मनको कुरा साट्ने वातावरण मिलाउन आवश्यक
विश्वमा महामारीको रुपमा फैलिएको कोभिड १९ ले गर्दा हरेक मानव प्राणीलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा शारीरिक तथा मनोबैज्ञानिक रुपमा असर पारेको छ । कतिपय मनोबैज्ञानिक असरका कारण मान्छेहरु आफ्नो ज्यानलाई आफैँ मारी रहेका छन् । आज यहाँहरु माझमा यो पंक्तिकार विदेशवाट आएकाहरुका लागि कैलाली जिल्लाको कैलारी गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका व्यक्तिहरुसँग गरिएको प्रत्यक्ष कुराकानीको अनुभव पस्कने जमर्काे गरेको छु । जब म क्वारेन्टाइन जाँदै थिएँ । बाटोमा कोही हलो, कोदालो र गोरु लिएर कोही खेतमा जाने व्यक्ति, कोही भान्छे महिला खेतमा काम गर्ने खेतालाहरुका लागि टाउकोमा खाना लिएरमा जाँदै गरेको व्यक्तिहरुसँग भेट हुँदै थियो । यो पँक्तिकार भने दोधारे मन लिएरे क्वारेन्टाईन जाँदै थिएँ । क्वारेन्टाइनमा जाँदै गर्दा मनमा अनेक खालका कुराहरु खेल्थे । कुरा पनि किन नखेलोस्, भर्खरै जन्मेको कोखे बालक र आमा सम्झँदा । अनि फेरि मन सम्हाल्थेँ र भित्री अन्तर मनले प्रश्न गथ्र्यो र भन्थ्यो जे परे पर्ला त्यहाँ जान्दैमा कोरोना सरी हाल्ने हैन क्यारे ! क्वारेन्टाइनमा बसेका सबै मानिस कोरोना प्रभावित पनि होइनन् नि आदि ।
जब म क्वारेन्टाइन पुगेँ । कुराकानीको क्रम शुरुवात गरेँ । त्यहाँ त कुण्ठाले भरिएको मन पाएँ । कुराकानीकै क्रममा एकजनाले सुनाउनु भयो “आफन्त विरामी परेर स्याहारका लागि भारतको बम्बै पुगेँ । विरामी नपरेको भए, जाने थिएन । बाध्यता प¥यो, जानै प¥यो । तर यो कोरोना हो कि सोरोना हो, त्यसमै फसियो । त्यहाँ काम पनि बन्द भयो । धेरै दिन भएपछि दैनिक खाना पनि गाह्रो हुन थाल्यो । भोकभोकै मर्नु भन्दा त कोरोना लागे लागोस् बरु आफ्नै देशमा मरुला भनेर १ हप्ता लगाएर नेपाल पुगेकी हुँ । यहाँ आउँदा क्वारेन्टाइनमा बस्नु प¥यो । आफ्नो परिवार, बालबच्चा, समुदायका लागि पनि बस्नै प¥यो । तर जब पहिलो रिपोर्ट आयो । त्यसमा पोजिटिभ देखियो । त्यसपछि न कसैले भेट्न आउँछन् न त स्वास्थ्य अवस्थाको बारेमा बुझ्छन् । उल्टै परिवारमा पहिलो रिपोट पोजिटिभ आएको छ भनेर खबर पुग्यो । घरमा रुवाबासी चल्यो । छोराछोरी भन्छन् घरमा आइहाल्नु मम्मी बरु यहाँ मर्नु होला । क्वारेन्टाइनको गेटमै आएर रुन्छन् । उनीहरु रोएको देख्दा आफूलाई पनि रुन मन लाग्छ । राती निन्द्रा पनि पर्दैन, मरी हाल्ने हो कि चिन्ता लाग्छ । आज तपाई आउनु भयो मेरो मनको कुरा सुनिदिनु भयो धेरै खुशी लाग्यो । केही ज्ञान पनि दिनु भयो हौसला पनि मिल्यो अब मन बलियो भएको महसुस भएको छ ।”
त्यस्तै अर्काे क्वारेन्टाइनमा जाँदा एक हुल मान्छे उत्साहित देखिन्थे । उनीहरु चौरमा आएर बसेका थिए । अरु भने आआफ्ना कोठामा बसीरहेका थिए । जब म ती उत्साहित हुलसँग कुराकानी गर्न शुरु गरेँ तब एकजनाले सुनाउनु भयो “बसेको १४ दिन पुग्यो । पहिलो रिपोट नेगेटिभ देखिएको छ । हामीलाई होम क्वारेन्टाईनमा गएर ७ दिन बस्नु भनेको छ । विभिन्न सञ्चारमाध्यममा पहिलो रिपोर्ट नेगेटिभ आए पनि अर्काेमा पोजिटिभ आएको समाचार पनि सुनिन्छ । हाम्रो त दोस्रो चेकजाँचको लागि केही पनि गरिएको छैन । घर गएपछि संक्रमण देखिन्छ कि चिन्ता छ । त्यसै चिन्ताले राती निन्द्रा पनि राम्रो सँग पर्दैन । कोही मान्छे आएर मन कसरी बलियो बनाउने भनेर सिकाउन पनि आउँदैनन् । तपाईसँग कुराकानी गर्दा आज मन हलुका र सहज भएको छ ।”
अर्काे एकजना क्वारेन्टाइनवाटै टेलिफोन गरी मनोसामाजिक परामर्श सेवा लिने क्रममा सुनाउनु भयो “म सँगै आएको साथीको पहिलो र दोस्रो रिपोर्ट आउँदा पोजिटिभ देखियो । मेरो पनि पहिलोमा पोजिटिभ देखिएको छ । दोस्रोमा पोजिटिभ आउँछ कि भन्ने चिन्ता छ । लामो समयदेखि इण्डिया काम गर्दै आएको हुँ । त्यहाँ खानापिना राम्रै थियो । तर सबैजना आफ्नै देश जान थालेपछि म पनि मर्नु परे आफ्नै देश मरुला भनेर आएको हुँ । यहाँ आउँदा पहिलोमा पोजिटिभ देखियो । त्यसदिन देखि हामीलाई छुट्टा छुट्टै कोठामा राखिएको छ । मनमा विभिन्न कुराहरु खेलि रहन्छ । चिन्ता लाग्छ । तर हाम्रो स्वास्थ्यको बारेमा कसैले पनि राम्रो सँग कुराकानी गर्दैन । न के हुन्छ ? भनेर सोध्न आउँछन् । मन एकदमै चिन्तित हुन्छ । क्वारेन्टाइनमा एकजना हौसला दिने, कुरासुनी दिने मान्छे भएको भए पनि सजिलो हुन्थ्यो । यहाँ त केही छैन ।”
यी त भए प्रतिनिधीमुलक पात्रहरुको भनाई मात्रै । यस्तै क्वारेन्टाइनमा बसेका व्यक्तिहरुका मनमा विभिन्न पीडा बोकेका थुप्रै छन ।
उनीहरुसँग त्यहाँ बस्दा, बाटोमा आउँदाको अनुभव प्रशस्तै छन् । तर ती मनका कुरा सुनी दिने मान्छे कमै छन् । त्यहाँ जाँदा यो पँक्तिकारले उनीहरुको गुनासो, हाम्रो कुरा कसैले पनि राम्रो सँग सुनिदिएन भन्ने पाएँ । अझ मान्छेका जीवनसँग सम्वन्धित विषयमा गोप्यनियताको उल्लँघन गरिएको पाएँ । अब अहिले मनको कुरा सुन्न किन जरुरी छ ? भन्ने प्रसँगको बारेमा छोटो चर्चा गरौँ । हामी मानव प्राणीलाई आफ्ना मनका कुरा अरुलाई सुनाउन पाउँदा निकै नै खुशी लाग्छ । यो सामान्य प्रक्रिया हो । जव हामी अझ कुनै जीवनका महत्वपूर्ण रमाइलो क्षण, दुःख क्षण भोग्न पुग्छौँ त्यत्ति बेला अझ आफ्ना कुरा साट्न मन लाग्छ । यो बेला पनि एउटा विपतको बेला आएको छ । यति बेला विश्वमा बसोबास गर्ने आम मानव प्राणीको मनमा नरमाइलो महसुस हुने, भविष्यको बारेमा चिन्ता लाग्ने, दुःख लाग्ने, दिक्क लाग्ने, रिस उठ्ने, सुत्न अप्ठ्यारो महसुस हुने आदि हुन सक्दछन् । यी यस्ता देखिने शारीरिक तथा मानसिक प्रतिक्रियाको बारेमा जान्न उत्सुकता पैदा हुन सक्दछ । तर त्यसको बारेमा कुरा गर्न नपाउँदा अझ असहजता महसुस हुन सक्दछ । तसर्थ यस्तो अवस्थामा मनका कुरा साट्यो भने मनको विचलनलाई कम गराउँदछ । सो को लागि मनका कुरा सुनि दिने वातावरण मिलाउन आवश्यक हुन्छ । मनको कुरा पोख्न पाए भने शारीरिक तथा मानसिक रुपमा देखिन लक्षणहरु पनि कम हुन्छन् । विभिन्न खालका मानसिक रोगका सिकार हुन वाट जोगाउन सकिन्छ । मन पनि बलियो भएर जान्छ आदि ।
यस्तै गोप्यनियता किन आवश्यक छ ?
समाजमा अहिले कोभिड १९ ले गर्दा अनेक खालका लाञ्छाना लगाउने, भेदभावपूर्ण व्यवहार देखाउने प्रवृत्ति पनि देखिएको छ । जब जब नयाँ रोग तथा अन्य कुनै नकारात्मक प्रभाव पार्ने कुराको विकास हुन्छ तब तब समाजका मान्छेहरुले अनेक खालका भेदभावपूर्ण व्यवहार, लाञ्छाना लगाउने गर्न सक्दछन् । अहिले पनि क्वारेन्टाइनमा बसेका व्यक्तिहरुलाई समाजमा हेर्ने दृष्टिकोण फरक पाइएको छ । समाजका धेरैजसो मानिसहरुले उनीहरु विदेशवाट किन आउनु परेको होला ? नआएको भए हुन्थ्यो नि । उनीहरुले गर्दा यो कोरोना आएको हो । उनीहरु गाउँमा आए भने सबैलाई भइहाल्छ भन्ने लागेको छ ।
यतिबेला क्वारेन्टाईनमा बसेका व्यक्तिहरुमा कसैकोमा कोरोना संक्रमण पुष्टिको बारेमा समाजमा छरपष्ट जानकारी वा सुचना जाँदा त्यसको असर परिवारका अन्य सदस्य, समाजमा नकारात्मक पर्न गई भोलिको दिनमा सामाजिक रुपमा सम्मिलित हुन त्यस्ता व्यक्तिहरुलाई असर पर्ने तथा मनोबैज्ञानिक असर पर्न गई अझ आत्मबल कमजोर हुन सक्दछ । मानसिक रोग लागि ज्यान नै जोखिममा पर्न सक्दछ । तसर्थ प्रभावित व्यक्तिहरुको बारेमा गोप्यनियता निकै नै अहिलेको अवस्था जरुरी छ ।
अन्तिममा विश्व जगतमा बसोबास गर्ने आम प्राणीहरुको मनमा अनेक खालको विक्षिप्तताको अवस्था हुन सक्दछ । यतिबेला यस्तो खालको हाम्रो शरीर र मनले देखाउने विक्षिप्तताको अवस्थालाई असामान्य अवस्थाको सामान्य प्रतिक्रिया हो भनेर सबैलाई बुझाउन जरुरी छ । कसैलाई मनमा विक्षिप्तताको अवस्था लम्बिदै गयो भने मानसिक रोग विशेषज्ञ, मनोविद् र मनोसामाजिक परामर्शकर्ताहरुसँग सेवा लिन एकदमै जरुरी हुन्छ । र मनको विक्षिप्ततालाई कम गर्न प्राथमिक मनोसामाजिक सहयोगको कार्यक्रम प्रत्यक्ष प्रभावित व्यक्ति, समुदाय, शिक्षक, विद्यार्थी, बालबालिका, अग्रपँक्तिमा खटिने स्वास्थ्यकर्मी, कर्मचारी, स्वँयसेवक, प्रहरी आदिलाई दिन आवश्यक छ । (लेखक : सि.एम.सि. नेपाल काठमाडौंमा कार्यरत मनोपरामर्शकर्ता हुन् ।)













