आज थारु समुदायको गुरही पर्व
कैलाली । आज थारु समुदायको गुरही पर्व हो । विभिन्न ठाउँमा नाचगानसहित गुरही पर्व मनाउन लागिएको हो ।
गुरही बालबालिकासँग सम्बन्धित पर्व रहे पनि पछिल्लो समय युवायुवतीसहित सबै उमेरका व्यक्तिले मनाउने गरेका छन् । यो पर्वमा कपडाको गुरहा गुरही बनाएर साँझा चौबाटोमा सेलाउने चलन छ ।
बालिका वा केटीहरूले गुरहीसहित घुघ्री (मकै, केराउ वा चनाको भुजा) संगै गुरहा, गुरही लिएर अस्राउन (सेलाउन) निस्कन्छन् । अस्रराएको गुरहीलाई सोंता वा लट्ठीले बालक, केटाहरूले ‘दे घुघ्री दे घुघ्री’ भन्दै ठटाउने÷पिट्ने चलन रहेको छ । यसलाई स्थानीय भाषामा गुरही अस्रैना भनिन्छ ।
गुरही पर्व मनाउनाले बालबालिकालाई रोगव्याधीबाट छुटकारा मिल्ने जनविश्वास छ । यसै गरी, उनीहरूलाई आँखा पाक्ने, ज्वरो आउने जस्ता समस्या नहुने विश्वास गरिन्छ । गुरहीलाई ठटाउनु, पिट्नुको अर्थ रोगव्याधीलाई पिटेर गाउँबाट धपाएको बुझिन्छ ।
यो पर्वलाई थारु गाउँमा पहिलो पर्वको रूपमा मान्ने गर्दछन् । गुरही पर्वलाई २०६७ सालबाट धनगढीमा संस्थागत रूपमा मनाउँदै आइएको छ । नयाँ पुस्तालाई संस्कृति हस्तान्तरण गर्ने उद्देश्यले सखी सञ्जाल, थारु कल्याणकारिणी सभा, आदीबासी जानजाती पत्रकार महासंघ, थारु पत्रकार संघ, थारु लेखक संघ, थारु विद्यार्थी समाज, कमैया प्रर्था उन्मुलन समाज लगायत दर्जनबढी संघसंस्थाको सहकार्यमा धनगढीको संस्थागत रूपमा गुरही पर्व मनाउन थालियो ।
साथै यी संघसंस्थाको नेतृत्वमा गुरही पर्वको दिन सार्वजनिक बिदाको लागिपनि पहल भयो । अनततः सरकारले धनगढीस्थित गुरही चौकमा गुरहीको मूर्ति निर्माण समेत गरेको छ । विगत केही वर्षदेखि स्थानीय तहले सार्वजनिक बिदापनि दिदै आईरहेको छ ।













