सम्भावनाको खानी बैतडी

देशको सुदूरपश्चिम क्षेत्रमा रहेको अपि हिमाल नजिक सौन्दर्यपुर्ण सुदूरपश्चिमाञ्चल (प्रदेश नं. ७) बिकास क्षेत्र महाकाली अञ्चलको बैतडी जिल्ला राजनैतिक आन्दोलनका चार अग्रज सहिद मध्येका एक वीर सपुत दशरथ चन्दको पुण्य भुमिका रुपमा चिरपरिचित छ ।

यस जिल्लाको कुल क्षेत्रफल १५१८ बर्ग कि.मि. रहेको छ । यस जिल्लाको पुर्वमा बझाङ र डोटी जिल्ला, उत्तरमा दार्चुला जिल्ला, दक्षिणमा डडेल्धुरा जिल्ला र पश्चिममा देशकै सिमानाको रुपमा रहेको महाकाली नदी रहेको छ । समुद्र सतहबाट झण्डै ३८० मि. देखि २०५० मि. को उचाईमा रहेको यो जिल्ला छिमेकी राष्ट्र भारतको उत्तराञ्चल प्रदेश संग जोडिएको छ ।

बैतडी जिल्लाको ऐतिहासिक पृष्ठभूमिलाई सरसर्ती केलाएर हेर्दा बैतडीको वरीपरि चारै दिशाका उच्च पहाडहरुमा आराध्यदेव भगवान शिवरुपी केदारका देव स्थलहरु रहेका छन् । यस जिल्लाको दक्षिणतर्फ ग्वाल्लेक केदार, पुर्वतर्फ रौलाकेदार, उत्तरतिर देउलेक केदार र पश्चिममा ध्वज केदार । यी चारैवटा केदार देवताहरुको छत्रछायामा रहेको यो भुमि प्राकृतिक रुपमा रमणिय छ । जिल्लाको नजिकमा रहेको ग्वाल्लेक धुरालाई प्राचिनकालमा “वायुतड” पर्वत अर्थात वायुचल्ने ठाउँ हुन आउछ । वायुतडबाट पछि बैतड हुदै शब्दको अपभ्रशं भई बैतडी नाम रहन गएको किम्बदन्ती पाईन्छ । बैतडीमा बोलिने भाषा, भाषिका ठाउँ अनुसार फारक–फरक छ । बोलिचाली, रहन–सहन आदिका आधारमा बैतडीलाई स्वराड, पुर्चौडी आदि विभिन्न भागमा बाडेको देखिन्छ ।

छिमेकी राष्ट्र भारत संग भौगोलिक रुपमा सीमा जोडिएका कारण यस जिल्लाका बासिन्दाहरु शैक्षिक, व्यापारिक र राजनैतिक रुपले अन्य पहाडि जिल्लाहरु भन्दा स्तर माथि नै रहेको छ । आर्थिक र शैक्षिक रुपले सम्पन्न परिवारहरुको निरन्तर बढ्दो बसाईसराई राजधानी काठमाडौ र पश्चिम तराईका जिल्लाहरु कैलाली र कञ्चनपुरतिर हुने भएकाले समग्र जिल्लाको विकासको गति तीब्र रुपमा हुन सकेको छैन ।

बैतडी जिल्ला एक मध्ये पहाडी जिल्ला भएतापनि भूगोल, इतिहास, प्राकृतिक स्रोत, वनस्पति, कृषि, पशुपालन, बन्यजन्तु, सिलेट, ढुङ्गा, बालुवा र जस्ता खानीजन्य पदार्थको सम्भावना हुदाहुदै पनि यस क्षेत्रमा औधोगिक विकास समेत हुन सकेको छैन । प्रकृतिको सोन्दर्यमा रमाएको बैतडी जिल्लामा धार्मिक स्थलहरुको पनि कमी छैन । यस जिल्लामा रहेका प्रमुख धार्मिक स्थलहरुमा त्रिपुरासुन्दरी, निङ्गलाशैनी, मेलौली, उदयदेव, डिलाशैनी, मल्लादेही, ग्वाल्लेक केदार, रौलाकेदार यहाँका मुख्य धार्मिक स्थल हुन् । त्यस्तै गरि ग्वाल्लेक क्षेत्र, मेलौली क्षेत्र, पाटन उपत्यका, श्रीभावर क्षेत्र, पत्तालभुमेश्वर क्षेत्र लगायत अन्य ताल तलैयाहरु र गुफा पर्यटन विकासका लागी परिणत गर्न सकिने मुख्य स्थलहरु हुन् । तर स्थानिय स्तरबाट प्रचार–प्रसारको कमि, यातायात र बासस्थानका लागी होटेल र लजको अभाव सम्बन्धित संघ सस्थाहरु राजमार्ग क्षेत्रमा मात्रै सीमित, बौद्धिक र सम्बन्धित निकायको चासोको नभएको कारणले गर्दा यस्ता रमणिय क्षेत्रहरु ओझेलमा परिरहेका छन् । फलस्वरुप आन्तरिक र बाह्रय पर्यटकहरुको सख्यामा निकै कमि देखिन्छ ।

तसर्थ बैतडी जिल्लाको समग्र विकास र यहाँका बासिन्दाहरुका आवश्यकता परिपुर्ति गर्न यस्ता पर्यटकीय क्षेत्रहरुको स्थानीय स्तरबाट प्रचार–प्रसार गरी आर्थिक रुपमा यहाँका बासिन्दाहरुलाई सहयोग हुनेछ । नेपाल जस्तो विकासोन्मुख देशमा औद्योगिक क्षेत्रहरु र रोजगारीका अवसर नभएको अवस्थामा यस्ता पर्यटकीय स्थलहरुको प्रचार–प्रसार त्यस्तै गरी पञ्चेश्वर सडक, चमेलिय विद्युत आयोजना र तल्लो स्वराडको यातायात तथा सञ्चार जस्ता विकासका कार्यहरुलाई स्थानीय तथा राष्ट्रिय स्तरबाट पहल भएमा राजनैतिक र स्वतन्त्रताका लागि बलिदान दिने सहिद दशरथ चन्दको चन्दको जन्मभूमि सहि अर्थमा बैतडीबासीको कर्मभूमि बन्न अग्रसर हुनेकुरामा दुईमत छैन । त्यसैले बैतडी जिल्लाको पर्यटन विकास र समग्र विकासका लागि स्थानीय स्तरबाट, बौद्धिक समुदाय, सम्बन्धित संघसंस्थाहरु र राजनैतिक स्तरबाट लाग्नुपर्ने आवश्यकता रहेको छ ।