प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा दाङ जिल्लाको वृत्र चित्र

पश्चिम नेपालको उदाउदो अर्थतन्त्रको रुपमा विकसित हुदैं गरेको क्षेत्र नंं ५ को प्रादेशिक राजधानीको प्रचुर सम्भावना बोकेको जिल्ला दाङ हो । दाङ उपत्यका भित्र रहेका घोराही उपमहानरपालिका तथा तुलसीपुर उपमहानगरपालिका यस जिल्लाको मुख्य आर्थिक एवं राजनैतिक रुपमा चहलपहल हुने स्थान हो । धरातलिय आकृतिका हिसावले महाभारत पर्वत श्रृंखला, चुरे पहाड, भित्रि मधेश र दक्षिणी समथर भुभाग गरि चार भागमा विभाजित यस जिल्लाको पुर्व पश्चिम लम्बाई ९० किलो मिटर र उत्तर दक्षिण चौडाई ७० किलो मिटर रहेको छ । यस जिल्लाको पुर्वमा प्युँठान, अर्घाखाची र कपिलवस्तु जिल्ला पर्दछन भने पश्चिममा सुर्खेत र बाँके, उत्तरमा सल्यान र रोल्पा तथा दक्षिणमा मित्र राष्ट्र भारतको उत्तर प्रदेश राज्यको बलरामपुर र श्रीसोती जिल्ला पर्दछ । दाङ उपत्यकामा पहाडी समुदायको बाहुल्यता रहेको छ भने देउखुरी ईलाकामा थारु जातीको बाहुल्यता छ । यस जिल्लामा स्थानीय तहको निर्वाचनमा घोराही उ.म.न.पा., तुलसीपुर उ.म.न.पा., लमही न.पा., बंगलाचुली गा.पा., राप्ती गा.पा., राजपुर गा.पा., गढवा गा.पा., दंगीशरण गा.पा., शान्तिनगर गा.पा. र बबई गा.पा. पर्दछन् । यस जिल्लाको क्षेत्रफल २९५५ वर्ग कि.मि. रहेको छ । यस जिल्लाको सवै भन्दा अग्लो भाग बङलाचुली गा.पा.को अर्खले २०५८ मिटर र होचो भाग राप्ती नदि किनारा २१३ मिटर रहेको छ । मुख्य सडकहरु महेन्द्र राजमार्ग अन्र्तगत धान खोला मिलीया पक्की सडक खण्ड ७७ कि.मी., लमही घोराही, तुलसीपुर पक्की सडक ४६ कि.मी.अमिलीया तुलसीपुर पक्की सडक २९ कि.मी., तुलसीपुर सल्यान सिमाना सम्म पक्की सडक खण्ड १८ कि.मी., अमिलिया तुलसीपुर सडक खण्ड, तुलसीपुर बाघमारे सडक खण्ड, घोराही रोल्पा सडक खण्ड, तुलसीपुर पुरन्धारा सुर्खेत सडक खण्ड, घोराही लोहारपानी सडक खण्ड, लमही कोईलाबास सडक खण्ड रहेको छ ।

यस जिल्लामा पर्ने मुख्य नदिनालामा राप्ती नदि र बबई नदि रहेका छन् भने अन्य खहरे खोलाहरु प्रशस्त मात्रामा रहेका छन् । राप्ती नदिले देउखुरी ईलाकामा र बबई नदिले तुलसीपुर ईलाकामा बर्षेनी बाढीको प्रकोप आउने गर्दछ ।
यस क्षेत्रमा पर्ने मुख्य पुलहरुमा भालुवांग स्थित राप्ती नदिमा रहेको पुल, गढवा स्थित राप्ती नदिमा रहेको पुल, तुलसीपुर ( अमिलिया सडक खण्ड अन्तरगत बबई नदिमा रहेको पुलहरु पर्दछन् । दाङमा रहेको तुलसीपुर विमानस्थल बन्द अवस्थामा छ ।
दाङ जिल्लामा २०६८ सालको जनगणना अनुसार कुल जनसंख्या ५,५२,५८३ रहेको छ । जसमा पुरुष २,६१,०५९ र महिला २,९१,५२४ रहेको छ । यस जिल्लामा रहेका स्थानीय निकाय तथा जनसंख्यामा घोराही उ.म.न.पा. ९२,०५३ तुलसीपुर उ.म.न.पा. ९१,०९०, लमही न.पा. ४७,६५५, बबई गा.पा २७४६९, बङ्लाचुली गा.पा २४२४५, दङ्गिशरण गा.पा २१४८४, गढवा गा.पा ३८५९२, राजपुर गा.पा २५०३७, राप्ती गा.पा ४०७६४, शान्तिनगर गा.पा २५२०३ रहेको छ ।

२०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा यस जिल्लामा माओवादी केन्द्र पार्टीको बलियो पकड रहेता पनि २०७० सालको संविधान सभाको निर्वाचन पश्चात उक्त पार्टीको पकड फितलो भएकोे देखिन्छ । साथै नेपाली कांग्रेसले २०६४ सालको संविधान सभाको निर्वाचनमा आफ्नो गुमेको अस्तित्व २०७० सालको संविधान सभाको निर्वाचनमा पुनः कायम गर्न सफल भएको देखिन्छ । जिल्लाका केन्द्रीय स्तरको नेताहरुको कार्यकर्ता भेटघाट तथा चुनाव पुर्व जिल्लाका नेताहरुबाट गाउँ गाउँमा कार्यकर्ता भेटघाट तथा आमसभा कार्यक्रम गर्दै केन्द्रिय नेताको सहभागितामा चुनाव मुखि गाउँ जागरण अभियान संचालन गरेको देखिन्छ । दोश्रो संविधान सभा निर्वाचन २०७० मा प्रत्यक्ष तर्फ ५ तथा समानुपातिक तर्फ ३ गरि जम्मा ८ सभासदले संविधान सभामा प्रतिनिधित्व गर्न सफल भएका थिए । यस जिल्लाबाट पार्टी केन्द्रमा प्रतिनिधित्व गर्ने प्रभावसाली नेताको रुपमा परिचित नेपाली काँग्रेसका केन्द्रीय सदस्य खुम बहादुर खण्का र दोस्रो संविधान सभाको निर्वाचनमा क्षेत्र नं. ६ का प्रत्यक्ष तर्फ निर्वाचित सभासद दिपकराज गिरी पुर्व सिचाईमन्त्री रहेका छन् । साथै स्थानीय तह निर्वाचन २०७४ मा प्रभावशाली पार्टी भएता पनि यस पार्टीले राप्ती, राजपुर र शान्तिनगर गा.पा.मा मात्र बिजयी हासिल गरेको छ ।

दोश्रो संविधान सभा निर्वाचन २०७० मा प्रत्यक्ष तर्फ कुनै क्षेत्रमा बिजय हासिल गर्न नसकेको ने.क.पा. एमाले दाङ जिल्लाबाट विजय हासिल गर्न नसके ता पनि नेपाली कांग्रेसकोे प्रतिद्धन्दीको रुपमा देखा परेको छ । दोश्रो संविधान सभा निर्वाचनमा दोश्रो ठूलो दलको रुपमा खडा भएको ने.क.पा. एमालेको दाङ जिल्लामा प्रत्यक्ष तथा समानुपातिक दुबै तर्फ नेपाली काँगे्रस दोश्रो स्थानमा रहेको छ । समानुपातिक तर्फ भने ४ जना सभासदले संसद्मा प्रतिनिधित्व गर्न सफल भएका छन् । स्थानीय तह निर्वाचन २०७४ मा यस पार्टीले दाङ जिल्ला घोराही तथा तुलसीपुर उ.म.न.पा., लमही न.पा., गढवा, दंगीशरण र बबई गा.पा.हरुमा विजयी हासिल गरी स्थानीय निर्वाचनमा प्रथम पार्टीको रुपमा खडा हुन सफल भएको छ । यस जिल्लाबाट केन्द्रीय सरकारमा प्रतिनिधित्व गर्ने प्रभावशाली नेताको रुपमा ने.क.पा. एमालेका केन्द्रिय सचिव एवम् नेता शंकर पोख्रेल रहेका छन् ।

आगामी प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनमा माओवादी केन्द्रसंग मिली बामपन्थी गठबन्धन स्थापना गरी निर्वाचनमा जाने तयारी गरेको छ । पहिलो संविधान सभा निर्वाचनमा ६ सिट जित्न सफल भएको माओवादी केन्द्रले दोस्रो संविधान सभा निर्वाचनमा कुनै पनि सिट जित्न सकेन । माओवादी केन्द्र समानुपातिक मतको आधारमा तेस्रोे पार्टीको रुपमा हुन पुग्यो । समानुपातिक तर्फबाट १ जनाले मात्र संसदमा प्रतिनिधित्व गरेको अवस्था छ । पार्टी विभाजनको मारमा रहेको माओवादी केन्द्रका लागि आफ्नै पार्टीबाट विभाजित वैद्य÷विप्लव समुह मुख्य चुनौतीको रुपमा रहेको छ । साथै स्थानिय तह निर्वाचनमा भने यस पार्टीले मात्र बंगलाचुली गा.पा.बाट बिजयी हासिल गर्न सफल भएको पाईन्छ । आगामी प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनमा माओवादी केन्द्रसंग मिली बामपन्थी गठबन्धन स्थापना गरी निर्वाचनमा जाने तयारी गरेको छ । दाङमा विभिन्न जातजातिको सहभागितासंगै एक आपसमा घुलमिल भई बसेको, परम्परागत आपसी सम्बन्धका कारण बाँके, बर्दिया, कैलाली, कञ्चनपुरमा भएको थारु आन्दोलनको असर यस जिल्लामा अलि कम देखियो । डगौरा थारुहरु पहिचानको अधिकार प्राप्तीकालागि संघर्ष गरे पनि सामाजिक विभाजनको पक्षमा नरहेको देखिन्छ ।

दाङमा जिल्ला सेक्रेटरी सविन पोखरेल को नेतृत्वमा ५१ सदस्यीय जिल्ला कार्य समिति लगायत विभिन्न भातृ संगठनहरु विस्तार गर्न सफल ने.क.पा. (विप्लव)को यस जिल्लामा बलियो पकड रहेको देखिन्छ । माओेवादी केन्द्रको कार्य शैलिबाट असन्तुष्ट कार्यकर्ता तथा बहिर्गमित एवम् अयोग्य लडाकुहरु मुख्यत यस पार्टीसंग अवद्ध छन् । एनसिएल टावरमा आगलागी, उद्योगपतिहरुसंग चन्दा संकलन, जस्ता गतिविधि हेर्दा लाग्छ यो समुह उल्लेखनिय रुपमा संगठन विस्तारसंगै आर्थिरुपमा पनि बलियो बनि सशस्त्र संघर्षको नीति अवलम्बन गर्ने हो कि भन्ने जनमासमा शंका उब्जेको छ ।

यस समुहले २०७३ भाद्र २१ गतेदेखि २३ गतेसम्म दाङ जिल्ला सिसहनिया गा.वि.स ठकुरीकोट ईलाकामा सैन्य प्रशिक्षणका साथै सिमाना जोडिएका सल्यान र रोल्पाका विकट स्थानहरुमा तालिम समेत संचालन गरेको खबर सुन्निछ । उक्त पार्टीले फागुन १ गते ८ औं राष्ट्रिय महादिवेशन काठमाडौंमा उदघटन गरि फागुन ३ गतेदेखि ७ गते सम्म रोल्पाको थावाङमा बन्द सत्र सम्पन्न गरेको थियो त्यतिबेलापनि ठूलो रकम संकलन गरेको हिसाब किताब कसैले खोजनीति गरेको देखिन्दैन ।

मिति २०७४ आसार १४ गते सम्पन्न भएको स्थानिय तह निर्वाचन २०७४ को बहिष्कारको घोषणा गरि विभिन्न उ.म.न.पा., न.पा., गा.पा.हरुको कार्यालयको गेटमा कालो ईनामेल प्रयोग गरी होडिङ बोर्डहरु पोति विभिन्न स्थानहरुमा जनपरिषद् स्थापना गरे । नयां शक्ति पार्टीले पनि देउखुरी ईलाका तथा अन्य जिल्लाको बिकट गाँउहरुमा संगठन विस्तार तिर लाग्यो ।

दांङ जिल्लाको भौगोलिक बनावट, राजनैतिक, आर्थिक, धार्मिक, सामाजिक र निर्वाचनको बिरोधी राजनैतिक पार्टी समेतलाई मध्यनजर गर्दा पहाडी भुभागमा सडक सञ्जाल कम हुने र तराई क्षेत्रमा बढी रहेको देखिन्छ । यस स्थानमा राजनैतिक पार्टीहरु तथा तीनका भातृ संगठनका कार्यकर्ताहरु बीच झडप हुन सक्ने, निर्वाचनसंग असन्तुष्ट पार्टीहरुले बन्द, हड्ताल, चक्काजाम, विष्फोटन, आगजानी र अपहरण जस्ता घटनाहरु घटाउन सक्ने, उम्मेदवारलाई धम्की, अपहरण, हत्या, आवगमनमा अवरोध समेत गर्न सक्ने, राजनैतिक दलरुबाट आफ्नो पहुंच भएका स्थानमा गुण्डागर्दी परिचालन गरी अन्य पार्टीहरुलाई त्यस स्थानमा प्रवेश तथा प्रचार प्रसार गर्न रोक लगाउन सक्ने, आफ्नो पक्षमा अपेक्षित मतदान नभएको महशुस भएमा मतपेटीका लुट्ने गतिविधीको सम्भावना बढी देखिन्छ ।