जैविक विविधताले भरिपूर्ण लौकाहा भौकाहा ताल
पृथ्वीमा मानिस लगायत बनस्पती, पशुपन्छी र सुक्ष्मजिव आदि करोडौ जिवात्मा छन् । तिनीहरु एक आपसमा भिन्नता तथा विविधता छन् । तिनीहरुको विविधता तथा पारस्थितीक प्रणालीहरुको किसमले जैविक विविधता जनाउछ । जैविक विविधता स्थान अनुसार फरक हुन्छ । कुनै स्थानको जैविक विविधता भन्नाले प्रति एकाई वर्गमा विद्यमान जिवाणुबंशाणु प्रणाली र पारस्थितीक प्रणालीलाई बुझाउदछ । समष्टिगत रुपमा जैविक विविधताले पृथ्वीमा विद्यमान जिवित सम्पदाको कुल संख्या एवम् तिनको भिन्नता जनाउदछ ।
लौकाहा भौकाहा ताल पनि जैविक विविधता र पर्यटकीय सम्भावना बोकेको एक सिमसार क्षेत्र हो । यो ताल कैलाली जिल्लाको पुर्वी सुख्खड बजार बाट १२ कि.मी. दक्षिणतर्फ भजनी नगरपालिका वडा नं. ४ बिजुलीया गाऊमा अवस्थित रहेको छ । समुद्र सतहबाट १४० मिटरको उचाईमा रहेको यो तालको क्षेत्रफल ६० हेक्टर भन्दा बढी रहेको छ । यो तालको ऐतिहासिक पृष्ठ भुमिलाई सरसर्ती केलाएर हेर्दा थारु भाषाको लौकाहा भन्नाले लौका र भौकाहा भन्नाले कपडा राख्ने बाकस जस्तो बस्तु भन्ने बुझिन्छ । तसर्थ यो तालमा लौका र बाकस जस्तो प्रतिविम्ब अथवा चुरे पर्वत श्रृखलाको प्रतिविम्ब प्रष्ट रुपमा तालको बिचमा देखा पर्ने भएकोले त्यहाँका स्थानिय थारु समुदायहरुले यो तालको नाम लौकाहा भौकाहा ताल नामाङ्करण गरेको हो । प्राकृतिक रुपमा सम्पन्न यो तालको पुर्व पश्चिम र उत्तरमा घना जंगल रहेको छ । यो ताल जैविक विविधतामा धनि भएकोले कारणले गर्दा विभिन्न प्रकारका बन्यजन्तु र जलजन्तु यो तालमा अवस्थित छन् ।
कैलाली जिल्लामा झण्डै २ दर्जन भन्दा बढी यस्ता तालहरु संरक्षण, प्रचार–प्रसार को कमीले गर्दा ओझेलमा परेका छन् । यस तालमा जखेला, सुइरोटुडे, जलकौवा, सानो खैरो बकुल्ला, भुडीफोर, गरुड, मुरलीचरा, पानीहास विभिन्न प्रजातीका माछाहरु, गोही र लोप अवस्थामा रहेको जनावर पानीउद पनि यसै तालमा रहेको छ । बन्यजन्तु र बनस्पती, जलाधार संरक्षण, बंशाणुमा सुधार, प्राकृतिक सौन्दर्यता, आर्थिक र पर्यटन विकास, वातावरण सन्तुलन, प्राकृतिक प्रणालीको संचालन, अध्ययन र अनुसन्धान गर्न, जैविक विविधता महत्वपुर्ण हुन्छ । जुन हुन सकेको छैन । तसर्थ जैविक विविधता र पर्यटन सम्भावना बोकेको यो तालको संरक्षण र सम्बर्दन गर्न आवश्यक रहेको छ । जैविक विविधता अनुसन्धान समाजका अध्यक्ष तथा त्रिभुवन विश्वविद्यालयका प्रा.डा. मुकेश कुमार चालिसे को टोली यतिबेला रानीजमरा सिचाई आयोजनाको बातावरण अध्ययन र अन्य सिमसार क्षेत्रको अध्ययन र अनुसन्धानमा छन् । डा. चालिसे भन्छन् “जिवहरुको अस्तित्व जोगाउनु, स्रोतको दिर्घकालीन संरक्षण गर्न, प्राकृतिक दृश्य सम्बर्दन गर्न, प्राकृतिक प्रक्रिया सन्तुलन गर्न, पर्यटन र आर्थिक विकासका लागी यस्ता जैविक विविधताले भरिपुर्ण सिमसार क्षेत्रको संरक्षण गर्नुपर्ने बताउछन् ।
” कैलाली जिल्ला सिमसार क्षेत्रले भरिपुर्ण छ । तर यस्ता किसिमका सिमसार क्षेत्रको अध्ययन र अनुसन्धानको कमिले गर्दा यस्ता रमणिय क्षेत्रहरु ओझेलमा पर्दै गइरहेका छन् । त्यसैले लौकाहा भौकाहा ताल वरीपरि भएको जंगल क्षेत्रलाई संरक्षण गर्न अतिक्रमण बाट रोक्ने, जिवजन्तुको चोरी सिकारी रोक्ने, स्रोतसाधनको उचित प्रयोग गर्ने र प्रदुषणलाई रोक्ने र सबै तहबाट संरक्षण र सम्बर्दन गर्न सके यो ताल बाह्रय पर्यटकहरुलाई भित्राई यहाका स्थानिय समुदायको आर्थिक उन्नति वृद्धि गर्न सहयोग पु¥याउने छ । तसर्थ यसको संरक्षण र प्रचार–प्रसारमा सबैले हातेमालो गर्नुपर्ने आवश्यकता रहेको छ ।
धिरेन्द्र बहादुर चन्द, युवा प्राणीशास्त्री













