पितृपूजन त्यौहार डशैं/डश्याँ
धेरै नेपालीहरुले मनाउने दशैं चाड यो बर्ष पनि भित्रिसकेको छ । विगतका बर्ष झैं यस बर्ष पनि दशैं मान्ने नेपालीहरु दशैंका लागि सरसामान, लुगा कपडा, खसी बोका, कुखुराको जोहो गरिरहेका छन् । विदेश काम गर्ने नेपालीहरु स्वदेश फर्किरहेका छन् । शहर बस्नेहरु गाउँ फर्किरहेका छन् । बाताबरण रमाइलो बनिसकेको छ ।
अन्य चाडपर्वमा नगरे पनि नेपालीहरु हरेक बर्ष दशैं तिहारमा घरको लिपपोत, रंगरोगन, सिंगारपटार गर्ने गर्दछन् । शक्ति अनुसारको तैयारी गर्दछन् । थारु समुदायमा विशेषगरी महिलाहरु घरको लिपपोत, सरसफाईमा खटिन्छन् । घर वरिपरी समेत सरसफाई ह’ने गर्दछ । खाल्डाखुल्डी पुर्ने काम हुन्छ । पितृ पुजामा लगाइएका सामाग्री सेलाउने, पितृ विदाईका लागि जमघट हुने स्थानको निरिक्षण र सरसफाई हुन्छ । मान्ने विधि, तौरतरीका फरक फरक भए पनि, कसैलाई बढी कसैलाई कम छोए पनि दशैले दशैं मान्नेहरुलाई छोएकै हुन्छ ।
दशैंमा हिन्दू मान्यता
दशैंसँग हिन्दू नेपालीहरु रावणमाथि रामले विजय पाएकोले मनाउने गरिएको कथा कहानी जोड्दछन् । उनीहरु दशैंमा दानवमाथि देवताले विजय पाएको, असत्यमाथि सत्यले बिजय पाएकोले दशैंलाई बिजयोत्सवको रुपमा मनाउने गरिएको बताउँदछन् । सत्य युगमा, त्रेता युगमा रामलाई रावणमाथि, देवतालाई दानवमाथि विजय प्राप्त गर्न निकै गार्हो भएको थियो । त्यस बखत उनीहरु नवदुर्गा भवानीको पुजा आराधना गरेको र शक्ति प्राप्त गरी रावण र दानवमाथि विजय प्राप्त गरेकोले असोज शुक्ल पक्षको नवमीसम्म नौ देवीको पुजा आराधना गर्ने गरेको र दशमी तिथिलाई विजया दशमीको रुपमा लिने गरेको र रातो टीका ग्रहण गर्ने गरेको बताउँदछन् ।

दशैंमा थारुहरुको मान्यता
तर यही दशैंलाई अन्य जातजातिहरु फरक ढंगले मनाउँदछन् । दलित समुदायले ब्राम्हन क्षेत्री समुदायले झैं दशैं मनाउँदछन् भने आदिवासी जनजातिहरुले दशैं मनाउने तौरतरीका र मान्यता फरक छ । पहाडका आदिवासी जनजातिहरुमा केहिले दशैं हाम्रो हो, मनाउनु पर्दछ भन्दछन् भने केहिले दशैं आफ्नो नभएको बताउँछन् र दशैंलाई मान्नु हुन्न भन्ने तर्क गर्दछन् ।
तर तराईमा धेरै जनसंख्या भएको आदिवासी जनजाति थारुहरुको मान्यता फरक छ । पूर्वीया र पश्चिमा थारुहरुमा पनि मनाउने तौरतरीका फरक छ । पूर्बीया थारुहरुमा दशैं सप्तमीसम्म जान्छ भने पश्चिमा थारुहरुमा बिशेषतः यो नवमीमा सम्पन्न हुन्छ । उनीहरु विशेषतः नवमीलाई जोड दिन्छन्, दशैंलाई पितृपुजन त्यौहारको रुपमा लिने गर्दछन् । उनीहरु दशैंमा (असोज शुक्ल पक्षमा) आफ्ना साझा कुल देवता (खिखरी, मैया, सौंरा, गुर्बाबा) सहित दिवंगत पितृ पुर्खाहरुको पुजा आराधना गर्दछन् । अन्य नेपालीहरुले भने झैं ९ दिनमा ९ वटा देवीको पुजा आराधना गर्दैनन् । थारुहरुको दशैंको मान्यता फरक छ ।
दशैं मनाउने विधि
थारुहरु दशैंलाई डशैं वा डश्याको नामले बुझ्दछन् । अन्य नेपालीहरु शुक्ल प्रतिपदाको दिनमा जमरा राख्दछन् भने अधिकांश थारुहरु द्वित्तिया तिथिको दिनमा चन्द्र दर्शन गरी जमरा राख्दछन् । दशैंमा माटाका नयाँ दियो जरुरी हुन्छ । घोडा कुलदेवता रहेका थारुहरुका लागि नयाँ माटाका घोडा जरुरी हुन्छ । पुजामा प्रयोग हुने यी दियो र घोडा कुमाल थरका थारुहरुले बनाएको हुनुपर्दछ भन्ने मान्यता छ । त्यसैले थारुहरु माटाका दियो र घोडा हरेक बर्ष किन्ने र पुरानो दिया र घोडालाई बिस्थापित गर्ने गर्दछन् । खिखरी, मैया, सौंरा फलामले बनाइएको हुन्छ । यो बनाउने काम लोहारले नै गर्दछन् । हरेक घरका घरमूलीले पुजास्थलमा माटाको दियोमा सरसों वा शुद्ध तोरीको तेल राखी देवता अगाडि दिप बाल्ने गर्दछन् ।
पञ्चमी तिथिको दिनमा दहित थरका थारुहरु आफ्ना पितृ पुर्खाहरुको श्राद्ध गर्ने, सम्झने, पुजा गर्ने, गर्दछन् । यसले के जनाउँदछ भने उनीहरुका पिता पुर्खा पञ्चमी तिथिको दिनमा देह त्याग गरेका थिए, मुक्ति पाएका थिए, देवमा लिन भएका थिए । बाँकी थारुहरु सप्तमीको दिनमा कुलदेव, पितृदेवलाई आवाहन गर्ने, अष्टमी तिथिमा ढिकरी, बाबरी, जमरा चढाउने, नमवीको दिनमा पितृ श्राद्ध, पुजा गर्ने गर्दछन् । उनीहरु सप्तमीको दिनमा देवता अगाडि दियो बाली, महुरैन (मालु) को पातको दुना तयार गरी त्यसमा एउटामा पानी, अर्कोमा रक्सी राखी चढाई आफ्ना कुलदेवता र दिवंगत पितृदेवहरुलाई आवाहन गर्दछन्, बोलाउँदछन् । देवदेवी जहिले पनि जहाँ पनि हुन्छन्, सर्वव्यापी हुन्छन् भन्ने मान्यता छ । फेरी पनि थारुहरु सप्तमी (पूmलपाती) को साँझ आवाहन पश्चात उनीहरुका पितृपुर्खाहरु, पितृदेवहरु घरघरमा आउँदछन् भन्ने मान्यता राख्दछन् ।

अष्टमी तिथिको दिनमा साँझ उनीहरु घरमा रहेको कुलदेव, पितृदेवको पुजा स्थलमा बेलको काँडामा ढिकरी (बाष्पीकरण विधिबाट पकाएको चामलको पिठोको परिकार) गँुठेर (उनेर) चढाउँदछन् । सँगै बाबरी पूmल, जमरा, पानी, रक्सी, दूध चढाई पुजा गर्दछन् । घरभित्रको पुजास्थलमा यो प्रक्रिया हुन्छ भने घरबाहिर समयक्रममा थपिएका कतिपय देवदेवीमा रक्सी चढाउन बर्जित हुन्छ ।
नवमीको दिनमा पितृहरुलाई भेंडो मानी कुभिण्डो र कुखुराको बली दिन्छन् । दर्शन (खिखरी, मैया, सौंराको मुर्ति राखिएको घर) भएका घरमा मासको दाल, माछा–सिध्राको तरकारी, पवईंको साग, लगायत ५, ७ तरकारी बनाई पितृदेवहरुलाई चढाइन्छ, जसलाई पिट्टर डेना भनिन्छ । सँगै बाबरीको फूल, जमरा, रक्सी, पानी, गाईको दूध चढाइन्छ । पितृ प्रसाद चढाउँदा ५ देखि ७ टपरीमा चढाइन्छ । यसको मतलव ५ देखि ७ पुस्ताका पूर्वजहरुको पुजा आराधन गरेको मानिन्छ । साथै खिखरी, मैया, सौंरा, गुर्बाबा थारुहरुका ४ साझा देवता, अन्य कुलदेवता र पितृदेवताको पुजा गरेको मानिन्छ ।
विशेषतः पश्चिमा थारुहरुमा नवमी महत्वपूर्ण हुन्छ । पितृदेवको पुजा पश्चात, पितृहरुलाई साँझपख नाचगानसहित बिदाई गर्ने, पाटन पठाउने चलन छ, जसलाई पिट्टर असरैना भनिन्छ । पिट्टर असराउँदा महिलाहरु सँगै लिएर गएका फूल, अक्षता, सिक्का पैसा नदीमा फाल्दछन्, पुजामा चढाइएका बाबरीका फूल, जमरा, दुना, टपरी, पुराना, दियो, घोडा बिर्सजन गर्दछन् । उनीहरु पितृदेवलाई बिदाई गरिसकेपछि विधिवत दशैं (डशैं–डश्या) सम्पन्न भएको मानिन्छ ।

थारुहरुको दशैं खास नवमीसम्म चल्ने भए पनि समयको बदलावसँगै टीका पनि थपियो । टीका थपिंदा पनि उनीहरु सेतो चामलको टीका ग्रहण गर्ने गर्दथे । नवमीको दिनमा गवल्या टीका र दशमीको दिन राजटीका मान्ने चलन थियो । गवल्या टीकामा बिशेषतः भलमन्सालाई मान्ने चलन थियो भने राजटीकामा डेशबँढिया गुरुवा, प्रतिष्ठित ब्यक्ति, बिर्तावालहरुकहाँ एक बोतल रक्सी, जमरा, बाबरीको फूल लिएर मान्न जाने चलन थियो । मान्न जाँदा जाने ब्यक्तिले नै पहिले डेशबन्ध्या गुरुवा, प्रतिष्ठित ब्यक्ति, जमिन्दार, बिर्तावाललाई टीका लगाइदिने र पछि उसले लगाउने र आशिर्वाद दिने चलन थियो । दशैं जमरा राखिसकेपछि कपाल कटाउन बर्जित थियो, कोर्न बर्जित थियो । दशैं थारुहरुको पुर्खाहरुको श्राद्ध, पुजा भएकोले शोक प्रकट गर्न यसो गरिएको थियो । तर पछिल्ला समयमा यसमा बदलाव आएको छ । अहिले कपाल कटाउने, कोर्ने काममा कसैले रोक लगाएको देखिंदैन । साथै टीका पनि आफू खुशी लगाउने गरिएको देखिएको छ । तर पुजारीले अष्टमीको दिनमा भोकै बस्ने, साँझ नुहाईधुवाई गर्ने, ढिकरी, बाबरीको फूल, जमरा, रक्सी, पानीले देवताको पुजा गर्ने र बिहान नवमीमा नुहाईधुवाई गर्ने, कुखुरा, कुभिण्डो बली दिने पितृलाई सम्झने, पुजा गर्ने, मान्ने चलन जारी छ । तर बली दिने काममा पनि बदलाव आएको छ । करिब ४० प्रतिशतले कुखुराको ठाउँमा मिठाई चढाउने गरेको भेटिएको छ ।
टुङ्ग्याउनीमा के भनौं भने अन्य नेपालीहरुको जस्तो दशैंको मान्यता थारुहरुले राख्दैनन् । उनीहरु अन्यले भनेजस्तो ९ वटा देवीको पुजा गर्दैनन् । पुर्खाहरुलाई मान्ने, बिधिमा अलिअलि फरक भएपनि उनीहरु दशैं धुमधामले मनाउँदछन् । आफ्नै कुलदेवदेवी, पितृदेवदेवीको पुजा गर्दछन् । नवमीका दिन थारुहरुको खास दशैं सम्पन्न हुन्छ भने टीकाका दिन जिवित देवदवी (गुरुवा, भलमन्सा, प्रतिष्ठित ब्यक्ति) लाई मान्ने, मनाउने चलन छ । थारुहरुको खासमा सेतो टीका भए पनि आजकाल युवाहरुमा रातो टीकाले स्थान पाइरहेको छ । दशैंमा थारुको पितृहरुको श्राद्ध, पुजा हुनु र अन्य समुदायले बिजयोत्सवको रुपमा मनाउनु, थारुहरुले सेतो टीकालाई खास टीका मान्नु र अन्य समुदायले रातो टीकालाई आफ्नो खास टीका मान्नु कारण के हो ? सोधखोजको बिषय नै छ ।













