‘सिँहुर’ मा थारू संस्कृतिको अपव्याख्या

परिपक्व साहित्यले समाजको यथार्थलाई कलात्मक ढंगले प्रस्तुत गर्दै पाठकको मन छुन सक्छ। नवीन अभिलाषीको कथासंग्रह दहाडले पनि भुइँमान्छेका पीडा, संघर्ष, सामाजिक असमानता र परिवर्तनको आकांक्षालाई सरल तर प्रभावशाली भाषा, जीवन्त पात्र र सशक्त प्रतीकमार्फत अभिव्यक्त गरेको छ। यस अर्थमा उनको साहित्यिक योगदान प्रशंसनीय छ।

संग्रहमा समावेश १२ कथाले विभिन्न समुदायका दबाइएका आवाज र फिरादलाई स्थान दिएका छन्। तीमध्ये थारू समुदायको जीवनशैली, संस्कृति र सामाजिक यथार्थसँग जोडिएको ‘सिँहुर’ साहित्यिक प्रभाव र प्रतीकात्मक प्रयोगका दृष्टिले सशक्त छ। दुई नाबालिग छोरी गुमाएका प्यारेलालको पीडा र निरन्तर विपत्तिले कथालाई गहिरो करुणा प्रदान गरेको छ।

तर, थारू समुदायको प्रतिनिधिका रूपमा कथा पढ्दा यसको सांस्कृतिक चित्रण प्रश्नमुक्त देखिँदैन। मृत्यु संस्कार, कुलदेवता, डिउर्हार, बरघरको भूमिका र परम्परागत वास्तुकलालाई प्रस्तुत गर्दा कथामा तथ्यगत असंगति तथा सांस्कृतिक संवेदनशीलताको अभाव देखिन्छ। यही कारण साहित्यिक रूपमा प्रभावशाली हुँदाहुँदै पनि ‘सिँहुर’ ले थारू समुदायको सांस्कृतिक विविधता र यथार्थलाई कति न्याय गरेको छ भन्ने प्रश्न उठ्छ।

सांस्कृतिक प्रतिनिधित्वको प्रश्न

‘सिँहुर’ कथामा प्यारेलालका दुई छोरीको घर भत्किएर भएको आकस्मिक मृत्यु सबैभन्दा मार्मिक प्रसंग हो। यस घटनाले पाठकमा गहिरो करुणा र भावनात्मक प्रभाव उत्पन्न गर्छ।

तर, कथाको संरचना र घटनाक्रमलाई सूक्ष्म रूपमा विश्लेषण गर्दा लेखकले मानवीय संवेदनालाई थारू समुदायको मृत्यु संस्कारसँग जोडेर कथानकलाई थप नाटकीय बनाउने प्रयास गरेको देखिन्छ। यही बिन्दुमा कथा सांस्कृतिक प्रतिनिधित्वका दृष्टिले विवादास्पद छ।

बालिकाहरूको मृत्यु स्वाभाविक रूपमा मानवीय संवेदनाको विषय हो। यस्तो घटनामा पाठकको ध्यान पीडित परिवारको दुःख, प्राकृतिक विपत्ति, राज्यको दायित्व र सामाजिक सहयोगतर्फ केन्द्रित हुनुपर्ने हो। तर, कथाले त्यस केन्द्रलाई बिस्तारै थारू संस्कार, कुलदेवता र बरघरको निर्णयतर्फ मोड्छ। यसरी मानवीय शोकलाई सांस्कृतिक द्वन्द्वको माध्यम बनाउँदा पाठकको सहानुभूति पीडित परिवारबाट हटेर संस्कारबारे प्रश्न उठाउने दिशामा केन्द्रित हुन पुग्छ।

कथामा थारू संस्कृतिप्रतिको अपरिपक्व बुझाइका कारण परम्परालाई कठोर रूपमा चित्रण गरिएको देखिन्छ। बरघरले ‘डिउर्हार’ को देवता नभेटिएको कारण देखाउँदै दुई बालिकाको अन्तिम संस्कार रोक्ने निर्णय गरेको प्रसंगलाई सम्पूर्ण थारू संस्कृतिको प्रतिनिधि व्यवहार जस्तो प्रस्तुत गरिएको छ।

साहित्यमा कल्पनाको स्वतन्त्रता हुन्छ। तर, कुनै खास आदिवासी समुदायको संस्कृति नै कथाको आधार बनेपछि कल्पना र सांस्कृतिक यथार्थबीच सन्तुलन कायम गर्नु लेखकको नैतिक जिम्मेवारी पनि हुन्छ।

तर, थारू समुदायको मृत्यु संस्कार उमेर, वैवाहिक अवस्था, मृत्युको कारण, सामाजिक स्थिति र जातीय परम्पराअनुसार फरक फरक हुन्छ। विशेषगरी अबोध बालबालिकाको मृत्युमा वयस्क व्यक्तिसरह सबै धार्मिक प्रक्रिया लागु नहुने परम्परा छ। यस्तो अवस्थामा कथाले समुदायभित्रको सांस्कृतिक विविधतालाई नसमेटी एउटा असाधारण अवस्थालाई सामान्य सामाजिक व्यवहारका रूपमा चित्रण गरेको देखिन्छ।

साहित्यमा कल्पनाको स्वतन्त्रता हुन्छ। तर, कुनै खास आदिवासी समुदायको संस्कृति नै कथाको आधार बनेपछि कल्पना र सांस्कृतिक यथार्थबीच सन्तुलन कायम गर्नु लेखकको नैतिक जिम्मेवारी पनि हुन्छ।

कथाको भावनात्मक प्रभाव बढाउन कुनै संस्कृतिलाई आवश्यकताभन्दा बढी बनावटी, अन्धविश्वासी, अमानवीय वा कठोर रूपमा प्रस्तुत गरियो भने त्यसले सम्बन्धित समुदायप्रति पूर्वाग्रह निर्माण गर्ने सम्भावना बढाउँछ। विशेषगरी उक्त समुदायबारे पर्याप्त जानकारी नभएका पाठकले कथामा प्रस्तुत धारणालाई नै यथार्थ ठान्न सक्छन्।

परम्परागत थारू घर पूर्ण रूपमा ध्वस्त हुँदा पनि कुलदेवता स्थापना गरिएको पवित्र स्थान ‘डिउर्हार’ बारे परिवार वा गाउँका जानकार व्यक्ति पूर्ण रूपमा अनभिज्ञ रहने सम्भावना न्यून हुन्छ।

यस दृष्टिले हेर्दा ‘सिँहुर’ मा दुई निर्दोष बालिकाको मृत्युबाट उत्पन्न स्वाभाविक मानवीय संवेदनालाई थारू संस्कारसँग गाँसेर पाठकमा गहिरो भावनात्मक प्रतिक्रिया उत्पन्न गर्ने प्रयास गरिएको छ। यसले कथाको साहित्यिक प्रभाव बढाए पनि थारू समुदायको सांस्कृतिक यथार्थ र मृत्यु संस्कारमा रहेको विविधतालाई पर्याप्त न्याय गर्न सक्दैन।

फलतः कथा करुण रस सिर्जना गर्न सफल भए पनि सांस्कृतिक प्रतिनिधित्वका दृष्टिले प्रश्नहरूको सामना गर्नुपर्ने अवस्थामा पुगेको छ।

वास्तुकलाको चित्रणमा असंगति

कथामा भत्किएको घरको चित्रण गर्दा पनि थारू समुदायको परम्परागत वास्तुकलासँग सम्बन्धित तथ्यगत असंगति देखिन्छ। समुदायको जीवन र संस्कृतिलाई कथाको मुख्य आधार बनाउँदा यस्तो असंगतिले कथाको सांस्कृतिक विश्वसनीयतामाबारे प्रश्न उठाउँछ।

कुनै पनि आदिवासी समुदायको वास्तुकला केवल घर निर्माणको शैलीमा सीमित हुँदैन। त्यो समुदायको पहिचान, धार्मिक आस्था, विश्वास, सामाजिक संरचना र सांस्कृतिक जीवनसँग गाँसिएको हुन्छ। त्यसैले वास्तुकलाको चित्रणमा देखिने सामान्य त्रुटिले पनि समग्र सांस्कृतिक प्रतिनिधित्वलाई प्रभावित गर्न सक्छ।

थारू समुदायमा परम्परागत रूपमा घर निश्चित सांस्कृतिक मान्यता र दिशागत अवधारणाअनुसार निर्माण गरिन्छ। अधिकांश थारू बस्तीमा घर उत्तर-दक्षिण अक्षमा आयाताकार रूपमा बनाइन्छ। घरको सबैभन्दा उत्तर-पूर्वी भागमा ‘डिउर्हार’ अर्थात् पवित्र स्थान हुन्छ, जहाँ कुलदेवता वा घरका देवताको स्थापना गरिन्छ। त्यसैगरी उत्तर-पश्चिमतर्फ भान्साको व्यवस्था गरिन्छ। यी संरचना वास्तुकलाका प्राविधिक पक्ष मात्र होइनन्, थारू समुदायको धार्मिक आस्था र सांस्कृतिक अनुशासनका अभिन्न अंग हुन्।

तर, ‘सिँहुर’ मा प्यारेलालको घर भत्किएपछि बरघरले घरमा कुलदेवता भेटाउन नसकेको प्रसंग प्रस्तुत गरिएको छ। कथामा चित्रण गरिएको घरमा कुलदेवता स्थापना गरिएको थियो भने त्यो घर परम्परागत थारू वास्तुकलाअनुसार नै निर्माण गरिएको हुनुपर्थ्यो।

‘सिँहुर’ मा थारू वास्तुकलाको प्रयोग सांस्कृतिक पृष्ठभूमि निर्माण गर्ने प्रयासका रूपमा देखिए पनि त्यसको आन्तरिक संरचना, दिशागत व्यवस्था र कुलदेवतासम्बन्धी परम्परागत अवधारणाको चित्रणमा क्रमभंगता देखिन्छ।

त्यस्तो अवस्थामा कुलदेवता राखिएको स्थानबारे यति ठूलो भ्रम र अन्योल सिर्जना गर्न कथामा अतिरिक्त जोड दिन आवश्यक देखिँदैन। परम्परागत थारू घर पूर्ण रूपमा ध्वस्त हुँदा पनि कुलदेवता स्थापना गरिएको पवित्र स्थान ‘डिउर्हार’ बारे परिवार वा गाउँका जानकार व्यक्ति पूर्ण रूपमा अनभिज्ञ रहने सम्भावना न्यून हुन्छ। यसर्थ कथाले वास्तुकलाको सांस्कृतिक संरचना र त्यससँग सम्बन्धित धार्मिक अभ्यासबीचको सम्बन्धलाई पर्याप्त रूपमा आत्मसात् गर्न नसकेको देखाउँछ।

कुलदेवता नभेटिएको घटनालाई कथाको द्वन्द्व थप नाटकीय बनाउने माध्यमका रूपमा प्रयोग गरिएको प्रतीत हुन्छ। तर, त्यसका लागि थारू वास्तुकलाको स्थापित सांस्कृतिक संरचनालाई कमजोर बनाइएको छ, जुन अत्यन्त संवेदनशील पक्ष हो।

त्यसैले ‘सिँहुर’ मा थारू वास्तुकलाको प्रयोग सांस्कृतिक पृष्ठभूमि निर्माण गर्ने प्रयासका रूपमा देखिए पनि त्यसको आन्तरिक संरचना, दिशागत व्यवस्था र कुलदेवतासम्बन्धी परम्परागत अवधारणाको चित्रणमा क्रमभंगता देखिन्छ।

यही कारण कथा साहित्यिक रूपमा प्रभावशाली भए पनि थारू वास्तुकलाको यथार्थपरक प्रतिनिधित्व गर्न पूर्ण रूपमा सफल देखिँदैन। आदिवासी समुदायको वास्तुकला, धार्मिक विश्वास र सांस्कृतिक प्रतीकलाई साहित्यमा समेट्दा गहिरो अध्ययन, समुदायको मौखिक ज्ञान र स्थानीय अभ्यासप्रतिको सम्मान अपरिहार्य हुन्छ।

दुःखले थिचिएको पात्र

कथाको मुख्य पात्र प्यारेलाल निरन्तर दुःख, अभाव र विपत्तिको सिकार बनेको पात्र हो। कथाको आरम्भदेखि अन्त्यसम्म उसको जीवनमा एकपछि अर्को संकट आइरहन्छ।

प्राकृतिक विपत्तिका कारण आफ्ना दुई नाबालिग छोरी गुमाउनु, आर्थिक अभावका कारण जमिनदारको ऋणमा बाँधिनु, जीवन सुधार्ने आशाले किनेको खेत बबई नदीले बगर बनाइदिनु र अन्ततः गाउँ नै छोड्ने निर्णयमा पुग्नु जस्ता घटनाले उसलाई अत्यन्त निरीह र असहाय पात्रका रूपमा प्रस्तुत गरेका छन्।

प्यारेलालले खेत किनेर आफ्नो जीवन बदल्ने सपना देख्नु उसको संघर्षशील पक्ष हो। तर, लेखकले त्यस सम्भावनालाई पनि बबई नदीको धार परिवर्तनसँगै समाप्त गरिदिन्छन्। यस घटनाले प्राकृतिक विपत्तिको यथार्थ त प्रस्तुत गर्छ तर पात्रको विकासको सम्भावनालाई कमजोर बनाउँछ।

ढोकामा ठोकिएको सिँहुर केवल काठको टुक्रा होइन। त्यो गाउँसँगको सम्बन्धविच्छेद, निराशा, पलायन, पराजय, सामाजिक अस्तित्वको अन्त्य र हारप्रतिको आत्मसमर्पणको प्रतीक बनेर देखा पर्छ।

गाउँ छोड्ने प्यारेलालको निर्णय पनि प्रतिरोधभन्दा पलायनको संकेतका रूपमा देखा पर्छ। उसले समस्याको सामना गर्नुभन्दा परिस्थितिबाट टाढा जाने बाटो रोज्छ।

यस निर्णयले पात्रको मानसिक थकान र सामाजिक पराजयलाई अभिव्यक्त गरे पनि पाठकमा आशा, परिवर्तन वा संघर्षको सम्भावना कम गराउँछ। फलस्वरूप कथा समाप्त हुँदा पाठकले समाधानभन्दा बढी निराशा र हताशा अनुभव गर्न सक्छन्।

उसको जीवनमा दुःखका अनेक तह थपिएका छन्। तर, ती दुःखविरुद्ध लड्ने क्षमता, प्रतिरोधको चेतना वा आत्मविश्वासको विकास कथामा देखिँदैन।

‘सिँहुर’ को शक्तिशाली प्रतीक

कथाको अन्त्यतिर माघेले एक्कासि प्यारेलालको ढोकामा सिँहुरको काठ ठोकिएको देख्ने प्रसंग अत्यन्त प्रतीकात्मक छ। प्यारेले ‘एउटा सल्लाह लिए पनि हुन्थ्यो’ भन्ने आत्मग्लानियुक्त भाव व्यक्त गर्नुले केवल एक व्यक्तिले गाउँ छोडेकामा दुःख प्रकट गर्दैन। त्यसले एउटा सम्बन्ध, समुदाय र विश्वास टुटेको पीडा पनि अभिव्यक्त गर्छ।

लेखकले यस प्रसंगमा ‘सिँहुर’ लाई अब कहिल्यै नफर्किने गरी बसाइँ सरेको अवस्थाको साहित्यिक बिम्बका रूपमा प्रयोग गरेका छन्। साहित्यिक दृष्टिले यो अत्यन्त शक्तिशाली प्रतीक हो। ढोकामा ठोकिएको सिँहुर केवल काठको टुक्रा होइन। त्यो गाउँसँगको सम्बन्धविच्छेद, निराशा, पलायन, पराजय, सामाजिक अस्तित्वको अन्त्य र हारप्रतिको आत्मसमर्पणको प्रतीक बनेर देखा पर्छ।

ऐतिहासिक र परम्परागत रूपमा समृद्ध थारू समुदायको मौलिक संस्कारबारे पर्याप्त अनुसन्धान नगरी कथा लेखिएको भान हुन्छ। कुनै जीवित समुदायको मूल आस्था, चालचलन र सामाजिक मूल्यमान्यतालाई यथार्थभन्दा फरक ढंगले प्रस्तुत गर्दा त्यसले पाठकमा गलत धारणा र भ्रम पैदा गर्न सक्छ।

यस बिम्बले पाठकमा गहिरो भावनात्मक असर पार्छ। तर, त्यसले आशा, प्रतिरोध वा पुनर्निर्माणको सम्भावनालाई विस्तार गर्न सक्दैन। मुख्य पात्रहरूको भविष्य अन्योलपूर्ण देखिन्छ र उनीहरू पीडाबाट मुक्त हुने स्पष्ट संकेत पाइँदैन। कथामा शक्तिशाली रूपमा उज्यालो सम्भावना अभिव्यक्त हुन नसकेकाले ‘सिँहुर’ को प्रतीक साहित्यिक रूपमा सफल भए पनि वैचारिक रूपमा एकपक्षीय र अत्यधिक नैराश्यमुखी प्रतीत हुन्छ।

गहिरो अनुसन्धानको आवश्यकता

ऐतिहासिक र परम्परागत रूपमा समृद्ध थारू समुदायको मौलिक संस्कारबारे पर्याप्त अनुसन्धान नगरी कथा लेखिएको भान हुन्छ। कुनै जीवित समुदायको मूल आस्था, चालचलन र सामाजिक मूल्यमान्यतालाई यथार्थभन्दा फरक ढंगले प्रस्तुत गर्दा त्यसले पाठकमा गलत धारणा र भ्रम पैदा गर्न सक्छ।

थारू समुदायको आफ्नै विशिष्ट जीवनशैली, प्रकृतिसँगको सामीप्य, भाषा, धर्म, संस्कार, संस्कृति, वास्तुशैली, भेषभूषा, रहनसहन, चाडपर्व र पूजापद्धति छन्। यस्ता परम्परागत अभ्यासको अपव्याख्या वा अवमूल्यन हुने गरी साहित्य सिर्जना गर्नु उचित हुँदैन।

साहित्यको उद्देश्य समाजको यथार्थ देखाउनु मात्र होइन। सामाजिक सद्‌भाव, पारस्परिक सम्मान, संस्कार र संस्कृतिको संरक्षण तथा अभिलेखीकरण र मानवीय मूल्य-मान्यतालाई सुदृढ बनाउनु पनि हो।

आख्यानले कुनै समुदायको जीवनशैली, परम्परा वा सांस्कृतिक अभ्यास प्रस्तुत गर्दा त्यसलाई सम्मानपूर्ण, तथ्यपरक र पूर्वाग्रहविहीन ढंगले चित्रण गर्नुपर्छ।

यथार्थ चित्रण गर्ने क्रममा प्रयोग गरिने अमर्यादित वा कठोर भाषाले कथाको आवश्यकता पूरा गर्न सक्छ। तर, त्यसको प्रयोग संयमित, सन्दर्भअनुकूल र कलात्मक हुनुपर्छ, ताकि कुनै समुदाय वा व्यक्तिको आत्मसम्मानमा अनावश्यक चोट नपुगोस्।

साहित्यको उद्देश्य समाजको यथार्थ देखाउनु मात्र होइन। सामाजिक सद्‌भाव, पारस्परिक सम्मान, संस्कार र संस्कृतिको संरक्षण तथा अभिलेखीकरण र मानवीय मूल्य-मान्यतालाई सुदृढ बनाउनु पनि हो।

त्यसैले दहाड जस्ता यथार्थपरक कृतिमा विविध समुदायको सांस्कृतिक गरिमा, भाषिक मर्यादा तथा सामाजिक र सांस्कृतिक संवेदनशीलतालाई अझ प्राथमिकता दिइए कृतिको प्रभाव र स्वीकार्यता थप व्यापक बन्न सक्छ। नेपाल न्यूजबाट ।