दाजुभाइको दीर्घ जीवनकालागि रानाथारू महिलाले मनाए तिज
कैलाली । आफ्ना दाजुभाइ र भतिजाको दीर्घ जीवनका लागि निराहार व्रत बसेर शनिबार धुमधामका साथ रानाथारू महिलाले तिज पर्व मनाइएको छन् ।
सुदूरपश्चिम प्रदेशको तराईमा बसोबास गर्ने रानाथारू समुदायले आफ्नो महान् तिज पर्व मनाएको हो । दसैँ, तिहार खासै नमनाउने यो समुदायका मानिसले भव्यताका साथ तिज पर्व मनाउने गरेका छन् । धनगढी उपमहानगरपालिका–८, धनगढीगाउँका पूर्वभलमनसा सन्तराम रानाका अनुसार समुदायका महिलाले आफ्ना दाजुभाइ र भतिजाको लामो आयु, सुस्वास्थ्यको कामनासहित दिनभरि निराहार व्रत बसेर तिज पर्व मनाएका हुन् ।
तिजको दिन दिनभरि व्रत बसेर अपराह्न वा बेलुकातिर नदीमा गई पूजा गर्ने चलन रहेको बताइएको छ । व्रतालु महिलाले सामनकी डोला बनाउन प्रयोग गरिएको डोरी ९मुरिया० काटेर र कुशको झुरकी बनाएर लग्ने चलन रहेको छ । विवाहित व्रतालुले सात वटा गाँठो र अविवाहितले पाँच वटा गाँठो पारी झुरकी बनाउने चलन छ ।
व्रतालुले मुरिया र झुरकीलाई नदीको धारमा सेलाउन गरेको जनाइएको छ । यसरी नदीमा सेलाएको मुरिया र झुरकी जति टाढा जान्छ, दाजुभाइ र भतिजाको आयु त्यति नै लामो हुने जनविश्वास रहेको धनगढी उपमहानगरपालिका–१०, घुइयाँघाटका बालिकराम रानाले बताए ।
यो पर्वमा पूजाआजापछि व्रतालुसहित घरपरिवार सबै मिलेर सिमही, पुरी, गुलगुला, पकौडा, पपरालगायतका मिठा मिठा परिकार खाने चलन रहेको छ । यसै गरी दाजुभाइले व्रतालुलाई आशिषका साथै सकेको दक्षिणा पनि दिने चलन छ ।













