थारू पहिरनको मौलिकतासंगै बाँसुरीको धुनमा ‘टङ्कु’
दाङ । तुलसीपुर उपमहानगरपालिका–१८, बिजौरीका टङ्कु चौधरी उमेरले ७० वर्षको उकालो लागिसके । तर उनी आफ्नै मौलिक संस्कृतिप्रतिको लगाव र उत्साह भने छोडेका छैनन् ।
आधुनिकताको प्रभावसँगै गाउँघरका परम्परागत संस्कृति, मौलिक भेषभूषा र बाजागाजा ओझेलमा पर्दै गएका बेला उनी बाँसुरीको मधुर धुनसँगै थारू समुदायको मौलिक पहिचान जोगाउन निरन्तर लागिपरेका छन् । यही समर्पणका कारण स्थानीयवासीले उनलाई स्नेहपूर्वक ‘बाँसुले बाजे’ भनेर चिन्ने गरेका छन् ।
टाउकोमा पग्या, शरीरमा टेनिह्वा, झुल्वा, लगौटी र अन्य परम्परागत थारू पहिरनमा सजिएर बाँसुरी बजाउने उनको उपस्थिति अहिले थारू संस्कृतिको जीवित परिचय बनेको छ । जहाँ सांस्कृतिक कार्यव्रmम हुन्छ, त्यहाँ उनको बाँसुरीको धुनले थारू मौलिकताको सन्देश फैलाउने गरेको स्थानीयवासी बताउँछन् ।
उनले आफू करिब पाँच दशकअघि, २० वर्षको उमेरदेखि थारू समुदायमा प्रचलित सानो बाँसुरी ‘बस्या’ बजाउन सुरु गरेको बताए । अहिले पनि गाउँघरका सांस्कृतिक तथा सामाजिक कार्यव्रmममा उनलाई विशेष रूपमा निमन्त्रणा गरिन्छ ।
“२० वर्षको उमेरदेखि ‘बस्या’ बजाउँदै आएको छु । गाउँघरका कार्यव्रmममा बोलाउँछन् । म यसका लागि कुनै शुल्क लिँदिनँ,” उनले भने । उनले बाँसुरी जीविकोपार्जनको माध्यम नभएर हाम्रो संस्कृतिप्रतिको लगाव र आत्मिक सन्तुष्टिका लागि बजाउँदै आएको बताए । “बाँसुरी बजाउँदा मनलाई आनन्द मिल्छ । त्यसैले आजसम्म यसलाई निरन्तरता दिएको हुँ । भेग्वा, टेनिह्वा, झुल्वा र पग्या हाम्रो पहिचान हुन् । नयाँ पुस्ताले पनि आफ्ना मौलिक पहिरन र संस्कृतिलाई चिन्न र जोगाउनु पर्छ,” उनले भने ।
थारू लोकगीत सज्ना, मैना, माँगर गीत पनि उत्तिकै गाउन सिपालु टङ्कुको बाँसुरीको धुनसँगै थारू पहिरनको मौलिकता गाउँदेखि सहरसम्म पुगिरहेको छ ।













