतिर निस्कन्थे ।कोही ट्रयाक्टरमा गोदावरी जान्थे ।कोही लडियामा बेहडा बाबा जान्थे । सूर्य उदाउनु अघि पैतला मुनि सिक्का च्यापेर नुहाउने चलन नै ‘माघ-लहान’ थियो। स्नान सकिए पछि चामलको पिठोको सेतो टीका ठूलाले सानालाई लगाइदिने र सानाले ठूलालाई ढोग गर्ने परम्परा नै ‘सेवा-लग्ना’ थियो ।स्नान सकिएपछि सुरु भएको सेवा लग्ना काम दिन भरि नै हुन्थ्यो ।सेवा ढोग अवसरमा ठूलाले आफू भन्दा सानालाई आशीर्वाद सङ्गै नयाँ सुक्का पनि दिन्थे। कसको सुक्का धेरै हुन्छ भनेर पैसा जम्मा गर्ने होडबाजी चल्थ्यो । स्नान सकेर घर फर्किँदा घरको मुलढोकामा दिदिबहिनीहरुले कलश राखेका हुन्थे ।

त्यही कलशमा आफू सक्दो पैसा राखेर गृह प्रवेश गरिन्थ्यो। देउता कोठामा राखिएको एक ढकिया चामल र सानो ढकनीमा राखेको नून चेलीबेटीको नाममा राख्नु पर्थ्यो।त्यसमा आफूले सके जति रूपैयाँ पैसा थप गरि दिदीबहिनीहरुलाई उपहार दिइन्थ्यो ।जसलाई ‘निसराउ-कहरना’ भन्थ्यौं।निसराउ दिइसकेपछि मात्र घरको सबै भन्दा जेष्ठ सदस्यलाई ढोग गरि त्यसपछि अन्य सदस्यहरुलाई सेवा ढोग लाग्नु पर्थ्यो।ठूलो मूढाकोआगो वरिपरि बसेर साँझै तयार पारिएको परिकार मालुको हरियो पातमा खाँदा बल्ल माघ सुरु भएको अनुभव हुन्थ्यो।चोक चोकमा सिक्का पैसाको खोप्पी खेल्नेको भीडमा हुन्थ्यो।जब दिदीहरु आफना साथीहरुसँग लेहङ्गा फरियामा गीत गाउँथे-

धान डैंली साली

बर्डा ओ भैंसले !

धान डैंली भाटु

बर्डा ओ भैंसले !!

मैंया लागल साली

तुहाँर बैंसले !

मैयाँ लागल भाटु

तुहाँर बैंसले!!

माघौटा-नाचको माहोलले थारू गाउँ गुञ्जयमान हुन्थ्यो । मघौटा नाच हेरिरहँदा मलाई लाग्थ्यो-

किस्नी दिदी भन्दा राम्रो नचनियाँ कोहि छैन।

चुइँया दिदी भन्दा राम्रो मँडरिया कोहि छैन।

उहिलेको ‘किस्नी-चुइँया’ दिदीहरुको युगल जोडीको मघौटा नाच अचेलको माघमा कहाँ देख्न पाइएला र ?

माघ एक गते हसनपुर गाउँ अन्डी चामलको झोल, घरेलु रक्सी, सुङ्गुरको मासु र मघौटा नाचमा डुब्थ्यो। माघ दुई गते सबै किसानहरु भलमन्साको आँगनमा आँखा मिच्दै भेला हुन्थे ।यो दिन कसैका लागि सुखद हुन्थ्यो भने कसैका लागि दुखद हुन्थ्यो । ‘खोज्नी-बोज्नी’ भनिने यो दिनमा कमैयाहरूको नयाँ मालिक निर्धारण हुन्थ्यो । बार्षिक पारिश्रमिक तय गरिन्थ्यो। एउटा घरमा काम गर्ने इच्छा नभए, अर्को घर छान्नको लागि स्वतन्त्रता हुन्थ्यो ।अघि पछि दाजु भाईबीचमा जति बेमेल किन नहोस्रु आधिकारिक रुपमा अंश बण्डा गर्न माघ नै कुर्नु पर्थ्यो ।‘घ-फुटाही’ भनेर परिचित यो शब्दले बर्षौ देखि सगोलमा बसेको संयुक्त परिवारलाई एकल परिवारमा बिभाजित गर्थ्यो । गाउँमा नयाँ भलमन्सा चुनिन्थे।पुरानो हरहिसाब फर्छयौट गरि गाउँको विकासका लागि नयाँ योजना बन्थे । यसै गरी बर्ष बित्थ्यो ।अर्को बर्ष फेरि माघ आउँथ्यो ।समय बित्दै जाँदा २०५४ सालको माघ आयो ।

त्यतिखेर मेरो बसाई हसनपुरबाट कञ्चनपुरमा सरिसकेको थियो । कञ्चनपुरको किच्चाही गाउँमा हाम्रो अर्को घरपनि थियो । किच्चाही गाउँ गुलरिया स्थित लाल झाडी जंगलको छेउमा जोडिएको छ । त्यहि जंगल छेउको गाउँको घरमा पहिल्यै देखि मेरो बाजे र बज्यै बस्नु हुन्थ्यो । बज्यै बितेपछि बाजे एक्लै हुनु भयो । बाजेलाई दमको दीर्घ रोग थियोे । छेउमै माइली फुपुहरुको घर भएकोले वहाँहरुबाटै हेरचाह हुन्थ्यो । बाजेको स्याहार सुसार हुने मेरो पढाई पनि हुने भनी गाउँ फर्किएँ । कक्षा ९ र १० पढ्न गाउँ आएपछि बाजेको घरमा दुई जना सदस्य भएका थियौं ।

पौषको अन्तिम दिन, गाउँमा माघको चहलपहल सुरु भयो।घरमा बाजेको पीडा सुरु भयो ।जसरी रात छिप्पिदै गयो ,रोग पनि बल्झिँदै गयो । रातको तेस्रो प्रहर सङ्गै भाले बास्यो । गाउँलेहरु ‘माघ-लहान’को तयारी गरे।धेरै जसो गाउँलेहरू नजिकैको बलुहा खोलामा माघ नुहाउॅथे । बाजेको पीडाको स्वर मत्थर हुँदै गएको थियो।म पनि स्नानको लागि एक्लै निस्किएँ । यस पटक डोण्डा नदी जान मन लाग्यो। कुहिरोले ढाकेको झिस्मिसे रातमा महेन्द्र राजमार्ग उक्लिएँ।लालझाडी जंगलको उकालोमा रहेको बनदेवी मन्दिरलाई बाहिरै गेटबाट दर्शन गरें । अमखोइया ओरालो लालझाडी जंगलको सबै भन्दा डरलाग्दो ठाऊँ हो । ऊ बेला मलाई डर लागेन । अहिले सम्झिदा जंगली जनावरको डर लाग्छ । डोण्डा नदिमा माघ स्नान गर्नेहरु छिटफुट मान्छेहरु थिए । सबै अपरिचित थिए । एक्लै भएर होला, चाँडै नुहाएँ र फर्किएँ । फर्किदा सुर्यको नौलो किरण उदाउँदै थियो । थारु समुदायमा नयाँ वर्षको सुरुवात हुँदै थियो। घर पुग्ने बित्तिकै बिरामी बाजेलाई ढोग गरें।टीका बिनाको यो माघमा मैंले दिदी बहिनीहरुलाई ‘निसराउ’ दिन सकिन।मेरो भान्सामा मघौटा परिकारहरु पाकेनन्।

माईली फूपु एक ढकिया खानेकुरा ल्याउनु भयो।‘सेवा ढोग’ लाग्ने दिन भएर होला१गाउँभरिका आफन्तहरू कोसेली बोकेर बाजे कहाँ आशीर्वाद लिन आइरहे । दिनभरि चहलपहल भएको हाम्रो घर राती सुनसान भयो।चिल्लो रोटी लगायत अन्य परिकार खाँदा बाजेलाई झन् गाह्रो भयो।छाती स्याँ स्याँ बजिरह्यो।सास फेर्न गाह्रो भयो।पेट बिग्रेर छिन छिनमा पखाला सुरु भयो । रोगी बाजेलाई कहिले पल्टाऊ, कहिले उठाऊ गर्दै रात सकियो ।बिहानै बाजेलाई धनगढी ल्याउन हतारियौँ।हतारिँदै तीन पाङ्ग्रे टेम्पो हाम्रो आँगनमा रोकियो। टेम्पो गुड्न सुरु भयो।ड्राइभरको पछाडी पट्टीको भित्तामा अडेस लिएर बाजेलाई अँगालो मारेर बसेँ ।छेउको सीटमा अरू आफन्तहरू बसे । बाजे केहि बोल्दै हुनुहुन्थ्यो । बोली स्पष्ट थिएन ।मोहना नदी पार गरे सङ्गै कञ्चनपुरको सीमा सकियो।मालाखेती उकालो चढ्दा टेम्पोले भए भरको बल लगायो। बाजेको शरीरले पनि मुट्ठी कस्दै ठूलो बल लगाएको चाल पाएँ ।मैंले पनि बाजेलाई बेस्सरी अँगालोमा कसें।उकालो चढे पछि टेम्पोको ईन्जीन सामान्य गतिमा आयो।मेरो बाजेको मुटुको गति कम हुँदै गयो । बाजेको शरीरलाई बेस्कन बाँध्न खोजें । मेरा हातले बाजेको शरीरलाई बाँध्न त सक्यो, तर प्राणलाई बाँध्न सकेन । बाजेको शरीरबाट वायुरुप प्राण कतिखेर उड्यो मलाई होसै भएन । होसमा आउँदा हसनपुरको घरमा थिएँ । त्यो दिन हसनपुरका किसानहरु नयाँ भलमन्सा चुनेनन् । कसैको खोज्नी-बोज्नी भएन। कसैको घर-फुटाही पनि भएन । मंघरान टोलमा मघौटा नाच नाचिएन ।

गाउँभरिका प्रत्येक घरबाट एक जना पुरुष र एक जना महिला हाम्रो घरमा भेला भए। परम्परा अनुसार सबै विधि पुर्याएर देवहरिया जंगलमा सतगत गरे ।गाउँ-गाउँ डुलेर हिड्ने मेरा बाजे करिब छ फिट गहिरो माटोमा बिलिन भए।

मृत्यु संस्कारका सबै कर्म पूरा पछि माघ ३ गते धनगढीबाट गुलरियाका लागि बसमा चढें । बसको स्पिकरमा माघीकै गीत बजिरहेको थियो

हर साल आउँछ माघी !

माघी जान्छ आफ्नै सुरमा !!

हरेक साल माघ आउँछ र जान्छ। तर मेरो मनमा बाजेको मृत्युको घटना पुरानो घाउ बनी बल्झिरहन्छ ।

अन्त्यमा सबैलाई माघ पर्वको हार्दिक शुभकामना ।