नागार्जुन नगरपालिकालार्इ खुल्ला पत्र
१. मानव सभ्यताको बिकासक्रमसंगै आफ्नो संस्कृती र पहिचानलाई अमुर्त पार्न हरदम प्रयासरत रहेको पाईन्छ । मानवले यस धर्तीमा जन्म लिएपछि आफु हुर्केको समाज प्रति उत्तरदायीत्व वहन गर्न र आफ्नो संस्कृतीलाई निरन्तरता दिई बिकासक्रमलाई उच्चतम बिन्दुमा पुर्याउन सक्नु नै एउटा सच्चा मानव जिवनको दरिलो उदाहरण मान्न सकिन्छ । आफ्नो संस्कृती पहिचानलाई डगमग बिना नै बिश्व सामु चिनाउनु उसको नैतिक जिम्मेवार हुन जान्छ । यसै क्रममा आफ्नो जन्म थलोको पहिचान र संस्कृती सदैव रहिरहोस् र आधुनिकता एवं व्यक्ति बिशेषको पहलमा आफु अनुकुल स्थान बिशेषलाई परिभाषीत गरी मौलिकता माथी न्यायोचित व्यवहार नगर्ने परम्परालाई क्रमभंग गर्दै सामाजिक पहिचान बिलय नहोस् भन्ने हेतुले वास्तविकताको खोजीमा लागि परेको छु ।
२. वास्तविकता खोजी गर्ने प्रयास स्वरुप यो पत्र लेख्दैछु । म नेपालको प्रदेश नं. ३ अन्तरगत काठमाण्डौं जिल्ला, नागार्जुन नगरपालिका वडा नं. ६ ९साविक रामकोट ५० टौखेलको स्थानीयवासी हुं । म सानो हुंदा देखी नै मेरो गाउँको नाम टौखेल शब्दको बारेमा ज्यादै जिज्ञासा लाग्दथ्यो । मेरो गाउँ रहेको तत्कालीन रामकोट गा.बि.स. र नजिकै रहेको भिमढुङ्गा र सितापाईला गा.बि.स.का साथीहरुसंग मेरो राम्रो हिमचिम छ । उनीहरु पनि हाम्रो गाउलाई टौखेल नै भन्छन् तर टौखेलका स्थानीयवासीहरुलाई नगरपालिकाबाट प्रदान गरिने ब्यवशाय दर्ता प्रमाण पत्र लगायत अन्य कागजादहरुमा स्थायी ठेगाना उल्लेख गर्दा लापरवाही पुर्वक नागार्जुन नगरपालिका ६ टौखेल लेख्नु पर्नेमा नागार्जुन न.पा. ६ टौफिकल शब्द प्रयोग गरेको पाईएको छ । हुन त टौफिकल शब्द स्थानीय केही ब्यक्तिहरुले पहिलेदेखी नै प्रयोग गर्न प्रोत्साहन दिदै आएका थिए । किनकी टौखेल शब्दमा रहेको मौलिकता उनीहरुको रुचीको बिषय थिएन ।

अहिले यहां मेरो ब्यक्तिगत प्रयासमा सरकारी अभिलेख अनुसार हाम्रो गांउको वास्तविक नाम खोजी गर्ने प्रयास गरे । आफु भन्दा अग्रजहरुसंग खुल्ला रुपमा छलफल एवं अध्ययन गर्न थाले । जस अनुसार ५० को दशक भन्दा बढी उमेरका स्थानीयवासीहरुले आफ्नो गांउको नाम टौखेल बताउन रुचाउछन् । युवा पुस्ताहरु नगर तथा स्थानीय निकायहरुको भेला एवं कार्यक्रमहरुको म्यार्इनुटिङ्गमा केही ब्यक्तिहरुले टौखेल शब्दको सट्टा टौफिकल शब्द प्रयोग गरेबाट आफुहरु अलमलमा परेको बताउछन् । खास गरी नगरपालिकाले जारी बिभिन्न कागजादहरुमा यहांको ठेगाना टौफिकल उल्लेख गरिएको पार्इएको छ । नागार्जुन नगरपालिका कार्यालय, वडा कार्यालय र सरोकारवालाहरुलार्इ यस टोलको वास्तविक नाम टौखेल रहेको कुरा यो खुल्ला पत्र मार्फत स्मरण गराउने प्रयास गरेको छु ।
टौखेल शब्दको शाब्दिक अर्थ
३. लगातार छलफल एवं परामर्श पश्चात म नेपाल प्रज्ञा प्रतिष्ठानको पुस्तकालयमा पुगी तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको स्थाननाम कोश पुस्तक अध्ययन गर्ने मौका पाए । उक्त पुस्तकमा टौखेल शब्दलाई यसरी परिभाषित गरिएको छ ।
(क) नेपाल भाषामा तव को अर्थ ठुलो र ख्यलको अर्थ चहुर हुन्छ । अर्थात तव ख्यल . तवख्यल अर्थात ठुलो चहुर/मैदान हुन्छ । तवख्यल शब्द उच्चारणको क्रममा अपभ्रश भई टौखेल हुन पुग्यो ।
४. नेवाः देय् दबुका केन्द्रिय अध्यक्ष नरेश ताम्राकारका अनुसार नेपाल भाषामा तः. ठुलो र ख्यः को अर्थ चौर वा क्षेत्र हुन्छ । तःख्यः को अर्थ ठूलो चौर हुन्छ । नेपाल भाषाको उक्त शब्द खस भाषामा उच्चारण गरिदां अपभ्रंस हुने क्रममा तःख्यः(तः.तउ.टौ र ख्यः. खेल) लार्इ कालान्तरमा टौखेल भनिएको हुन सक्ने बताउनु भयो ।
५. नेपाल भाषाका अनुसन्धानकर्ता, र्इतिहासविद् तथा पुरातत्वविद् काशीनाथ टमोटका अनुसार नेपाल भाषामा तउको अर्थ ठुलो हुन्छ र खेलको अर्थ मैदान हुन्छ । तउखेलको अर्थ ठूलो मैदान हुन्छ । नेपाल भाषाको तउखेल शब्द अपभ्रंश भर्इ टौखेल भएको हुन सक्ने बताउनुभयो ।
६. बलामी पुस्तकका लेखक बेखराम बलामी श्रेष्ठ टौखेलू शब्द नेपाल भाषाबाट आएको र प्राय नदी/खोला नालाले घेरिएको स्थानलाई टौखेल भनिन्छ भनी बताउनु भयो । साथै वहांले मकवानपुर स्थित नेवार बस्ती चित्लाङ्गमा पनि टौखेल रहेको र उक्त स्थान खोलाले घेरिएको जानकारी दिनु भयो । साविक रामकोट ५ टौखेल पनि सोही अनुसार पुर्व, उत्तर कन्चनमती (लुपाङ्ग) खोला र दक्षिण तर्फ मनमती खोलाले घेरिएको स्थान हो ।
७. समाजसेवी शिवराज बलामीका अनुसार नेपाल भाषामा तः को अर्थ ठुलो र ख्यः को अर्थ चौर हुन्छ । अर्थात तःंख्यः . तःख्यःको अर्थ ठुलो चौर र तःख्यल को अर्थ ठुलो चौरमा भन्ने बुझिन्छ भनी जानकारी दिनु भयो ।
८. उपलब्ध पुस्तक एवं सम्पर्कमा रहनु भएका भाषा विज्ञहरुसंग छलफल गर्दा नेपालको र्इतिहासमा मल्लकालीन समयमा नेपालको राष्ट्रिय भाषा नेपाल भाषा रहेको बुझिन आयो । तत्कालीन समयमा नेपाल मण्डलका धेरै स्थानहरुको नामाकरण नेपाल भाषामा नै भएको थियो । मल्लकालीन समयमा नै टौखेलको नामकारण पनि यही समयमा भएको हुनसक्ने देखिन्छ । टौखेल शब्दको सम्बन्धमा बिचार गर्दा नेपाल भाषामा तःख्यः शब्दको अर्थ ठूलो मैदान हुन्छ । काठमाण्डौं उपत्यकाको पश्चिमी क्षेत्रको यो ठूलो मैदान वा खुल्ला क्षेत्र रहेको यस ठांउलार्इ नेपाल भाषामा तःख्यः भनियो । तःख्यः शब्द कालान्तरमा खस भाषामा अपभ्रंष भर्इ टौखेल भन्न थालियो नागार्जुन नगरपालिका वडा नं. ६ (साविक रामकोट ५) टौखेलको जमिनी बनावट पनि दक्षिण मोहडा तर्फ समथर फांट र उत्तर तर्फ उचार्इमा समेत समथर जमिन हुनुले यस स्थानको नाम टौखेल रहन गएको हुन सक्ने देखिन्छ ।
टौफिकल शब्दको प्रयोग जनश्रुती र भ्रमहरु
९. नागार्जुन नगरपालिका वडा नं. ६ ९साविक रामकोट ५० टौखेल ईलाकालाई टौफिकल शब्द प्रयोग गरी सम्बोधन भईरहेको सम्बन्धमा स्थानीवासीहरुको धारणा निम्न अनुसार रहेको देखिन्छ ।
(क) नागार्जुन नगरपालिका वडा नं. ८ का सचिव प्रकृति खनालका अनुसार नेपाल भाषाको तव र खस भाषाको पिपल शब्द समायोजन भई यस स्थानको नाम टौफिकल रहन गयो । वहांका अनुसार तवको अर्थ दुई र पिपलको अर्थ पिपल नै हुन्छ । अर्थात टौफिकलको खास अर्थ दुई वटा पिपल हो ।
(ख) ई. अजित खनालका अनुसार नेपाल भाषाको तवको अर्थ ठुलो र खस भाषाको पिपल समायोजन भई यस स्थानको नाम टौफिकल रहन गएको जनश्रुती रहेका बताउनु भयो । अर्थात यस स्थानमा ठुलो पिपल रहेकोले यहांको नाम टौफिकल रहन गएको हुन सक्ने बताउनु भयो ।
(ग) खेलकुद प्रशिक्षक कुमार बहादुर दाहालका अनुसार यस स्थानमा कुचो बनाउन बाबियो र सिमृक फष्टाउने हुंदा नेवारहरुले कुचो पार्इने स्थानको रुपमा तत्कालीन (यो स्थान नेवारहरुको वर्चस्व।अधिपत्य रहदा) समयमा प्रचलित नेपाल भाषामा तुफिखलः नाम रहन गयो । नेपाल भाषामा तुफिखलःको अर्थ कुचो पार्इने स्थान हुन्छ । वहांले यस टोलको वास्तविक नाम तुफिखलःको अभिलेख बि.सं. २०२१ साल भन्दा अगाडीको भुमीसुधारका धड्डाहरुमा हुन सक्ने दावी समेत गर्नु भयो । वहांको अनुसार यस स्थानलार्इ टुफिखलः बाट उच्चारणको क्रममा अपभ्रंश भर्इ टौफिकल र अहिले यस टोललार्इ जनबोलीमा टौखेल भन्न थालिएको समेत बताउनुभयो । प्रशिक्षक कुमार बहादुर दाहालको बिचारसंग सडक उपभोक्ता समितिका अध्यक्ष गजराज खड्का पनि सहमत हुनुहुन्छ ।
(घ) सहकारीकर्मी तथा अधिवक्ता उद्धब दाहालका अनुसार यो ठाउँको नाम स्थानीय जनबोलीमा टौखेल रहेको भएतापनि बिभिन्न स्थानीय प्रशासनसंग कार्य गर्दा टौफिकल शब्द प्रयोग गरिदै आएको बताउनु भयो ।
१०. युवा पुस्ताका ई. अजित खनाल, प्रकृती खनाल र खेलकुद प्रशिक्षक कुमार बहादुर दाहालको तर्कलाई अध्ययन गर्दा टौफिकल शब्द नेपाल भाषाबाट प्रभावित छ भनी स्वीकार गर्नु भएको छ । वहांहरुको दावी अनुसार अध्ययन गर्दा नेपाल भाषामा यस्तो देखियो ।
वास्तविकताको खोजी
११. नेपाल भाषामा तः को अर्थ ठुलो हुन्छ र वङ्ग सिमाको अर्थ पिपल अर्थात ठुलो पिपल भन्नको लागि तःधं वङ्गः सिमा भन्नु पर्ने हुन्छ । दुर्इ भन्नलार्इ नेपाल भाषामा ने/नसी/नछी भनिन्छ । दुर्इ वटा पिपल भन्नलार्इ नेपाल भाषामा निम्हा वङ्गः सिमा भनिन्छ । यस आधारमा बिचार गर्दा ई. अजित खनाल, प्रकृती खनालको दावी जनश्रुती मात्र रहेको वास्तविकता नरहेको कुरा स्पष्ट हुन आउछ । टौफिकल शब्दको नेपाल भाषामा मात्र र खस भाषामा मात्र शाब्दिक अर्थ आउदैन । प्रशिक्षक कुमार बहादुर दाहालको दावी अनुसार अध्ययन गर्दा तुफि को अर्थ कुचो र खलः को अर्थ वंश परिवार खलक हुन्छ अर्थात तुफिखलः भन्नाले कुचो खलक बुझाउछ । नेपाल भाषामा कुचो पार्इने स्थानलार्इ तुफि ख्यः भनिन्छ । यहां बुझ्नु पर्ने कुरा के छ भन्दा कुचोको बिरुवा हुदैन । बाबियो, सिमृक स्थान बिशेषमा पार्इन्छ । बाबियो, सिमृक, बास र अम्रिसो आदीको कुचो र खरेटो तयार गरिन्छ । कुचो निर्मित सामग्री हुनाले बजार वा पसलहरुमा पार्इन्छ । तुफिखलः शब्द टौफिकल शब्दसंग मिल्दोजुल्दो भएपनि वहांले दावी गरेभन्दा फरक यथार्थ रहेको देखिन्छ ।
१२. काठमाण्डौं उपत्यकाको बिभिन्न स्थानहरुमा (मच्छेगांउ, गोदावरी) मा टौखेल नाम गरेका टोलहरु रहेको र तत्कालीन रामकोट वडा नं. ५ मा समेत टौखेल टोलको नाम मिल्न गएको हुंदा फरकपना ल्याउन बिबिध म्याईन्युटीङ्गमा आफुहरुले टौफिकल शब्द प्रयोग गरेको कुरा समेत केही अग्रजहरुले बताउनु भएको छ । स्थानीयको जनजिव्रोमा यो स्थानको नाम टौखेल नै छ र आफुलाई उनीहरु टौखेलवासीको रुपमा अन्यत्र परिचय गराउन चाहन्छन् ।
१३. सबै भन्दा पहिले मैले मेरो गांउको नाम सरकारी अभिलेखमा खोज्ने प्रयास गरे । नागरिकताहरुमा स्थायी ठेगाना हेरे । त्यहां वडा नं. मात्र उल्लेख हुंदो रहेछ । मतदाता परिचय पत्र हेरे त्यहां मतदान केन्द्रमा काठमाण्डौं जिल्ला क्षेत्र नं. ९ अन्तरगत रामकोट वडा नं. ५ को मतदान केन्द्रमा ज्योती प्राथमिक बिद्यालय, टौखेल उल्लेख गरिएको थियो । जव कि ज्योती प्राथमिक बिद्यालयको पुरानो फेलेक्स बोर्डमा ज्योती प्राथमिक बिद्यालय, नागार्जुन ७, टौफिकल उल्लेख गरिएको थियो । नागार्जुन नगरपालिकाको १४ वडाहरु संघियता कार्यान्वयनको क्रममा नगरपालिका स्थानीय निकायबाट स्थानीय तहमा परिणत हुंदा समायोजन भर्इ १० वडामा सिमित हुंदा हाल उक्त बिद्यालय नागार्जुन ६ अन्तरगत पर्दछ । आशा गरौं सायद उक्त बिद्यालयको नवनिर्मित भवनको होडिङ्ग बोर्ड तथा लेटर हेडमा वास्तविक ठेगाना उल्लेख हुनेछ ।
१४. रामकोट गा.बि.स. नागार्जुन नगरपालिकामा विलिन भएपछि नागार्जुन नगरपालिका वडा कार्यालयमा परिणत भयो । रामकोट स्थित वडा कार्यालयमा टौखेलका भुकम्प प्रभावितहरु मध्ये राहत पाउन योग्य ब्यक्तिहरुको नामावली बारे जानकारी लिन म पनि वडा कार्यालय पुगे । वडा कार्यालयको सुचना बोर्डमा भुकम्प प्रभावितहरुको टोलको नाम समेत उल्लेख थियो । त्यहां हाम्रो गांउको टोलको नाम Taukhel भनी उल्लेख गरिएको थियो ।
१५. यसरी नगरपालिकाले एउटै स्थानलाई बिभिन्न सन्दर्भमा कहिले टौखेल र कहिले टौफिकल शब्द प्रयोग गरेको पाईयो ।
१६. अन्तत म नेपाल सरकारले प्रकाशित गरेको नक्शामा मेरो टोल खोज्न ठमेल स्थित म्याप हाउस पुगे । संजोगवस त्यहां उपलब्ध नक्शामा मेरो टोलको नाम टौखेल उल्लेख थियो र छ । तपाईहरु पनि नेपाल सरकार, सर्भे बिभागले प्रकाशित गरेको काठमाण्डौं जिल्लाको म्याप सिट नं. २७८५ ०६ A को नक्शा तपाईहरु समेत हेर्न र खोज्न सक्नु हुन्छ ।
१७. सायद निर्वाचन आयोगले यही यथार्थलाई आत्मसाथ गरी काठमाण्डौं जिल्ला, नागार्जुन नगरपालिका वडा नं.६ मतदाता परिचय पत्र र आफ्नो वेभसाईट www.election.gov.np मा मतदान केन्द्रको ज्योती प्राथमिक बिद्यालय, टौखेल तोक्यो र यो टोलको नामलाई निरन्तरता दियो । पुर्वमा भैरवटोल, ईचाडोल, पश्चिममा डाडांपौवा, उत्तरमा हरसिद्धि र दक्षिणमा किम्सी बिचको यो खुल्ला स्थानको नाम टौखेल नै रहेको कुरा मतदाता परिचय पत्र, भुकम्प प्रभावितहरुको सुची, नक्शा र स्थानीय बुद्धिजिवी एवं भाषा बिज्ञहरुको धारणबाट स्पष्ट हुन्छ ।
टौखल शब्दको मोह
१८. पछिल्लो समयमा आफ्नो गांउको वास्तविक नाम टौखेल रहेको एकिन भएपछि स्थानीयवासीहरु आफ्नो ठेगानामा टौफिकल शब्दको प्रयोग गर्न छाडेका छन् । उनीहरु आहिले आफ्नो ठेगाना नागार्जुन नगरपालिका वडा नं। ६ टौखेल भनी प्रयोग गर्दछन् । रामकोट बलामी गुठी समाजका अध्यक्ष भाईकाजी बलामीले आफ्नो समाजको लेटर प्याडमा यो वास्तविक ठेगाना प्रयोग गरीरहेको बताउनु भयो । त्यस्तै युवाहरुको सकृयतामा विवेक कुमार दाहालको अध्यक्षतामा टौखेल सामुदायिक बिकास समाज (Taukhel CDS) नामक गैर सरकारी संस्था गठन भई जिल्ला प्रशासन कार्यालय, काठमाण्डौंमा विधिवत रुपमा दर्ता भएको छ । उक्त समाजको पहिलो अधिवेशनबाट सुजन प्रसाद बास्कोटा निर्वाचित भएका छन् । उक्त समाजले आफ्नो लेटर प्याडमा समेत यस टोलको वास्तविक ठेगाना प्रयोग गरेको छ । उक्त समाजको पहलमा ज्योती प्राथमिक बिद्यालय नजिक सामुदायिक भवन निर्माणको अन्तिम चरणमा पुगेको छ । यहां पछिल्लो समयमा नेपाल क्योकुशिन बुदो करांते कम्युनिटी संघका कोषाध्यक्ष अनुप कुमार बलामीको सकृयतामा टौखेल शाखा डोजोको स्थापना भई संचालनमा छ । उक्त डोजोले टौखेल सामुदायिक बिकास समाजको सामुदायिक भवनलाई समेत उपयोग गर्दै आएको छ । पछिल्लो समयमा नव गठित टौखेल युवा समुहले नेप्सेम्याक सेवा प्रा।लि।संगको सहकार्यमा डाडापौवा स्थित सिताराम स्कुल देखी टौखेलसम्म सडक सफाई अभियान संचालन गरेको थियो । वास्तविकता जनमानसमा थाहा हुदै आएपछि स्थानीयवासीमा टौखेल शब्दको प्रयोग समेत बढाउदै गएको देखिन्छ ।
नागार्जुनका कुरा
१९. मल्लकालीन समयमा र त्यो भन्दा अघी कान्तिपुरलार्इ येर ललितपुरलार्इ यल भनिन्थ्यो । नेवार संस्कृतीलार्इ सम्मान गर्दै काठमाण्डौं महानगरपालिका र ललितपुर उपमहानगर पालिकाले अहिले सम्म आफ्नो लेटर हेडमा नेपाल भाषामा येर यल उल्लेख गर्दै आएका छन् । नागार्जुन नगरपालिकाको नामाकरण सम्बन्धमा नागार्जुन डाडांको नामसंग जोडिन आउछ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज हाताभित्र जामाच्व डाडां रहेको छ । यो डांडामा वज्रयानका महागुरु आचार्य नागार्जुनपाद आएर तपस्या गरेपछि उक्त स्थानको नाम नागार्जुन रहन गएको कुरा स्थाननाम कोश पुस्तकमा उल्लेख छ । साथै जामाच्वमा शिखी बुद्धले समेत तपस्या गरेका थिए । जामाच्वो क्षेत्र नागार्जुन वनक्षेत्र तत्कालिन राजा विरेन्द्रको निजि वनको रुपमा रानी वनको रुपमा रहेको थियो । नेपालमा राजतन्त्रको अन्त्यसंगै सन् २००९ मा १५ वर्ग कि।मि। क्षेत्रफल ओगटेको नागार्जुन वन क्षेत्रलार्इ शिवपुरी राष्ट्रिय निकुञ्जमा गाभिएको थियो । नेपाल भाषामा डाँडा तथा अग्लो। उच्च पहाडलाई च्व भनिन्छ । जस्तै उपत्यका नजिकका पहाडहरु दहच्वलार्इ अहिले दहचोक, फुच्वलार्इ फुल्चोकी, सिच्वलार्इ शिवपुरी, जामाच्वलार्इ जामाचो आदी नामले सम्बोधन गरिन्छ । वास्तवमा नागार्जुन वन क्षेत्रको सबैभन्दा अग्लो भाग नै जामाच्व हो । स्थानीय भाषा र संस्कृतिलार्इ प्राथमिकता दिने क्रममा काठमाण्डौं महानगरपालिका र ललितपुर उपमहानगर पालिकाले अहिले सम्म आफ्नो लेटर हेडमा नेपाल भाषामा येर यल उल्लेख गरे झै नागार्जुन नगरपालिकाले समेत यस स्थानको वास्तविक पहिचान झल्काउने नगरपालिकाको नामसंग सम्बन्धित स्थाननाम जामाच्व शब्दलार्इ लेटर हेडमा रञ्जना लिपिमा प्रयोग गर्न सके स्थानीय आदिवासीहरु प्रति सकारात्मक सन्देश प्रवाह हुने थियो ।
कोटश्य भैरबस्थान र लाखे चहुर
२०. नागार्जुन नगरपालिका वडा नं. ६ को साविक रामकोट ५ र ६ सिमाना ढुङ्गाना पुल नजिक कोटश्य भैरव स्थान रहेको छ । यो मन्दिर सितापार्इला रिङ्गरोडबाट करिब १ कि.मी. पश्चिम तर्फ अवस्थित छ । मल्लकालीन समयमा भैरबको र तलेजु भवानीको बिशेष पुजा हुन्थ्यो । हल्चोक भैरब, कोटश्य भैरब र लाखेचौर एक आपसमा सम्बन्धित मानिन्छन् । हल्चोक भैरबबाट अझै पनि र्इन्द्रजात्रामा लाखे लैजाने प्रचलन छ । कोटश्य भैरबस्थान नजिक कन्चनमती (लुपाङ्ग) खोलाको सानो छहरा छ । कोटश्य भैरबस्थान नजिकै एउटा चहुर पनि छ । त्यस चहुरलार्इ लाखेचौर भनिन्छ । जनश्रुती अनुसार र्इन्द्रजात्राको दिन यस लाखेचौरबाट लाखेलार्इ श्रृगार गरी बसन्तपुर लैजाने चलन थियो । खोला किनाराको यो समथर चौर भएतापनि यसमा लामो समयसम्म खेतीपाती नभर्इ सार्वजनिक स्थानको रुपमा रहेको स्थानीय अग्रजहरु बताउनु हुन्छ । रामायण कालमा राम सिता वनबासको क्रममा वन विहारको क्रममा नेपाल आउनु भएको थियो । वनबासको शिलशिलामा सिताले पार्इला राख्नु भएको स्थान सितापार्इला रहन गएको जनश्रुती रहेको छ । सितापार्इला पवित्र स्थलको रुपमा हिन्दु धर्मालम्बीहरुको पुजा गर्दै आएका छन् । हतियार राख्ने स्थानलार्इ कोत भनिन्छ । राम वनवासमा रहदां शिकारको लागि आफ्नो हतियार राखेको पवित्रभुमीलार्इ रामकोत भनियो । रामकोत पछि अपभ्रंस भर्इ रामकोट रहन गएको जनश्रुती रहेको छ । रामले शक्तिको आरधनाको लागि कोतमा भैरब स्थापना गरेको हुंदा कोतश्य भैरब रहन गएको अनुमान गर्न सकिन्छ । कोतश्य शब्द पछि अपभ्रंश भर्इ कोटश्य रहन गयो । कोटश्य भैरब मन्दिर नजिकै साविक रामकोट ६ मा कोतादेवी मन्दिर छ । रामकोटमा जनश्रुतीमा आधारित रामायणकालीन प्राचिन रामको कोतसंग सम्बन्धित बिभिन्न मठ मन्दिर एवं प्राचीन स्थानहरुको पुरातात्विक, अध्यात्मिक अध्ययन गर्नु जरुरी छ ।
२१. नागार्जुन नगरपालिकाले आयोजना गरेको फुटवल प्रतियोगितामा यस चौरलार्इ छहरा नजिकै भएकै आधारमा लाखेचौरबाट अपभ्रंश गरार्इ छङ्ग छङ्गे चौर नामाकरण गरियो । यसरी स्थान बिशेषको नामाकरण एवं नामहरुलार्इ हचुवाको भरमा नयां नामहरु प्रदान गर्दा उक्त स्थानहरुको ऐतिहासिक अध्ययनमा जटिलता थपिदै जान्छ । प्राचिन कोटश्य भैरब मन्दिरको पुरातात्विक अध्ययन गर्न नगरपालिकाको ध्यानाकर्षण गराउन चाहन्छु ।
Facebook मा टौखेल
२२. नागार्जुन नगरपालिका वडा नं. ६ टौखेलका युवाहरुले आफ्नो गांउको नाम कही कतै भ्रामक उल्लेख नहोस् भनी Facebook मा समेत कृयाशिल छन् । Taukhel CDS का तत्कालीन सचिव हाल अध्यक्ष सुजन प्रसाद बास्कोटा आफुहरुले आफ्नो गाउको वास्तविक नाम टौखेल रहेको र यस सम्बन्धी भ्रम हटाउन युवाहरुले Taukhel CDS र हाम्रो टौखेल Facebook Account संचालन गरी रहेको बताउछन् । युवाहरुले हाम्रो टौखेल नामको Facebook Account बाट facebook Status को लागि Taukhel , Ramkot Taukhel समेत प्रयोगमा छन् । हाम्रो टौखेल र Taukhel CDS मा युवाहरुले सार्वजनिक महत्वका सुचनाहरु आदान प्रदान गर्दै आउनुका साथै टोलका नियमित कार्यक्रमहरुको तस्वीरहरु समेत अपलोड गर्ने गरेका छन् । त्यसै गरी Nepal Kyokushin Budo Karate Taukhel Dojoका मुख्य प्रशिक्षक अनुप कुमार बलामीले आफ्नो डोजोको फेसबुक पेजबाट डोजो सम्बन्धी जानकारी सार्वजनिक गर्दै आएका छन् । यसको अलवा यस स्थानमा बिभिन्न राजनैतिक दल संघ संस्था समिति तथा स्थानीय ब्यक्तिहरुले समेत फेसबुकमा फोटो अपलोड गर्दा यो ठेगाना प्रयोग गर्ने क्रम बढ्दै गएको छ । यसरी फेसवुकमा समेत टौखेलवासीहरुले आफ्नो टोलको वास्तविक ठेगाना प्रयोग गर्न थालेका छन् ।
बिशेष अनुरोध
२३. नागार्जुन नगरपालिका भित्र टौखेल जस्तै प्रचिनकालदेखी जनजिव्रोमा प्रचिलत अनेक प्राचिन नामहरु छन् । निश्चित स्थानसंग सम्बन्धित कुनै ऐतिहासिक तथ्य बारे जानकारी दिने (खोज्न सकिने) यस्ता स्थाननामहरु ऐतिहासिक सामाग्री हुन् । स्थाननामहरु र्इतिहासका साक्षी हुन् । नगरपालिकाले स्थानीय रुपमा छुट्टै मौलिकता बोकेको स्थान सम्पदाहरुको बिशेष अध्ययन अनुसन्धान गरी यिनीहरुको संरक्षणको लागि आफ्नो तर्फबाट पहलता लिनु जरुरी छ । यसर्थ यस्तो सांस्कृतिक, ऐतिहासिक र भाषिक दृष्टिकोणले महत्वपुर्ण स्थाननामहरु नगरपालिकाका अमुर्त सम्पदाहरु हुन् । यिनीहरुको संरक्षण गर्नु तपार्इ हामी सबैको कर्तब्य हो ।
२४. अन्त्यमा कर्मचारीतन्त्रबाट स्थानीय प्रशासन अहिले जनप्रतिनिधीहरुले भरीभराउ छन् । नगरपालिकाले बिभिन्न सरकारी बैधानिक दस्तावेजहरु (मतदाता परिचय पत्र, नक्शा) हरुलाई आधार मानी यस नागार्जुन नगरपालिका वडा नं. ६ ९साविक रामकोट ५० स्थित टौखेल टोललाई लापरवाही पुर्वक टौफिकल नलेखियोस् । एउटा टोललार्इ २ फरक फरक नामले सम्बोधन नगरी एउटै वास्तविक नाम प्रयोग गरियोस् । प्राप्त तथ्यहरु र आम जनताको जन अपेक्षालाई मनन् गरी नगरप्रमुख, वडा अध्यक्षज्यूबाट बिगतमा नगरपालिका प्रशासनबाट भएको लापरवाही रोक्न पहल गर्न हुन बिशेष अनुरोध गर्दछु । साथै स्थानीयवासीहरुले आफ्नो ठांउको वास्तविक ठेगाना प्रयोग गरी स्थान बिशेषको वास्तविक पहिचान जोगाउन पाठकबृन्दहरुबाट सकारात्मक सहयोग र सृजनात्मक सुझावको अपेक्षा गरेको छु ।
कृष्ण कुमार बलामी, नागार्जुन ६ टौखेल काठमाण्डौं













