अपि हिमालमा पर्यटन उत्सव मनाउने तयारी

दार्चुला । दार्चुलाको अपि हिमाल गाउँपालिकामा अपि हिमाल पर्यटन उत्सव मनाइने भएको छ । गाउँपालिकाले आउँदो १७ गतेदेखि १९ गतेसम्म उत्सव मनाउने तयारी गरेको हो ।

पर्यटन गतिविधि बढाउँदै स्थानीयको रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गर्न र ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउने उद्देश्यले उत्सव आयोजना गर्न लागिएको गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहोराले जानकारी दिए ।

उनका अनुसार चालु आव २०८३र८४ को नीति तथा कार्यव्रmमको उद्देश्य पूरा गर्ने गरी उत्सव सञ्चालन गर्न लागिएको हो । उत्सव अपि हिमाल गाउँपालिका–१ स्थित अपि हिमाल बेसक्याम्पको पिलकन्दमा आयोजना गरिने छ । उनले उत्सवसँग सम्बन्धित अन्य गतिविधि गाउँपालिकाका विभिन्न क्षेत्रमा समेत सञ्चालन गरिने बताए । एकीकृत पर्यटन उत्सव भएकाले गाउँपालिकाका सबै क्षेत्र लाभान्वित हुने अपेक्षा गरिएको छ ।

अपि हिमाल बेसक्याम्पको पर्यटन प्रवर्धन तथा पर्यटकीय गतिविधि विस्तारका लागि गाउँपालिकाले विभिन्न कार्यव्रmम सञ्चालन गर्दै आएको छ । उत्सव व्यवस्थित रूपमा सञ्चालन गर्न गाउँपालिका अध्यक्षको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । समितिमा गाउँपालिका उपाध्यक्ष, सबै वडाका वडाध्यक्षलगायत सदस्य रहने तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई सदस्य सचिवको जिम्मेवारी दिइएको गाउँपालिकाले जनाएको छ ।

अपि हिमाललाई पर्यटनको गन्तव्य बनाउने लक्ष्य

प्राकृतिक सौन्दर्यले भरिएको अपि हिमाललाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य गाउँपालिकाले लिएको छ । ग्रामीण पर्यटनको विकासमा योगदान पु(याएको भन्दै सरकारले समेत सम्मान गरेको अध्यक्ष बोहोराले बताए । पर्यटन पूर्वाधार निर्माण र पदमार्ग विस्तारलाई प्राथमिकता दिँदै अपि हिमाललाई सुदूरपश्चिमकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने प्रयास भइरहेको उनको भनाइ छ ।

अध्यक्ष ठेकरे बोहोराका अनुसार पछिल्लो समय वार्षिक पाँच हजार जनाभन्दा बढी पर्यटक अपि हिमाल पुग्ने गरेका छन् । उनले भने, “यो वर्षभित्र पर्यटकको सङ्ख्या १० हजार पुर्याउने लक्ष्य गाउँपालिकाले लिएको छ ।’’ अपि हिमाल गाउँपालिका सरकारले पहिचान गरेका सय पर्यटकीय गन्तव्यभित्रसमेत परेको छ ।

अध्यक्ष बोहोराले भने, “अबको प्राथमिकता निर्माण भएका पूर्वाधारलाई दिगो बनाउँदै रोजगारी र आयआर्जनसँग जोड्ने छ । गाउँपालिकालाई प्रविधिमैत्री, आत्मनिर्भर र प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य छ ।”