यसरी पुग्यो दरबार घरमा मार्सी चामल
कर्णाली सभ्यता र इतिहाससँग जोडिएको मार्सी चामलको चर्चा यति बेला भयो । जब डा. गोबिन्द्र केसी स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै जुम्लामा अनसन बसेका बेला । डा. केसी सँगै मार्सी चामल चर्चामा आउनुको कारण बन्यो केही समय अगाडी प्रस्तावित मेडिकल संचालक दुर्गा पसाईंको घरमा बसेर तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले त्यही मार्सी धानको चामल खाए पछि ।
यसरी भित्रिएको थियो जुम्लामा मार्सी धान
बि.स. १०९८ सालमा वा एक हजार बर्ष अगाडी जुम्लामा मलै बर्मा राजा हुदाँका पालामा भारतको कास्मिरबाट बाबा चन्दननाथले जुम्लामा मार्सी धानको बिउँ ल्याएर रोप्न लगाएका थिए । चन्दननाथ बाबाले जुम्लामा धानको खेती गर्न लगाएका कारणले अहिले पनि जुम्लामा चन्दननाथको मन्दीर स्थापना गरिएको छ । अहिले पनि पहिलो पटक आफ्नो खेतमा मार्सी धान फल्यो भने चन्दननाथ बाबालाई आफुले नखादै भेटी चढाउने चलन छ ।
पौराणिक कथा अनुसार चन्दननाथ बाबाले जुम्ला तातोपानी गाउँको लाछु ज्युलामा रहेको सानो काङ्लामा मार्सि धान खेतीको परीक्षण गरेको किंवदन्ती छ । करिब १५ बर्षसम्म जुम्लाका बिभिन्न फाँटहरुमा मार्सी धानको परिक्षणपछि बि.स. १११२ सालदेखि भने कर्णाली भरी मार्सी धान खेती गर्न सुरु भन्ने जनश्रृति रहेको छ । एउटा कुरा के हो भने निकै बलियो रहेको कर्णाली राज्य र नेपाली भाषाको उद्गम थलोको रुपमा रहेको कर्णालीमा बिगतको इतिहास भेटाउने एउटा मात्र आधार भनेको जनश्रृति हो । भाषाको उद्गम थलो रहेको कर्णालीमा इतिहास भेटाउने झिना मसिना ताम्रापत्र र बाहिर रहेको केही शिला लेख आधार मानेर कर्णालीको इतिहास ब्याख्या गर्नुपर्ने हुन्छ । नत्र भने त्यही जनश्रृतिलाई नै हामीले आधार मान्ने हो ।
चन्दननाथ बाबाको मार्सी धान परिक्षण पश्चातः कर्णालीमा चैत्र १२ गते बेर्ना राख्ने असारमा रोप्यो भने राम्रो फल्छ भनेका कारणले अहिले पनि चैत्र १२ गते एकै दिन सबैले बेर्ना राख्ने असारमा धान रोप्ने चलन रहेको छ ।
यसरी पुग्यो दरबार घरमा मार्सी चामल
कर्णालीमा उत्पादित मार्सी धान स्वादिलो र पोषिलो दुबै हुने हुदाँ नेपाल एकिकरणको बेला जुम्ला आएका बहादुर शाहले पहिलो पटक जुम्ला मार्सी धान बाकेर काठमाडौं लगेको यहाँका स्थानीयको भनाई छ । त्यतिबेला नै काठमाडौं रहेको शाही दरबारमा मार्सी धानको चर्चा भयो र गणतन्त्र आउँदा समेत नेपाली राजनेताहरुको दरबारमा मार्सी चामलको चर्चा सेलाएको छैन् ।
नेपालमा बि.स. १९०३ मा जंगबहादुर राणाले सत्ता आफ्नो हातमा लगेर एकतन्त्रिय राणा शासनको स्थापना गरे । जंगबहादुर जब प्रधानमन्त्री भए उनले प्रत्येक दिन अरु चिठि पत्र नभएर जुम्लाबाट चामल ल्याउन कै लागि जुम्लामा हुलाकको स्थापना नै गरेर प्रत्येक दिन एक माना चामल काठमाडौं लैजाने ब्यवस्था मिलाएको यहाँ पुराना बुढापाकाको भनाई छ । यो क्रम राणा शासनकालको अन्तिम प्रधानमन्त्री मोहन शमशेरको पालासम्म चलेको थियो । बि.स. २००७ सालको प्रजातन्त्र स्थापना भएपनि यो क्रम जारी नै रहेको २००८ सालमा कर्णालीमा प्रजातन्त्र आएको थाहा पाएपछि मात्र काठमाडौं पठाउने चलन रोकिएर जुम्लाका बडाहाकिमले मार्सी धानको चामल उठाउने गर्दर्थे ।
कर्णालीमा बिभिन्न देवीदेवताहरुलाई प्रत्येक घरधुरीले मंसिरमा चार माना चामल चन्दननाथलाई र दुई माना भैरवनाथलाई मानापाथी उठाउने चलन अझैँ छ ।
लोप हुने अवस्थामा मर्सी चामल
कर्णालीको इतिहासको सभ्यता बोकेको इतिहासदेखि अहिलेसम्म पनि चर्चाको शिखरमा पुगेको मार्सी धान बि.स.२०४२÷०४३ सालदेखि नै बिभिन्न खाले रोग लागेर यो धान लोप हुने अवस्थामा पुगेको छ । बिगतमा एक पाथी बिउँ लाग्ने ठाउँमा एक बोरा (झण्डै एक क्विन्टल) धान उत्पादन हुने गरेको अहिले त्यो घटेर निकै कम हुने गरेको छ ।
महङ्गोमा बिक्रि
परम्परागत मार्सी धानको चामल अन्य आयातित सेतो चामलको भन्दा स्थानीयस्तरमा नै दोब्बर मूल्य पर्छ । कर्णाली बिभिन्न बजारहरुमा प्रतिकिलो १ सयदेखि १ सय ५० रुपियाँ पर्ने रातो चामल सुर्खेत, नेपालगन्ज बुटवल, काठमाडौँ, इटहरीलगायतका शहरमा यसको मूल्य २ सय ५० देखि ५ सयसम्म पर्छ । बिषेश गरेर यो रारा घुम्न आउने पर्यटकहरुले यो चामलको खोजी गर्ने गरेका छन् ।
मार्सी चामलले स्वास्थ्य अवस्थामा प्रभाव
नेपाली राजनीतिमा दुई बलिया कम्युनिष्ट पार्टी थिए । तिनीहरुका अध्यक्ष पुष्पकमल दाहाल र केपी शर्मा ओलीले प्रस्तावित मेडिकल संचालक दुर्गा प्रसाईको घरमा मार्सी धानको चामल काँचको थालीमा भात खाएर एकिकृत कम्युनिष्ट पार्टी बनाएर सरकार संचालकका रुपमा रहेका छन् । केन्द्र सरकारबाट काठमाडौं तुलनाका निकै पछाडी परेको कर्णालीमा स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै मार्सी धान फल्ने ठाउँमा नै अनसनमा बसेका डा.गोबिन्द केसीले उठाएका माग यो सरकारले गर्ला त्यो भने हेर्न बाँकी नै छ ।
तर, एउटा कुरा के सत्य हो भने जसरी मार्सी धानले चर्चा देशमा बिगतदेखि नै जसरी भएको छ । त्यसरी स्वास्थ्य, शिक्षा, भौतिक पुर्वाधारमा पछाडी परेको कर्णालीले मार्सी धान जत्तिकै यहाँका स्वास्थ्य शिक्षा विकासको सकरात्माक चर्चा होस भन्ने चाहन्छ ।













