चन्द्रपुरमा मेयर–अधिकृत विवादको असर नगर सेवामा
रौतहट, साउन २९ । चन्द्रपुर नगरपालिकामा नगर प्रमुख सञ्जयकुमार काफ्ले र प्रमुख प्रशासकीय अधिकृत बद्रीराज ढकालबीचको विवादले प्रशासनिक कामकाज प्रभावित हुने जोखिम बढाएको छ। सार्वजनिक रूपमा विवाद नरहेको दाबी गरिए पनि मन्त्रालयमा अधिकृतको सरुवा मागिएको पत्र बाहिरिएपछि नगरको आन्तरिक अवस्था थप पेचिलो बनेको हो।
साउन २६ गते आयोजित पत्रकार सम्मेलनमा मेयर काफ्लेले ढकाललाई दक्ष, योग्य र प्रशासनिक विषयमा जानकार कर्मचारीका रूपमा प्रशंसा गरेका थिए। उनले आफू र अधिकृतबीच राम्रो सम्बन्ध रहेको दाबी गरेका थिए।
तर साउन १७ गते मन्त्रालयमा पठाइएको पत्रमा भने ढकालको कार्यसम्पादनमाथि प्रश्न उठाउँदै सरुवा गर्न आग्रह गरिएको बताइएको छ। पत्रमा जनप्रतिनिधि तथा कर्मचारीसँग समन्वय गर्न नसकेको र जनगुनासो बढेको आरोप लगाइएको छ।
केही दिनको अन्तरमा एउटै अधिकृतबारे आएको दुई फरक धारणा अहिले चन्द्रपुरमा बहसको विषय बनेको छ। नगरवासीले सार्वजनिक अभिव्यक्ति र मन्त्रालयमा गरिएको पत्राचारमध्ये वास्तविक धारणा कुन हो भन्ने प्रश्न उठाएका छन्।













