“हलुवा–स्कूल”

मेरा दुइटा बच्चाहरू छन् । ठूलो छोरी जुनु अनि दिदी भन्दा सात बर्ष कान्छो छोरो जेनिश । जब स्कूल जाने समय हुन्छ । तिनीहरूको आमा गौरी सँग सधैं कच–कच हुन्छ उनीहरूको । आज यो खाजा भएन, त्यो खाजा भएन भन्दै एक छिन घरै गुञ्जयांमान हुन्छ ।
आमा – “रोटी लैजाउ है छोरा ।”
छोरा –“दिउँसो साह्रो हुन्छ, रोटी”
आमा – “उसो अमलेट लैजाउ ।”
छोरा – “चिसो हुँदा मिठो हुँदैन ।”
छोरी – “म ठूली भइसके, म क्यान्टिनमा खाजा खाने, मलाई पैसा ।”
मुरमुरिदै छोरो – “क्यान्टिनको मिठो–मिठो चाउमिन, मःम, समोसा चाहिँ दिदी, मलाई चाहिँ भुटेको भात, लान्न घरको खाजा ।”
आफ्नै खेतमा उम्रेको केराउ, चना, भटमास जस्ता गेडागुडी छोरालाई औषधिका रङ्गीन ट्याब्लेट र क्याप्सुल जस्तै लाग्छन् । अनि गेडागुडी मुखमा पर्दा पानीको मद्दतले औषधि निले भैmं निल्नुपर्छ । खाना खान बस्दा उसको थालमा अनेक थरी मन नपर्ने तत्वहरू छुट्टिन्छन्, आमाले चामल केलाए भैmं । हरेक पल्टको गाँससँगै गन गन ग¥यो । अनि कहाँबाट लागोस ज्यान । लुखुरे छोरो भन्छ “मेरा साथीहरू सधैँ स्कूलको क्यान्टिनमै खाजा खान्छन्, मलाई भने सधैं घरको खाजा ।” यस्तै–यस्तै विवाद गर्नुभन्दा खुरुक्क बच्चाहरूको गोजीमा पैसा हाल्यो । आमालाई पनि खाजाको हाईसञ्चो, बच्चाहरू पनि खुसी, बेकारको झन्झट ।
एकदिन भान्साबाट सूजीको हलुवाको बास्ना उनीहरूको नाकमा पस्यो । “के आज पनि हलुवा खाजा ?” छोरीले आमालाई हेर्दै भनिन् – “हिजो मात्र हलुवा लगेको, आज पनि हलुवा ।”
आमा रिसाएर हर्कादै – “तिमीहरूको बुबा सधैँ त्यहि हलुवा खाजा खाएर पढ्नु भो। त्यो पनि पाँच पाँच वर्षसम्म, हलुवा स्कुलमा । तिमीहरूलाई भने दुई दिन पनि नपच्ने ।”
आश्चर्य मान्दै दुवै बच्चाहरू एउटै स्वरमा “हलुवा स्कूल” भन्दै टिफिनको बट्टा झोलामा कोचे । स्कूलबाट फर्किदा दुवै जनाको टिफिनबट्टा अरु दिन भुटेको चिउरा जस्ताको त्यस्तै फिर्ता ल्याएको जस्तो थिएन । आमाको कुराले काम गरेछ क्यारे, खाजा खाएरै खाली बट्टा ल्याएका थिए । साँझको खानापछि सुत्ने तरखरमा थियौैं।
छोरो नजिक आएर सोध्यो, “हजुरले पढेको स्कूल, साँच्चै हलुवाले बनेको थियो,बाबा ?” ।
“मिसले सुनाउनु भएको हान्सेल र ग्रीटेलको कथामा जस्तै जिंजरब्रेड हाउस जस्तै थियो कि ?” छोरीले प्रश्न थपिन् ।
तिमीहरूले सुनेको कथा र हलुवा स्कूलको कथा फरक छ, मैले सिरानी तान्दै भनें । ग्रीटेल र हान्सेल कथामा जस्तै ग्रीटेलको ठाउँमा मेरी किस्नी दीदी थिइन् ।
“उसो भए आज तपाईंकै कथा सुनौं न बाबा” । छोरी नजिकिदैं भनिन् ।
दायाँ छोरा र बाँया छोरीलाई सिरक भित्र गुटमुटाएँ । आधी जीउ सिरकले ढाक्दै सिरानीको आड लिएर कथा शुरु गरें ।
कुरा २०४४ साल पौष महिनातिरको हो । धनगढी बजारसँगै उत्तरतिर खुला चौर थियो । पूर्वमा भंङ्गी नालाबाट शुरु भएर पश्चिममा सुक्टी नालासम्म पैmलिएको लामो चौरमा म गोठालो जान्थे । पाका गोठालेहरूले भन्थे– केही वर्ष पहिले त्यहाँ पिलेन बस्थ्यो रे । एउटा ठूलो पिलेन हिले चौरमा धसेपछि अरु पिलेन केहि दिन आउन छाड्यो, त्यसपछि गेटामा नयाँ एअरपोर्ट बन्यो रे । त्यहि पुरानो एअरपोर्टको उत्तरपट्टि हसनपुर गाउँ थियो । स्थानीय भाषामा त्यो चौरलाई हामी गिरान भन्थ्येों । नैनादेवी मन्दिरबाट उत्तर जाँदा पहिलो चोकको भित्री गल्लीमा हाम्रो टोल थियो । त्यतिखेर म आठ वर्षको थिएँ, मेरो घरसँगै खेतीपानी भिœयाउन, अन्नहरू ओसार्न ठूलो खलियान थियो । एकातिर घरको आकार जस्तै धानका मुठाले बनाइएका धानका खरैं थिए । अर्कोतिर चारखुट्टे टौवामा परालको पहाड थियो । किस्नी दिदी र आमाले धानको रासलाई नाङ्लोमा उफारी–उफारी केलाउँदै थिए । म चाहिँ चारवटा गोरुहरूलाई लहरै बाँधेर धान डाइँ गर्दे थिए । घडीको सुईले गोल गोल चक्कर लगाए भैmं गोरुहरूको पछि लाग्दै धानको घान माथि घुम्दैं थिएँ । बाटोमा गाउँका केटाकेटी स्कूल जाँदै थिएँ । आमाले गहिरिएर मलाई हेर्नुभयो, सायद मलाई स्कूल पठाउन चाहनु हुन्थ्यो । त्यतिखेरको समाजले बनाइदिएको नयाँ पतिलाई आमाले हिम्मत गरेर आग्रह गर्नुभयो, “छरछिमेकका केटाकेटी स्कूल जान थालीसके, अब त उसको भाई सुरेन पनि स्कूल जाने भइ सक्यो, सँगसँगै विरेनलाई पनि स्कूल पठाउने हो कि ?”
समाजले बनाइ्दिएको मेरो बाबाले खाउँला जस्तै गरेर गर्जिनु भो ।
“यसलाई (विरेन) किन जानु प¥यो स्कूल ? … यो स्कूल गयो भने गोठाले चाहिँ यसको बाबा बन्छ ?”
“बाबा” भन्ने शब्द मेरो कलिलो मुटु छेडे जस्तो भयो । आँखाका ढकनीहरू रसाउँदै गए, रसाएको आँखाको पानी छलकिएर परालको घानमा मिसियो । गोरुका खुरहरूले परालललाई कुल्चिंदै आँखाबाट निस्केका मेरो आँसुलाई माटोमा मिसाए । सुँक्क–सुक्क गर्दै रोएको देखेर दिदीनजिक आउनु भो । मोहना नदी जस्ते बग्दै गरेको मेरो नाकको पानीलाई आफ्नो दुई औंलाले झट्कार्नु भयो “नरो भाई ! नरो !! म छुँ नि ।” भन्दै आँसु पुछिदिनु भयो । “भोलीदेखि गाइवस्तु हेर्न म जान्छु, तर भाईलाई स्कुल पठाउँछु ।” रिसाउँदै दिदी निस्किनु भयो । हुन पनि अघिल्लो बर्ष केहि दिन स्कूल देखेको म, घरमा गोठालो नहुँदा बीचैमा स्कूल सपना टुटेको थियो । त्यो बर्ष मैंले स्कुलमा पढेको लेखेको सपना तीनै गाईबस्तुको बगालमा मिसाएको थिएँ । साथीहरूसँग खेल्ने उफ्रिने रहरहरू, साना–साना बाच्छा बाच्छीहरूसँगै खेलेर, उफ्रेर बिताएको थिएँ । आफ्नै छोरा–छोरीहरूलाई स्कूल नपठाउने त्यतिखेरको समाजमा, अर्काका छोराछोरीले झन् कहाँ देख्न पाउाथे र ? तर म भाग्यमानी भएँ, आपूm गोठालो बनेर दिदीले मलाई शिक्षाको बाटो देखाउनु भयो । बलेको मैनबत्ती भैmं जल्नु भयो, प्रकाश मैले पाएँ, आपूm अँध्यारोमा हराउनु भयो । त्यसपछि म स्कूल जाने भएँ । यसरी भनी रहँदा मेरो गला भरेर आयो । एकोहोरो कथा सुन्दै गरेका बच्चाहरूको आँखा टिलपिलाएका थिए ।
सम्हालिंदै छोरीले भनिन्, “हामी भाग्यमानी छौं । हामीसँग बाबा हुनुहुन्छ । भगवानले सानैमा कसैको बाबालाई पनि नलगोस् ।”
कोठामा सन्नाटा छायो । झ्यालको पर्दाबाट बाहिर हेर्दा अन्धकार थियो । हामी तीनै जनाले लामो सास तान्यौं ।
“अर्को दिनदेखि स्कुल जानु भयो, बाबा ?” छोराले सन्नाटा भंग ग¥यो ।
अर्कोदिन देखि मेरो स्कुल शुरु भयो । स्कुल जानेदिन म निकै हौसिएको थिएँ । धातुको कालो सिलोट र चुनढुंगा जस्तै लेख्ने खरी मेरो झोलामा राख्दा ओल्ताई पल्टाई हेरेको थिएँ । स्कूल निकै पर थियो । पुरानो हसनपुर गाउँका हामीलाई स्कूल पुग्न अर्को गाउँ तारानगर सम्मको यात्रा गर्नु पथ्र्यो । हाम्रो गाउँबाट पढ्न जाने गोपाल, हितकुमार, जिउधन लगायतका विद्यार्थीहरूको भीडमा म पनि मिसिएँ । गिरानको छेउ छेउबाट सुक्टी नाला सम्म सीधा बाटो थियो । त्यसपछि तारानगर गाउँ जाने मोड घुमेपछि सानो काठे पुल तर्नु पथ्र्यो । त्यहि नालामा बनेको काठे पुलले हसनपुर र तारानगर छुट्याउँथ्यौं । हामी हिड्दा पनि त्यो कमजोर पुल थरथर काँप्थ्यो । तारानगर गाउँ केहि अगाडि हिडेपछि बायाँ तर्पm लामो घुम्तीको किनारमा थियो, मैले देखेको सपनाको स्कूल, मैलें पढ्ने स्कूल, मैले खेल्ने स्कूल । “भनेपछि बाबा, स्कुल पुग्नु भयो ।” छोरोले बीचमै कुरा काट्यौ ।
म भन्दै गएँ – पहिलो दिन स्कूल पुग्दा मैले के पढें थाहा छैन, ठूलो सालको रुखको फेदमा गोलो घेरा हालेर बसेको भने झल्झली याद छ । मेरो कक्षामा जति विद्यार्थी थियौं, त्यो भन्दा धेरै चौरमा असना, साल, जामुन र कर्मा जातका ठूलठूला रुखहरू थिए । ती रुखहरू हामी पढ्दा थिङ्ग उभिएर हेरेको जस्तो लाग्थ्यो । सोचेको थिएँ – स्कुलमा म मात्रै झुत्रे हुँला, स्कूलको वातावरण भने फरक थियो । म जस्तै झुत्रे विद्यार्थीहरूको बगाल पो रै छ । कपाल नकोरेका, कपाल लत्ता परेका, ठाउँठाउँमा लुगा टालिएका, किताब बोक्ने झोला पनि सिमेन्टका बोराले बनाएका, खुट्टामा लगाएका चप्पलहरू कुनै पनि सद्दे नभएका, कुनै ताना तुतेका, डोरीले तानाबाँधेका, एउटा खुट्टामा एउटा रंग, अर्को खुट्टामा अर्को रङ्गका चप्पल लाएका । यसो हेर्दा किनेको होइन कि फोहोरको थुप्रोबाट टिपेर ल्याएको जस्तो । नाक नबहनेको भन्दा नाक बहनेको संख्या धेरै भएका कसैकसैका नाक त बहँदा बहँदै लेउ लागेका हरिया किनारा जस्तै । त्यसपछि म जस्तै हालत भएका विद्यार्थीहरू माझ बस्न मलाई कुनै अप्ठेरो भएन । स्कूलको दक्षिण किनारमा धुँवाको मुस्लो आकाशमा मिसिंदै थियो । तीन चार जना मान्छेहरू ठूलो कालो कराही जो वरिपरि काम गरे जस्तो लाग्थ्यो । खुल्ला चौरको चिसो भुँइमा बसेका हामी विद्यार्थीहरूको ध्यान भने त्यहि कराही तिर थियो ।
छोरो जिस्किद,ै “तारे जमीन पर” को इसान जस्तै तपाईको ध्यान पनि क्लासमा हुन्थेन होला है बाबा ।”
“इसान के बच्चे” भन्दै कथा अगाडी बढाएँ । पहिलो, दोस्रो, तेस्रो हुँदै टिफीनको टिनटिनको घण्टी बज्यो । विद्यार्थीहरू तँछाड मछाड गर्दै भाँन्सातिर दगुरे, त्यहि भीडले हुट्याएर मलाई पनि हलुवा पाइने लाइनमा पु¥यायो । शिशु कक्षादेखि ५ कक्षा समम्का विद्यार्थीहरू दुई लाइनमा बस्दा रेलको डिब्बा जस्तो लामो लाइन भयो । ठेलमठेल गर्दै हलुवा थाप्ने पालो आयो । पुराना कागजहरूलाई दुई हातमा पैmलाएँ । स्टीलको कपले हलुवाको थुप्रोबाट हलुवा झिक्दै एउटा बलियो मान्छेले मेरो पानाभरि हलुवाको डल्ला खन्यायो । भीडबाट निस्केर रुखमा ओत लाउँदै हलुवा खाएँ ।
“स्कूलले पो खाजा दिंदो रहेछ ।” छोरो फुस्फुसायो ।
टिफिनपछिको घण्टीहरूमा कति खेर छुट्टी होला भनेर मनमा खेलिरह्यो । स्कूल छुट्टिपछि घर फर्किंदा गिरानमा दिदी गाईहरू हेर्दै मलाई कुर्दै हुनुहुन्थ्यो । विद्यार्थीहरूको भीडमा परैबाट मलाई चिन्नुभयो । म दिदी नजिक गएँ । निकै कौतुहलताका साथ सोध्नु भयो ।
“स्कूलमा के के पढ्यो भाई ?” झोलाबाट कागजको पोका निकाल्दै हाँसेर भने “स्कूलमा हलुवा खाएँ ।” कागजको पोका दिदै भने “थोरै दिदीको लागि पनि ।”
खुशी हुँदै दिदी पोका खोलिन् र क्वाप एक गाँस मुखमा हालिन् । मिठो लागेछ दिदीलाई “भोली पनि ल्याइदेउ है, तिम्रो स्कूलको हलुवा ।” भन्दै गाईको बगाल तिर लागिन् ।
“हुन्छ”। भन्दै म भने घरतिर दगुरें ।
त्यो हलुवाको स्वाद मेरो घरका अन्य सदस्यहरूलाई पनि मन प¥यो । छिमेकी साथीहरूको पनि उस्तै कथा । उनीहरूको घरमा पनि सित्तैमा पाइने हलुवाको बखान । त्यसपछि दोस्रो दिनबाट हामी भन्दा साना भाई बहिनीहरूको अर्को बथान हामीसँग स्कूल जान थाले, केवल हलुवा खान पाइने आशाले । यसरी हलुवाले विद्यार्थीहरूलाई दिनप्रतिदिन स्कुला तान्न थाल्यो । यसको प्रभाव यति सारो प¥यो कि हसनपुर गाउँका धेरैजसो थारु विद्यार्थीहरू आफ्नै आँगनको पञ्चोदय र ऐश्वर्य स्कूल नपढेर हलुवाको स्वाद लिन दोस्रो गाउँ तारानगरसम्म हिड्थे । कक्षामा नब्बे प्रतिशतभन्दा बेसी थारु समुदायका विद्यार्थी हुन्थे बाँकी विपन्न वर्गकै हुन्थे । हरियो हाफपाइन्ट र सेतो सर्त लगाएको विद्यार्थी देख्दा अरु स्कूलमा पढ्नेले “ हलुवा स्कूल, हलुवा स्कूल” भनेर गिज्याउँथे । मेरो स्कूललाई हेंला गरेको देख्दा नरमाइलो लाग्थ्यो । हलुवा स्कूल भनेर गिज्याउने तिनै बच्चाहरू हामीले खाने हलुवाको स्वाद कल्पना गर्थे । कोही कोही बाटोमा ढुकेर मलाई पनि देन हलुवा भन्थे । कोही कोही टिफिनको समयमा अरुले नचिन्ने गरी हलुवा लिने लाइनमा बस्थे । अनि मनले गिज्याउने त्यहि हलुवालाई मुखले मिठो मानी मानी खान्थे ।
जेठ महिनाको प्रचण्ड पोल्ने गर्मी होस् या पौष माघ महिनाको कठ्याङ्ग्रिने जाडो, मेरो कक्षाकोठा सधैं त्यहि सालको रुख मुनि हु्न्थ्यो । परबाट हेर्दा गौतम बुद्धले आफ्ना चेलाहरूलाई जंगलको बीचमा उपदेश दिए जस्तो । तीनकोठे पक्की भवन बाहेक भर्खरै टायल छाउँदै गरेका छाप्राहरू रामायण कथामा बस्ने ऋषिहरूको कुटि जस्तो । पढ्दापढ्दै एक दिन अकस्मात हुरीसँगै पानी दर्किन थाल्यो । सबै विद्यार्थीहरू आ आफ्नो झोला घिसार्दै पक्की स्कुलतिर ओत लाग्न थाले । उर्लेको भेल भैmं आएका ती विद्यार्थीहरू सानो बरन्डामा कहाँ अट्थे र । भएका दुइटा कोठामा पानीको भल पसे भैmं भित्र पस्न थाले । त्यो कोठामा बस्ने ठूला विद्यार्थीहरू ढोका थुन्न लागे । पानीले निथु्रक्क भिजेको शरीर लुग लुग गर्दे मैले साथीलाई भने,
“हामी पक्की कक्षाकोठामा कहिले बस्न पाउँछौं ?”
काम्दै उसले भन्यो “चार कक्षा पुगेपछि ।”
त्यहि दिनदेखि कक्षा ४ चाँडै पुग्ने सपना देख्न थाले । त्यो सपना पूरा हुन पुरै तीन बर्ष लाग्यो ।
“अनि तीन बर्ष कसरी बिताउनु भो? छोरीले कथा अगाडी बढाउन भनीन् । ”
साँझ बिहान घरमा कामको चाङहरूले बाँधेर राख्थे । दिउँसो दिनभरि स्कुलकै मायाले बाँधी राख्थ्यो । बिहानै जुवामा गोरु ना¥यो, खेतमा गयो, आपूmभन्दा अग्लो हलो सकि नसकि थाम्नु पथ्र्यो । ड्रोइङ पेपरमा रंगीन रङहरूले चित्र कोर्ने उमेरमा मैले हल गोरुले घिर्सादै गरेको हलोले माटो चिर्दै खेतका गराहरूमा चित्रहरू कोर्थे । मैंले बनाएका चित्रहरू केवल म मात्रै बुझ्थें । मैले जोत्ने हलोको फलामे फाल, सीसा कलमका तीखा टुप्पा भन्दा कयौं गुणा तीखा र धारिला हुन्थे । माटो पल्टाउँदै धर्सा कोर्ने फाल कहिले उछिटिएर गोरुका खुट्टामा लाग्न पुग्थे, कहिले आफ्नै खुट्टालाई पनि छुन्थ्यो । छुरा भैmं धारले त्यत्रो ज्यान भएको गोरुको खुर त काटिन्थ्यो भने मेरो कमलो पैताला कहाँ बच्न सक्थ्यो र ?चित्रमा रातो रङ भरे जस्तै काटिएका खुट्टाबाट निस्कने राता रगतले मैले कोरेका चित्रहरू रङ्न्थ्यिो । कसैले नदेख्नेगरी आँखाबाट निस्केका पानीले गाढा रातो रङलाई फिक्का रङमा बदले भैm पनिलो बनाउँथ्यो । पेन्सील कलर, मैन कलर र पानीकलरको ठाउँमा कोदालो, हँसिया, हलो जुवा, दाँते, पटेला जस्ता अनेकौं औजारहरू चलाएँ । मौसम अनुसार मेरा लागि चित्र कोर्ने खेतका गराहरू पनि रङ्गिन हुन्थे, र रङ्गिन कागजका पानाहरू जस्तै । बर्षामा खेता हरिया पानाहरूलाई कोरेर पहिले कालो बनाउँथे, पानीले भिजेर कमलो भएको माटो मेरा लागि नरम मैन कलरहरू जस्तै लाग्थे । रोपाइको समयमा प्रयोग गरिने दाँते र सम्याउने ‘पटेला’ पानीमा चलाउँदा वाटर पेन्ट ब्रस जस्तै सललल बग्थे । मैले बनाएको हिले कागजको चित्रमा दिदीहरूले हरिया धानका बीउ छुपु–छुपु रोपी रङहरू भर्थे ।
घरमा यस्तै यस्तै मौसमी चित्र कोर्दे हतार हतारमा स्कुल जान्थे । कामको चापले उम्किन नदिदा कुनै दिन भोकै स्कूल जान्थे । जब स्कूलको समय हुन्थ्यो, सारा दुःख कष्टहरू बिर्सिन्थे । घरको आँगनदेखि स्कुलको आँगनबीचको बाटोमा आफ्ना खुशी र चाहनाहरू बटुल्दै हिंड्थे । उमेरले म भन्दा केहि बर्ष जेठो गोपाल मामा हाम्रो बगालको अगुवा हुनुहुन्थ्यो । तिनकै पछि पछि म पनि फोहोरका थुप्राहरू कोटल्दै स्कुल हिड्थे । झोलामा भेटिएका शीशी, बोतलहरू कोच्दा झोलाको आकार बढेर जान्थ्यो । स्कुल पुग्दा किताब कापीको तालभन्दा फोहोरबाट टिपेका मेरा सामानहरूको बजन बढी हुन्थ्यो ।
बीचमा छोरीले प्रसंग उठाइन्, “बाबाको कुरा सुन्दा मलाई बागमती किनारको फोहोर टिप्ने सडक बालबालिकाको याद आयो । साँच्चै उनीहरूको जीउ भन्दा बोरा ठूलो हुन्छ । तपाई पनि उस्तै उस्तै हुनुहुन्थ्यो की ?”
हाँस्दै मैले थपे “ओस्कार अवार्ड जितेको फिल्म स्लमडग मिलिनियरको स्लय ब्वाई जमाल मलिक जस्तै ।”
एकोहोरिएर कथा सुन्दै गरेको छोराले जिज्ञासा राख्यो, “जमालले जस्तै– दर्शन दो, घन श्याम … भजन तपाईलाई नि गाउन लाउँथे ?”
मुसुक्क हाँस्दै भने, – “भजन होइन, भैलो भट्याउन लगाउँथे । ठूलो गोठालेहरूले ।”
छोरा– “कसरी ?”
अलि ठूलो स्वरमा भैलो गाएँ । “हे औसी बार, भैसी तिहार ।”
दुवै बच्चाहरू गललल हाँसे।
छोरो जिस्किन थाल्यो “भैंसी तिहार ।”
हामी तीनै जना एउटै स्वरमा फेरि हाँस्यौं । निन्द्राले बन्द हुँदै गरेका बच्चाहरूको आँखाको ढकनी फेरि खुले ।
मैले भने – “हामी अहिले जसरी हास्यौं, मलाई भैलो गाउन लगाउनेहरू त्यो भन्दा बेसी हाँस्थे । त्यसपछि झन ठूलो स्वरमा भन्न लाउँथे । मैले पनि स्वरयन्त्र हल्लिने गरी गाउँथे । “भैसी तिहार” भन्दै उनीहरू पेट मिचिमिचि हाँस्थे । खुसी हुँदै एकातिर गाई र अर्कोतिर त्रिशुल भएको पाँच पैसाको सिक्का टत्र्mयायाउँथे । उनीहरूको हाँसोमा दिइएको पाँच पाँच पैसा, मैले मेरो खुशीको थैलो मोजाभित्र पोका पार्थे । अनि त्यो पैसाले चङ्गा र धागो किन्थे । एक साँझ दिदि र म टौवामा पराल राख्दै थियौं । थाकेको ज्यानलाई आराम दिन टौवाको परालमै लम्पसार थियेों । आकाशमा आधा जुन लागेको थियो । ताराहरू मधुरो हुँदै चम्किदैं थिए ।
“हाम्रो बाबा भएको भए हामीले यति धेरै काम गर्नुपर्ने थिएन ।” दिदिले थाकेको स्वरमा भन्नुभयो ।
“हाम्रो बुबा कहाँ हुनुहुन्छ होला । अहिले ?” मैलेभने ।
आकाशको तारा देखाउँदै दिदिले भनिन् “चन्द्रमाको नजिक त्यो पिल पिल बल्दै गरेको तारा छ नि, हो त्यहि तारा बन्नु भयो रे हाम्रो बाबा ।”
दिदीको स्वर अड्के भैmं भयो । दिदिले त्यो तारा चिनाएको दिनदेखि मलाई चङ्गा बनेर उड्न मन लाग्थ्यो । चङ्गा जस्तै माथि अझ माथि हुँदै तारा रूपी बाबाको काखमा बस्न मन लाग्थ्यो । छातीमा चन्द्रमा बनाएको चङ्गा मलाई मन पथ्र्यो।मसँग भएको सबै धागो जोडेर उडाउँदा पनि त्यो चङ्गा, तारासम्म कहिल्यैपुग्न सकेन ।
मेरो आँखा फेरि रसाए, कोल्टे फेर्ने बहानामा बच्चाहरूले नदेख्ने गरी आँखा मिचें । एकछिन फेरी कोठा सुनसान भयो ।
छोराले प्रसँग बदल्दै “मेरो स्कूलको जस्तो चिप्लेटी र पिङ थिएन, त्यो स्कूलमा ?”
आपूmलाई सम्हालिंदै अगाडी शुरु गरें – तिमीहरूको स्कूल जस्तो चिप्लेटी र पिङ थिएन मेरो स्कूलमा, तैेपनि डे«स फाटुन्जेल चिप्लेटी खेलें । अहिलेको स्कूलले बच्चाहरूलाई आउटिङमा लगेर भक्तपुरको वाटर किंगडम र चोभारको हुप्पील्याण्डमा स्वीमीङ नगराए पनि, त्यो भन्दा बढी स्वीमीङ मैले गरे जस्तो लाग्छ ।
“कहाँ खेल्नु भयो, स्वीमीङ ?” छोरीले जान्न खोजिन् ।
त्यसपछि म स्वीमीङमा हराउन थालें –स्कूलको उत्तरपश्चिम बाक्लो जामुनका झाडीले ढाकेको थियो । विद्यार्थीहरूलाई दिसा, पिसाब लाग्दा, टाउको लुकाउने झाडी। सर्ट ट्वाइलेट लाग्दा नजिकैको झाडी। लङ्ग ट्वाइलेट लाग्दा खोला भएको झाडी । अलि ठूला विद्यार्थीहरू र मिस मेडमहरू बाक्लो झाडीतिर पस्नु हुन्थ्यो । स्कूलको चौरसँगै जोडिएको कैलाली खोलाले उत्तर बेहडी र तारानगर गाउँलाई छुट्याएको थियो । उत्तरबाट बाङ्गिदै बाँङ्गिदै स्कुलको चौरतिर बाँया मोडिएको थियो । त्यहि खोलाको मोड हाम्रा लागि स्वीमिङ पुल थियो । बर्खाको समयमा तर्न नसकिने खोलाको पानी, बैशाख, जेठ महिनामा मेरो काँध काँध सम्म आइपुग्थ्यो । कुनै कुनै ठाउँ भने आफ्नो पूरा उचाई नाप्न मिल्ने गहिरो पनि थियो । अलि ठूलो भएपछि स्कूले झोलामा मोजाका बल अनि भित्र लगाउने कट्टुले पनि ठाउँ पाउन थाले । गर्मी समयमा स्कूल पछाडीको सरस्वती मन्दिरमा सधैं सित्तैमा पाइने हलुवा खाजा खाएर स्वीमीङ शुरु हुन्थ्यो । पौडि खेल्दा यसरी डुब्थ्यौं कि पाँचौं घण्टी लागेको आवाज हाम्रो कानले थाहा पाउँदैनथ्यो र प्राय ढिला पुग्थ्येों । एकदिन कक्षामा केटीहरू बाहेक आधा कक्षा खाली थियो । हतार हतारमा खोलामा नुहाएको कट्टु निचोर्दै कक्षामा पुग्दा नुहाउने केटाहरू उभिएका थिए । मलाई सबैभन्दा धेरै माया गर्ने प्रेमा मिसले वाँसको लठ्ठी लिएर उभिनु भएको थियो ।
“अब देखि फेरी खोलामा नुहाउने ?” भन्दै पालैपालो दुवैहातमा लठ्ठी बर्साउन सुरु गर्नुभो । साथीहरू सुम्ला उठ्ने गरी पिटिएको हात झत्कार्दै “नुहाउँदैन मिस” भन्दै क्लासमा बस्दा केटीहरू भने खुचिङ भन्दै आँखाले जिस्काइरहेका हुन्थे ।
अन्तिममा पिटाई खाने पालो मेरो – “हुँदा हुँदा तँ पनि नुहाउने भइस ।” भन्दै दुवै हातमा दण्डको प्रसाद थमाउनु भयो । केही नबोली अँध्यारो मुख लाएर कक्षामा बसें । अरु साथीहरूलाई पिट्दा खुचिङ गर्ने सोनी, द्रोपती, शारदा, ज्ञानी लगायतका केटीहरू मैले पिटाई खाँदा दया लागेको जस्तो आभास पाएँ ।
“त्यसपछि त्यो खोलामा कहिल्यै नुहाउनु भएन होला है बाबा ?” मेरो एकनाशको बाचनलाई छोराले भङ्ग ग¥यो ।
हाँस्दै मैले भने – “खोलामा पो नुहाउन छाडियो । त्यसपछि हामी नदीमा नुहाउने भयौं । रक्सी फ्याक्ट्रीको फोहोर मिसिएर रातो पानी बग्ने खोलालाई विदाई ग¥यौं । स्कूल छुट्टि पछि उत्तर बेहडी, चटकपुर हुँदै मोहना नदीको सफा पानीमा पौडी शुरु ग¥यौं ।”
हाँस्दै छोरी – “अनि त्यो चिप्लेटी चाँहि कहाँ खेल्नु भयो नि ?”
मैले विस्तारै साउती मार्दै भने,“युवराज दीपेन्द्रको बगैंचामा ।”
“होइन होला”। छोरीले जिद्दी गरिन् ।
त्यसपछि म चिप्लेटीमा चिप्लिन शुरु गरें । त्यतिखेर हरेक वर्ष पौष १४ गते विद्यार्थीहरूलाई दुई लाइनमा लगाउादै धनगढी बजार घुमाउँथे । हाम्रो स्कुल मात्र होईन, धनगढी भरिका विद्यार्थीहरू आफ्नो आफ्नो स्कुलको झण्डा पछाडी हिड्दै नारा लगाउँथे,
“हाम्रो राजा हाम्रो देश ! प्राण भन्दा प्यारो छ !!”
“श्री ५ वडा महाराजाधिराज वीरेन्द्र ! अमर रहुन् !!
श्री ५ वडा महारानी ऐश्वर्य ! अमर रहुन् !!
श्री ५ युवराज धिराज दीपेन्द्र ! अमर रहुन् !!”
यस्तै यस्तै नारा लगाउँदै खुला मञ्चमा जम्मा हुन्थ्यौं। पछि गएर थाहा भो, राजाको जन्म दिन रहेछ । गोठालो जाँदा खजुरी चोरेर खाने पार्कको नाम पनि राजा र रानीको नामबाट वीरेन्द्र–ऐश्वर्य उद्यान पो रहेछ । त्यहि पार्कको उत्तर पश्चिममा नयाँ पार्क भर्खरै बनेको थियो । स्कूल जाँदा सुक्टी नाला नपुग्दै मोडमा बनाइएको पार्क बाहिरबाट हेर्दा बच्चाहरूको खेल्ने ठाउँ जस्तो लाग्थ्यो । गोलाकार पोखरीको बीचमा ठूलो स्तम्भ थियो । पहिलो पटक डराई डराई भित्र छिरेका हामीमध्ये गोपालले मार्बलमा लेखिएको ठूला अक्षरहर पढ्यो,
“श्री ५ युवराज धिराज दिपेन्द्र बाल उद्यान” ।
एकातिर पिङहरू थिए भने अर्कोतिर सिमेन्टले ढलान गरिएको चिप्लेटी थियो । हाम्रो नजरमा त्यहि चिप्लेटी मै गयो । कसैले खेल्न नदेलाकि भनेर बिरालोको चालमा सिढिं उक्ल्यौं । त्यसपछि माथिबाट ब्रेक फेल भएको गाडी जस्तै चिप्लन शुरु ग¥यौं । वरपरका मान्छेहरूले केहि नभनेपछि हाम्रो आत्म विश्वास बढ्यो र निर्धक्कसँग चिप्लेटीको रफ्तार बढाउँदै लग्यौं । बाल उद्यान पर्खालले घेरेको भए पनि मुल गेट भने सबैका लागि खुल्ला थियो । अनि त के चाहियो हामीलाई, स्कूल जाँदा होस या फर्किदा, चिप्लेटी नखेलेको दिन त खाएको हलुवा पनि नपच्ने भयो । दशैंमा नयाँ कपडाको रूपमा पोलिष्टरको हरियो हाफपाइन्ट र पोलिष्टरकै सेतो कमीज पाउँथे । नयाँ लुगा पनि हुने, स्कुललाई डे«सपनि हुने । घरका मान्छेलाई पनि धेरै लुगा किन्ने झन्झट मुक्त । नयाँ सिलाइएका हाफ पाइन्ट भने मेरो आङमा दुई महिनाभन्दा बढी नटिक्ने । डिस्कभरी च्यानलमा देखाइने गोरिल्लाको के जस्तो मेरो हाफ पाइन्टको पछाडीपट्टि पनि दुइटा प्वाल पर्थे । त्यहि प्वालमा टालो हाल्दै आमाले हकार्नु भयो,
“यो केटा हिँडेर स्कुल जान्छ कि घिस्रिएर हँ ? एक दिनमै यस्तो बलियो टालो उप्काउँछ ?” म भने हाँस्दै कोठा भित्र भाग्थे । आज आमा हुनु भएको भए म भन्ने थिए,
“स्कुल त हिँडेरै जान्थे नि आमा । घिस्रिने त उहि चिप्लेटी मै हो ।”
रात छिप्पिदैं गएको थियो । हाई काढ्दै छोरोले आफ्नो होमवर्क सुनायो,
“साइन्स सरले प्रोजेक्ट वर्क दिनु भा छ । आफ्नो बारीमा भएको ग्रीन भेजिटेबल कलेक्सन गर्नु पर्ने रे । हजूरको स्कुलमा पनि यस्तो होमवर्क हुन्थ्यो बाबा ?”
“यस्तो प्रोजेक्ट वर्क थिएन तर क्लासवर्क भने थियो ।”मैले थपे,“अहिलेको मन्टेश्वरी स्कूल जस्तो थिएन मेरो स्कूल । तै पनि हामीले प्रोजेक्ट वर्क जस्तै काम ग¥यौं ।”
छोरा – “कसरी”?
मैले भने – “करेसाबारी रोपेर” ।
त्यसपछि म करेसाबारीमा हराउन पुगे । तिमीहरूले घरबाट कलेक्सन गर्ने हरिया सागपातहरू हामीले स्कूलमा उमा¥यौं । तिमीहरुले प्रोजेक्टरको पर्दामा विरुवा उम्रेको हे¥यो, हामीले करेसाबारीमा पानी र मल हाल्दै विरुवा बढेको हे¥यों । तिम्रो प्रोजेक्ट वर्क आफ्नो लागि मात्र हुन्थ्यो, हाम्रो प्रोजेक्ट वर्क स्कूलका सबै विद्यार्थीका लागि हुन्थ्यो । त्यतिखेर म कक्षा चारमा पढ्ने भएँको थिएँ। राष्ट्रिय गान गाउन उभिएका विद्यार्थीहरूलाई हेड सरले सबैले सुन्ने गरी भन्नुभयो ।
“हाम्रो स्कूलमा हामी करेसाबारी बनाउन जाँदै छौं । भोली स्कुल आउँदा सबैजना भाईबहिनीहरूले गोबर मल बोकेर ल्याउने । अबदेखि कक्षा चार र पाँचका विद्यार्थीहरूको अन्तिम पिरियडको विषय नै करेसाबारी, बुझ्यौ ?” सबै जना बुझे जसरी टाउको हल्लाए ।
दोस्रो दिन स्कूलको दक्षिणतिर भएको मलिलो चौरमा करेसाबारकिो नक्सा तयार भयो । प्रेमा मिस, हेमन्त मेडम र रेखा मेडमहरूले दुइटा ठूलठूला अलग अलग करेसाबारीको डिजाइन गर्नु भयो । एउटा कक्षा चारको करेसाबारी, अर्को कक्षा पाँचको करेसावारी । उसै त जंगलको पतकर कालो माटो, घरबाट बोकेर ल्याएको गोबर मल थपिदा, बारीमा जे रोपे नि हलक्क उम्रिन्थ्यो । एक देखि छ घण्टीसम्म किताबकै पाठ पढ्दा वाक्क बनेका हामीलाई करेसाबारी खुब मन प¥यो । माटो खन्ने, कुलो बनाउने, मल मिलाउने जस्ता काम केटाहरूले गरे भने बीउ रोप्ने, पानी सिंचाई गर्ने जस्ता कामहरू केटीहरू । अनि मिसमेडमहरूले चाहिँ कुन बेला के तरकारी रोप्ने, कसरी रोप्ने भनेर सिकाउने काम । हेर्दा हेर्दै हामीले बनाएको करेसाबारी सुन्दर बगैंचाजस्तो देखिन थाल्यो । त्यसपछि मौसम अनुसार स्कुलको करेसाबारीमा हरिया तरकारी, गाजर, सलगम, मुला, केराउ, पालुङ्गो, आलु, टमाटर, सौंफको साग जस्ता केहि न केही तरकारी उम्र्रेकै हुन्थ्यो । त्यसपछि चनाको पिठोलाई बनस्पति ध्यूमा चीनी राखि पकाएको हलुवाको साथै खाजामा नयाँ परिकार थपिने भयो । हप्ताको एकपटक भए पनि करेसाबारीमा फलेका उत्पादनबाट मिस मेडमहरूले केही न केही नयाँ परिकारको परिकारको स्वाद चखाउनु हुन्थ्यो, त्यो पनि स्कूल भरिका विद्यार्थीहरूलाई । त्यतिखेर स्कुलमा खाएको अरु पकिारहरूको स्वाद मेरो जिब्रोले विस्तारै भुले पनि जाडो समयमा सौंफको हरियो सागलाई पिठोमा घोलेर बनाइएको सूप चाहिँ कहिल्यै भुल्न सक्दैन ।
“त्यस्तो मिठो लाग्ने रैंछ सौंफको साग,त्यहि भएर बजारमा खोजी खोजी किन्नु हुने रहेछ ।” छोरीले थपिन् ।
हाँस्दै भने “तिम्रो मम्मीलाई सौफको साग त गनाउँछ नि । आपैm उम्रेका सौंफका सागहरू हाम्रो बारीमा बाँच्न पनि पाउँदैनन ।” बाबाकै लागि भनेर भोलिबाट रोप्छौं, भन्दै छोरीले कथा अगाडी बढाउन भनिन् ।
छोरा निदाउनै लागि सकेको थियो ।त्यसैले कथा छोट्याउन थाले । कक्षा ५ का विद्यार्थी भने पछि स्कूलको हर्ताकर्ता, पढाईको साथै अन्य काममा पनि सहयोग गर्नु पथ्र्यो स्कूललाई । सरस्वती पूजाको तयारीको लागि अघिल्लो दिन देखि नै केराको खाँबाको गेट तयार गर्ने, पिपल र आँपको पातले ती खम्बाहरू बार्ने, लामा धागोहरूमा पिठोको गुँड (गम) बनाएर कागजका रंगिन पटाकाहरू गाँस्ने, सरस्वतीको पुजा घर बनाउन सहयोग गर्ने देखि राती स्कुलमै बसेर प्रसादको रूपमा बुन्दीया पकाउन सहयोग गर्ने अभिारा ठूला भनिएका विद्यार्थीहरूले गर्नु पथ्र्यो । पूजाको दिन छुट्टै रौनक हुन्थ्यो । वर्ष भरिमा त्यो यस्तो दिन थियो जुन दिन हामी आउट डे«समा रंगीचंगी भएर आउँथ्यो । आपूmसँग भएको राम्रो लुगा देखाउने दिन पनि त्यही हो जस्तो लाग्थ्यो । पूजाको ध्यान भन्दा साथीहरूले लगाएका लुगाहरूप्रति ध्यान हुन्थ्यो । सरस्वती पूजाको भोलीपल्ट पनि रमाइलो हुनथ्यो । पूजाकै लािग भनेर जोर जाम गरेका सबै ताम झामहरू काँधमा बोकेर त्यहि कैलाली नालामा जान्थ्यौं। सरस्वती माता की जय ! भन्दै आपूmले बोकेका सामग्रीहरू पानीमा विर्सजन गथ्र्याें । विद्यार्थीहरू पानी देख्नै नहुने, सरस्वती पूजा सेलाउने नाउँमा आपसमा पानी छ्यापेर होली पनि सुरुवात गर्थे । यसरी रमाउँदै गर्दाँ जिल्ला स्तरिय परीक्षा पनि आइसकेको थियो । परीक्षा पनि भयो । परीक्षा सकेको केही महिना पछि रिजल्ट आयो । मार्कसित लिन म पनि गएँ । मेडम मिसहरू मार्कसिटका चाङहरू टेबलमा राखेर चौरमा बसिरहनु भएको थियो । कोही साथीहरू खुशी हुँदै चौरमा कुदिरहेका थिए भने कोही घोसमुन्टे लाएर लुकिरहेका थिए । परैबाट प्रेमा मिसले मलाई बोलाउनु भयो । टेबल नजिक पुगें । मार्कसिटको चाङबाट मेरो मार्कसिट दिद,ै “स्यावास, विरेन्द्र बाबु ! फेरि पनि प्रथम भयौं । नम्बर पनि सबैमा राम्रो छ ।” काँपेको हातले मैले आफ्नो मार्कसिट लिएँ । मिसले फेरि भन्नुभयो ् “यसैगरी मिहिनेत गरेर पढ्नु, धेरै पढेर राम्रा् मान्छे बन्नु । ” “हवस्” भन्दै अगाडी बढ्न खोजे ।
“आपूmले पढेका स्कुललाई कहिल्यै नविर्सिनु । आपूmलाई पढाउने गुरुआमाहरूलाई सधैं सम्झिनु है बाबु ।” पर छेउमा बस्ने रेखा मेडमले मलाई सम्झाउनु भयो । वहाँहरूले यसरी भनिरहँदा छातीमा भक्कानो छुट्ला जस्तो भयो । मानौं गुरुआमा मात्र होइन, जन्मदिने आफ्नै आमासँग छुट्टिएको जस्तो लाग्यो । अलि पर पुग्दा हेमन्त मेडमले अरु मेडमहरूसँग काने खुसी गरेको यसरी सुन,े “बोर्डिङ पढ्ने मेरो छोरीले पनि त्यति नम्बर ल्याउन सकिनन् जति विरेन्द्र बाबुको थियो । सधैं गम्भीर र भावुक देखिने उसको अनुहारले केहि भन्न खोजेको जस्तो लाग्छ । उसको गम्भीरतामा केही कथा लुकेको जस्तो भान हुन्छ ।”
शिक्षकहरूको माझबाट निस्केर हलुवा पकाउने भान्सातिर टोलाएँ । आपूmले रोपेको करेसाबारीमा पाइला टेकें । स्कूलको पश्चिममा रहेको एक्लो सरस्वती मन्दिरमा प्रवेश गरें, एक्लै बसेकी सरस्वती माताको दर्शन गर्दै जामुनका झाडी हुँदै हामीले नुहाउने खोलामा पुगें । तल खोला पुगेर अँजुली भरी पानी राखे । मेरो हातको स्पर्शलाई खोलाको पानीले साथ छोडे जस्तो लाग्यो । फेरि माथि उक्लेर चौरमा आएँ । सानो हुँदा सधैं बस्ने त्यो सालको रुखमुनि एकछिन घोरिएँ । टिफिनको समयमा टिपेर खाने जामुन र कुसुमका रुखहरूलाई नियालें । ती रुखका पातहरू हल्लिदैं मलाई विदाईको हात हल्लाए भैmं लाग्यो । भित्ता उप्केको मेरो स्कूललाई हेरें । त्यहि भित्तामा खिया लागेको साइनबोर्ड झुन्डिएको थियो । नीलो साइन बोर्डमा मेटिनै लागेका सेता अक्षरहरूमा मेरा आँखा पुगे । ती अक्षरहरूलाई मैले भित्री मनले पढें, “श्री राष्ट्रिय प्राथमिक विद्यालय, तारानगर, धनगढी कैलाली।” त्यसपछि मूल बाटोमा पुगेर एकपटक फर्केर मेरो स्कूललाई हेरे । अनि भविष्यको खोजीमा टाढा टाढा हुँदै गएँ ।
“आभारी छु कृष्णी दिदीप्रति जसले मलाई स्कुलको बाटो देखाउनु भयो, भाईटिकाको दिनमा मैले दिने खामे दक्षिणाले दिदीले लगाउनु भएको ऋण कहाँ तिर्न सकिएला ।दुःखी पनि छु, स्कुलबाट फर्किदा दिदीलाई हलुवा त दिन सकें तर मैले पढेको अक्षर दिन सकिन । अझ दुःखी छु, मेरो पहिलो लेखलाई दिदी आपैmले उच्चारण गरी पढ्न नपाएकोमा र भाई भन्ने दुई अक्षर आफ्नै कलमले लेखेर सुम्सुम्याउन नपाएकोमा।”