दुर्व्यसनीबाट मुक्त्त हुने उपाय “इच्छाशक्ति” हो
माया त हरेक आमा-बाबाले आफ्ना सन्तानलाई गरेकै हुन्छन् । जन्माउने, हुर्काउने क्रममा सबैले आफ्नो Best दिएकै हुन्छन् । यहाँनेर उल्लेख्य कुरा के पनि छ भने गर्भावस्थादेखि नै बच्चामा दिमागको संरचना हुने हुँदा Conceive (बच्चागर्भमा प्रवेश) गर्दा देखिनै आमा-बाबा दुबैको शारीरिक तथा मानसिक स्वास्थ्य राम्रो हुनु अत्यन्त जरुरी छ । घरमा एक जना मात्र लागूपदार्थ सेवनकर्ता हुँदा पनि घरका सबै सदस्य मानसिक रूपमा पीडित भइसकेका हुन्छन् ।
सन्तान लागूपदार्थमा फसिसकेपछि बाबाले आमालाई र आमाले बाबालाई दोष दिने तथा साथीहरूको नै लहलहैमा लागेर बिग्रिएको हो भन्ने उदाहरणहरू हाम्रो समाजमा धेरै छन् । वास्तवमा दोषी कोही पनि हुँदैनन् । खानु हुन्न भन्ने ज्ञान सबैमा हुन्छ, तर किन खान्छन् त ? के कारण पत्ता लगाउन सकेका छौं त हामीले ? नशाले चलाएको तिनीहरूको दिमाग कमजोर नहुने त कुरै भएन । पाउन त अहिले विश्वको जुनसुकै कुनामा पनि लागूपदार्थ पाइन्छ । Legal होस् या Illegal, खाने मान्छेको मुखलाई जुँगाले छेक्दैन भने जस्तै के, कसरी, कहाँ, कुन कुनाबाट पाइन्छ, भनिराख्नु पर्दैन । न त रोकेर नै रोकिन्छन् ।
आसरा सुधार केन्द्रको ३ वर्से कार्यकालमा आफ्नो सैद्धान्तिक ज्ञानको प्रयोग गर्ने सुअवसर पाउनुका साथै लागूपदार्थ प्रयोगकर्ताका बारेमा व्यवहारत: धेरै कुरा जान्ने र बुझ्ने मौका मलाई मिल्यो । त्यसैगरी उपचाररत सदस्यहरूको रोग र भावना बुझ्दा सबैमा Emotional hollow (संवेग रिक्तता) भएकै पाइयो । त्यसै सन्दर्भमा “लागूपदार्थ नै दह्रो सहारा हो” भन्ने उपचाररत सदस्यहरूले भन्नु भएका केही कुरा मैले यहाँ उल्लेख गर्नु सान्दर्भिक ठानेकी छु |
मैले भेगेका केही उदाहारणहरू
१. “झुटो बोल्थेः हरेक कुरामा झुट बोलि दिन्थें । न मैले कसैलाई विश्वास गरेर आफ्नो मनको कुरा भन्न सकें, न मलाई कसैले विश्वास गर्यो । अहिले सम्झँदा त एउटा कुरा पनि साँचो बोलेको छु जस्तो लाग्दैन ।”
२. “म चाहिँ के हुँ, म कस्तो छु, कसैले बुझ्नै नसक्ने, बुझ्नै नचाहने । मनको कुरा म भन्दै नभन्ने । विश्वास गरेर कसैलाई मात्र आफ्नो Personal कुरा Share गर्यो । आखिर सबैलाई थाहा भइसक्थ्यो । अनि नरमाइलो लाग्थ्यो । Self Esteem Low हुने, Confidence नै नहुने, राम्रो बनेर देखाउने इच्छा पनि नहुने । अनि आफूलाई सक्रिय राख्न लागूपदार्थ चाहिन्थ्यो ।”
३. “मैले त अनावश्यक झुटले नै आफ्नो इज्जत आफैंले नराखेको हो | सत्य कुरा गर्दा कसैले नपत्याउने । झुट कुरा भने सबैले पत्याउँथे पनि । अनि Issue पनि बन्थ्यो, झुटलाई सत्य ठानेर । जति पछि त्यति झुट बोल्ने बानी बढ्दै गयो । परिवारलाई चोट धेरै दिएको छु । यस्तै सोच र समस्याबाट भाग्न लागूपदार्थ चाहिन्छ मलाई ।”
४. “छोरी झन् रातभरि हराएपछि Tension त Wild हुन्थ्यो नि घरमा । के भन्ने म्याम, मेरो चाहिं घरका सदस्यको धेरै कुरा काट्ने बानी । कति चोटित मलाई आफ्नै कुरा गरेको हो कि जस्तो पनि लाग्ने । शंका गर्ने बानी छ मेरो पनि धेरै । कसैलाई विश्वास पनि गर्न सक्दिनं । मेरो रोग, मेरो सोच, भावनाको बारेमा एक जनालाई मात्र बुझाइ दिनुस् न घरमा । उसैको सहारा लिएर बरु यो लागूपदार्थको सहारा छोडिदिन्थें ।”
आफूले गल्ति लुकाउन झुटको सहारा लिनु, आफूमाथि कसैले विश्वास नगरिदिनु, आफूलाई कसैले नबुझिदिनु, मनको कुरा खुलस्त भन्ने वातावरण नै नपाउनु, आफू सबैलाई दु:ख पुर्याउने कारण बनेको अनुभूतिमा आत्मग्लानि हुनु आदि जस्ता दुर्व्यसनीका साझा अनुभूतिले तिनीहरूप्रतिका हाम्रा व्यवहारलाई पनि उजागर गरेको छ ।
कतिपय परिस्थितिमा हामीले उनीहरूलाई गलत बुझिरहेका त छैनौं ? उनीहरूले भनेका तथा गरेका कुराहरूलाई गलत व्याख्या त गरिरहेका छैनौं ? कतै हामीले उनीहरूको क्षमता, सोचलाई अवमूल्यन पो गरिरहेका छौं कि ! दुर्व्यसनी आफ्नै बानीबाट शिथिल, उदासीन भैसकेका हुन्छन् । आफ्नै नजरमा आफू घृणित भएका हुन्छन् । छोड्न चाहँदा चाहँदै पनि लागूपदार्थ भन्दा दह्रो सहारा नपाएसम्म छोड्न सक्दैनन् ।
लागूपदार्थ प्रयोगकर्ताहरूले अक्सर Masking गर्ने हुँदा यसबाट सचेत हुन पनि अत्यन्तै जरुरी छ । कोही पुरै नकारात्मक Mindset मा बसेपनि बाहिरी रूपमा सकारात्मक देखाउन जान्ने हुन्छन् भने कोही भित्री रूपमा सकारात्मक हुँदाहुँदै पनि अनावश्यक झुट र व्यवहारले गर्दा बाहिर नराम्रै रूपमा चिनिन्छन् । प्राय:उपचाररत सदस्यहरूले सबैको नजरमा “म नराम्रो भइसकेको छु” भनी सोच्छन् भने तिनले के अरूलाई हेप्छन्, होला त ? घमण्डी, स्वार्थी हुन्छन् होला त ? रोग मात्र स्वार्थी हो | यी सबै प्रकारका Attitude हरू तिनीहरूले आफूलाई Boost-up गर्ने एक प्रकारको Masking मात्रै हो | नशाले चलाएको तिनको दिमागसँग हामी किन रिसाउनु ?
अब Masking कसरी चिन्ने त ? उनीहरूले सामान्य व्यक्तिले भन्दा ४ गुणा बढी दिमागलाई सक्रिय बनाउन सक्छन् भने त्यो बुझेर अभिभावकले पनि दिमागलाई बढी नै सक्रिय बनाउनु पर्ने हुन्छ । अत: यसका लागि परामर्शदातासँग सम्पर्कमा रहने, छलफल गर्ने र आवश्यक युक्ति र पद्धति (Technique) बुझेर तिनलाई व्यवहारमा अवलम्वन गर्ने कामलाई निरन्तरता दिनुपर्छ ।
लागूऔषध प्रयोगकर्ताहरू Aggressive हुँदा, उनीहरूको Behavior Lacking हुँदा आफू नझर्किने, शान्त बस्ने र तिनलाई थुमथुम्याउने गर्नुपर्छ । त्यो ऊ जंगेको होइन, उसको रोग जंगेको हो भनी बुझ्नु पर्छ । किनभने खाएको सुरमा बरु ती चुपचाप बस्देलान् तर खान नपाउँदा अपशब्द बोल्लान्, रिसाउलान्, तोडफोड गर्लान्, यी सबै बेहोसमा गरेको कार्य हुनाले होसमा आएपछि तिनलाई याद पनि हुँदैन ।
त्यसैगरी Relapse भई हाल्दा पनि आत्तिनु पर्दैन । Relapse भनेको Recovery कै एउटा Process हो । खान छोड्छु भन्ने भावना मनमा आइ सक्दा पनि भोलिपल्ट देखिनै सुरु गर्देलान् । कुनै बेला पाँच महिना नखालान्, छैटौँ महिनाबाट फेरि सुरु गर्देलान् ।१/२ वर्ष नै छोड्न नसक्लान् तर छोड्छु भनेर भावना मनमा आइसकेपछि भने एक दिन अवश्य छोड्छन् । लागूपदार्थबाट प्रयोगकर्ताको मुक्त्त हुने उपाय “इच्छाशक्ति” नै हो | तिनको “इच्छा शक्ति” दह्रो बनाउन मदत गरौँ ।
तसर्थ हामीले लागूपदार्थ सेवनकर्ताका लागि राम्रो वातावरण निर्माण गरौँ । नकारात्मक शब्दको प्रयोगले उनीहरूलाई धेरै असर पर्ने हुँदा सकेसम्म नकारात्मक शब्दहरूको प्रयोग गर्दै नगरौँ । अत: शब्द चयन गर्दा होस् पुर्याऔं । के कारणले तिनलाई दुर्व्यसन छोड्न गाह्रो भएको छ, त्यस कारणको अन्तर्यसम्म पुगौँ । हरेक समय सकारात्मक रहौं । धैर्यका साथ अघि बढौँ र सही समाधान खोजौं ।
दुर्व्यसनीलाई विश्वास गरौं र विश्वास जितौं । जीवनमा बाँच्ने आधार देखाऔँ । के कारणले छोड्न गाह्रो भएको छ, त्यो कारण बुझौं । रोग हो भनी बुझौं । तिनका भावना सही अर्थमा बुझ्ने प्रयत्न गरौं र सही भावनाको कदर गरौं । उनीहरूले गरेका राम्रा कुराहरूको मूल्याङकन गरौँ । जीवनमा बाँच्ने आधार देखाऔँ । लागूपदार्थ भन्दा दह्रो सहारा आफू बनिदिन सकौं । यति कुरामा ध्यान दियौं भने Recovery सम्भव छ । लेखक : चिकित्सक मनोबिद, आत्मन उपचार केन्द्र कार्यरत छन् ।













