निकासबिनाको बिकास हाम्रो

सामान्यतः बिकास भनेको सकारात्मकदिशामा अगाडि बढ्ने कुरालाई बुझाउँछ । अर्थात एकबाट दुई हुनु, सानोबाट ठूलो हुनु, अप्ठ्यारोबाट सजिलो हुनु, कच्चीबाट पक्कीहुनु, संकीर्णबाट उदार हुनु यी सब बिकास हुन् । बिकास हुनु राम्रो कुरा हो । बिकास हुनै पर्दछ । तर हामीले गर्ने र गरिरहेको बिकास माथि भनिए जस्तै छ त ? हामी सकारात्मकदिशातिर अगाडि बढिरहेका छौं त ? अप्ठ्यारोबाट सजिलोतिर गइरहेका छौं त ? यस बिषयमा छलफल आवश्यक छ ।

जुन बिकासले भोलीसम्म निकास दिन सक्छ, त्यो बिकास हाम्रो लागि राम्रो हो, जुन बिकासले भोलीसम्म निकास दिन सक्तैन, त्यो बिकास हाम्रो लागि राम्रो होइन । बिकास सबैसँग सरोकार राख्ने सार्बजनिक महत्वको बिषय हो, त्यसैले यससँग साधारण जनतादेखि शासकसम्मको सरोकार हुन्छ । आज देश संघीय शासनतिर अगाडि बढिसकेको छ । हरेकको मुखमा बिकास झुण्डिएको छ । धेरैले भनिरहेका छन् कि अबद्रुत गतिमा बिकास हुन्छ । बिकासले निकास दिन्छ । बिकास भएपछि द्वन्द्व पूर्ण रुपमा समाप्त हुन्छ । के साँच्चै त्यस्तो हुन गइरहेको छ त ?

मलाई लाग्छ, माथिको भनाईलाई नकार्न सकिन्न, तर पूर्ण सत्य पनित्यो होइन । बिकास, आत्मनिर्भरतासँग पनि जोडिएको हुन्छ । बिकास आयस्तर, जीवन शैलीसँग पनि जोडिएको हुन्छ । बिकास, सम्मान, स्वतन्त्रता, सहभागितासँग पनि जोडिएको हुन्छ । बिकास, सम्मान, स्वतन्त्रता, सहभागिता फरक फरक बिषय हुन् । तर जब बिकाससँग सम्मान, स्वतन्त्रता, सहभागिता जोडिन्छ, त्यो निकास सहितको बिकास हुन जान्छ । यदि ती कुरा जोडिएन भने निकास बिनाको बिकास हुन पुग्छ । त्यो बिकास चारैतिर बिकाउ हुन्छ, तर टिकाउ हुँदैन ।
हिजो हामी पैदल हिँड्थ्यौं, आज गाडीमा हिंडिरहेका छौं । हिजो सात आठ किलोमिटर पैदल हिंडेर हुलाक पुग्थ्यौं, चिठी पत्र पठाउँथ्यो, ती चिठी महिनौं दिनमा पुग्थ्यो । आज हातहातमा मोबाइल छ, ईमेल, इन्टरनेट सेवा उपलव्ध छ, भिडियो कल गरिरहेका छौं, संसारको दूरी निकै कम भैसक्यो । राजधानी बिहान गयो, बेलुका फर्कियो, सजिलो भैसक्यो । हिजो फरक कपडा लगाउँथ्यो, आज फरक लगाइरहेका छौं । हिजो घर कच्ची, सडक कच्ची सब कच्ची थियो, आज सब पक्की हँुदैछ । भोली यसले झनगति लेला । बिकासलाई रोक्नसम्भव छैन, ढिलो र चाँडोको कुरा मात्रै हो ।

पहिलेको तुलनामा धेरै बिकास भएको छ । तर यसले पनि निकास दिन सकेको छैन । किन ? भन्दा हामी कहाँ भएको र भैरहेको बिकासमा सम्मान, स्वतन्त्रता, सहभागिता जोडिएको छैन । दलितको घर अगाडि पक्की सडक छ, गोजीमा मोबाइल छ, तर उ कसैको घरमा जाँदा अछुतको ब्यबहार गरिन्छ । खेतीपातीमा आश्रित किसान छ, भबिष्य उसको खेतसँग जोडिएको छ, तर उसलाई जमिन बिहिन बनाइने गरिन्छ, कुनै क्षेत्र, स्थान बिशेषमा कुनै एक जाति, समुदायको बसोबास छ, बाहुल्यता छ, तर उसलाई त्यहाँको शासन सत्ताबाट बाहिर राखिन्छ । शासन सत्तामा उसलाई सहभागी गराइन्न । यस्तो अबस्थामा उ आफूलाई सम्मानित महशुश गर्न सक्तैन, अपनत्वबोध गर्न सक्तैन । असन्तुष्टी पालेर बस्छ ।

हामी कहाँ भएको र भैरहेको बिकास यस्तै छ । यो निकास सहितको बिकास होइन । निकास रहित बिकास हो । भौतिक संरचनामा सुधार हुनु मात्रै बिकास होइन, सोंच, भावना, धारणामा सुधार हुनु, परिबर्तन हुनु पनि बिकास हो । कच्ची सडकबाट पक्की सडक हुनु, साँगुरो सडकबाट चौडा सडक हुनु बिकास भए जस्तै परम्परागत संकीर्ण सोंचबाट उदार, फराकिलो, मानवीय सोंच हुनु, त्यही अनुसार बोली ब्यबहार, आचरण गर्नु पनि बिकास हो । बिकास गर्दा भोलीका दिनमा बाढी, पहिरोले समस्या नल्याओस, देशमा सुख्खा नहोस्, भूकम्पले कुनै संरचना नभत्कियोस्, उद्योग धन्दा कलकारखानाले बाताबरण प्रदूषण नहोस्, जनसंख्या र सवारी साधनको चापले हाम्रा बाटा घाटा, सडक मार्ग अबरुद्ध नहुन्, जाम नहोस्, आदि भौतिक कुरामा ध्यानदिनु सबैको प्रथम दायित्व हुनै पर्दछ । त्यसको साथसाथै परम्परागत सोंच, धारणामा परिबर्तन गर्न जरुरी हुन्छ, “मै खाउँ, मै लाउँ, मै सुख शयल गरु” भन्ने भावनालाई त्याग गर्नु पर्दछ । त्यही अनुरुप बोली, ब्यबहार, शासन शैलीमा परिबर्तन गर्न जरुरी हुन्छ ।

हामी बिकासको कुरा गरिरहेका छौं । आजको गाउँपालिका भोली नगरपालिका हुँदैछ, नगर पालिका उप–महानगरपालिका हुँदैछ, उप–महानगरपालिका, महानगरपालिका हँुदैछ । तर सोंच हाम्रो साँगुरो छ । साँगुरो सोंचका कारण हामी बाढीलाई निकास दिने खोला नालालाई साँगुरो पारिरहेका छौं । जनसंख्या, गाडी, घोडाको चापलाई बेवास्ता गर्दै साँगुरो गल्ली र सडक बनाइरहेका छौं । स्वच्छ बाताबरण पर्याबरणलाई बेवास्तागर्दै जथा भावीबन काटिरहेका छौं, घाँसको मुख्य श्रोत बनलाई बनाइरहेका छौं । खेती योग्य जमिनलाई घर घडेरी बनाइरहेका छौं । समस्या प्रति गम्भिर हुन सकिरहेका छैनौं ।

समस्या सबैलाई थाहा छ, तर स्वार्थ टुप्पीमा सवार छ । नातावाद, कृपाबाद, दलबाद हाबी छ । देशको कुनै पनि क्षेत्र,दलीय भाग बण्डाबाट अछुतो छैन । न्यायाधीशहरु समेत दलीय भागबण्डामा छन् । हिजोका दिनमा कार्यालयका अधिकारीहरु सरुवाको यले, जागिर जाने डरले जोखिम मोलेर काम गर्न सक्तैनथे, आज जनप्रतिनीधिहरु नाताबाद, कृपावाद, भोट पाइन्न कि भनेर जोखिम मोल्न चाहिरहेका छैनन् । फलस्वरुप साँगुरो सोंच भएकाहरुलाई हाय सञ्चो हुन पुगेको छ । बाहिर मुखले भलादमी भएर प्रस्तुत हुने र भित्र बिकासमा अवरोध पु¥याउने काम गरिरहेका छन् । देश भरी यस्तै छ ।

म बसेको धनगढी उप–महानगर पालिका पनि यसबाट अछुतो छैन । कतै छ लेनको बिबाद छ त, कतै खोलानाला, ढल निकासको बिबाद छ । कतिपय ठाउँमा साँगुरो सडकलाई चौडा बनाउने सम्बन्धमा बिबाद छ, कोहि चौडा बनाउन खोजिरहेका छन्, कोहि त्यसलाई साँगुरो पार्ने काममा सहजीकरण गरिरहेका छन् । जनप्रतिनीधि बिबादमा आउन चाहिरहेका छैनन् । एक त नगर पालिकाको ९ मिटर सडकको साँगुरो सोंच छ, त्यसमा पनि साँगुरो सोंच भएकाहरुमा आपसी बिबाद छ, अनि कसरी होस् बिकास । नहुनु भन्दा ९ मिटर हुनु अहिलेको लागि एकदम राम्रो हो, तर २० बर्षपछिको लागि यो समस्याको निकास होइन । तर उप–महानगरपालिका, ९ मिटरकै साँगुरो सोंचमा अड्किएर बसेको छ । म पनि साँगुरो सोंचका मित्रहरुसँगै साँगुरो सोंचका साथ साँगुरो गल्लीमा झुपडी बनाएर बसेको छु ।

सारमा भन्दा भौतिक संरचनाको निर्माण वा सुधार, आय स्तरमा बृद्धि हुनुमात्रै बिकास होइन, हाम्रो सोंच, धारणामा परिबर्तन हुनु पनि बिकास हो । बिकास गर्दा निकास सहितको बिकास आवश्यक हुन्छ । त्यसको लागि हामी नागरिकले बबण्डर मच्चाउने होइन । स्थानिय निकायलाई पुरापूर सहयोग गर्नु पर्दछ । हामी साँच्चिकै सचेत छौं भने नगरपालिकाको साँगुरो सोंच भन्दा पनि चौडा सोंच बनाउन सक्नु पर्दछ । स्थानिय निकायले पनि भोलीलाई हेरेर निकास सहितको बिकासमा जोड दिनु पर्दछ, हिम्मत जुटाउनु पर्दछ । यदि त्यसो गर्न सकिएन भने आज जति घर, महल टुटफुट हुँदैछन्, २० बर्षमा त्यो भन्दा पनि बढी घर टुटफुट हुने स्थिति आउन सक्छ ।