डरमा बितेको त्यो दसैँ

दसैँमा धेरैका घरमा खुसी र उल्लास छाउँछ। हिन्दू धर्मावलम्बीले विशेष महत्त्वका साथ मनाउने यो पर्वलाई असत्यमाथि सत्य र अधर्ममाथि धर्मको विजयका रूपमा लिइन्छ। तर, मेरो जीवनमा गत वर्षको दसैँ उत्सवभन्दा बढी डर र पीडाको समय बन्यो।

हाम्रो घरमा २०६४ सालदेखि दसैँको टीका लगाउने चलन छैन। बुवाहरू छुट्टिएपछि घरका कुलदेवता ठुलोबुवाले आफूसँगै राख्नुभयो। त्यसपछि पूजापाठ र दसैँको टीका ठुलोबुवाकै घरमा हुन थाल्यो। त्यसबेलासम्म दसैँमा केही रमाइलो हुन्थ्यो। तर, २०८२ सालको दसैँ नजिकिँदै गर्दा हाम्रो परिवारमा शोक छायो।

त्यस वर्ष घटस्थापना असोज ६ गते परेको थियो भने विजयादशमी असोज १६ गते थियो। घटस्थापनाकै दिन बिहान ठुलीआमाको मृत्यु भयो। सबैका घरमा दसैँको तयारी भइरहेका बेला हाम्रो घरमा भने रुवाबासी चल्यो।

शोककै बीच समाचार लेखन

जेन(जी आन्दोलनका कारण २०८२ सालको दसैँ देशकै लागि पीडादायी बनेको थियो। त्यसमाथि ठुलीआमाको मृत्युले मलाई थप दुःखी बनाएको थियो। आन्दोलनका क्रममा सुदूरपश्चिम प्रदेशमा तोडफोड गर्नेहरूका भिडियो मैले सुरक्षित राखेकी थिएँ। आमाको मृत्युपछि घरमा खाली बस्नुभन्दा तिनै भिडियोका आधारमा हिमालखबरका लागि एउटा समाचार तयार पारेँ।

‘सुदूरपश्चिम प्रदेशको कार्यालयमा भएको तोडफोडमा दलकै कार्यकर्ताको हात’ शीर्षकको मेरो समाचार असोज ११ गते हिमालखबरमा प्रकाशित भयो।

त्यस दिन ठुलीआमाको अन्तिम संस्कारसम्बन्धी काजक्रिया पनि थियो। बिहानै समाचार प्रकाशित भइसकेको रहेछ, तर मैले हेर्न भ्याएकी थिइनँ। काजक्रियाका काममा व्यस्त थिएँ। थारू समुदायमा काजक्रियाको दिन बिहानै नजिकको नदी वा तलाउमा गएर नुहाउने चलन छ। मैले पनि त्यही परम्पराअनुसारका प्रक्रिया पूरा गरेँ।

समाचारमा उल्लेख गरिएका व्यक्तिहरूले मलाई पटकपटक फोन गरेका रहेछन्। तर, व्यस्तताका कारण मैले फोनमा ध्यान दिन सकिनँ। सबै काम सकेर मोबाइल हेर्दा धेरैवटा म्यासेज र सेभ नगरिएका नम्बरबाट आएका मिस्ड कल देखेँ। म्यासेज खोल्दा समाचारलाई लक्षित गरी पठाइएका धम्कीपूर्ण सन्देश थिए।

त्यो रात म राम्ररी सुत्न सकिनँ। भोलिपल्ट बिहानै तीमध्ये एउटा नम्बरमा फोन गरेँ। उताबाट निकै आक्रोशित आवाजमा समाचार हटाउन भनियो। फोनमा उनले भने, “तिमीले फोन नउठाउँदा तिम्रो घरसम्मै खोज्न गयौँ। तर त्यहाँ धेरै मान्छे थिए, तिमीलाई देखेनौँ। तिम्रो त पूरा कुण्डली थाहा छ। अहिलेलाई समाचार डिलिट गर, नत्र‘” यति भनेर उनले फोन राखे।

मैले समाचार हटाउन नसक्ने र आफूसँग सबै प्रमाण सुरक्षित रहेको जवाफ दिएँ। समाचारमा चित्त नबुझे कानुनी प्रक्रियामा जान सक्ने भन्दै म्यासेज पठाएँ। तर, उनीहरूले पटकपटक समाचार हटाउन आग्रह गरिरहे।

घर छाडेर धनगढी

भदौ २३ र २४ गतेको घटना मेरो दिमागबाट हटिसकेको थिएन। आन्दोलनको एक साताभित्रै आफूलाई जेनजी बताउने व्यक्तिहरूबाट धम्की खेप्नुपर्दा म असुरक्षित महसुस गर्न थालेँ। त्यसैले बिहानै स्कुटर लिएर बाटो छल्दै धनगढी पुगेँ।

गाउँमा दसैँ सुरु भइसकेको थियो। सबैका अनुहारमा खुसी देखिन्थ्यो। तर, म भने मलिन अनुहार लिएर धनगढी पुगेकी थिएँ। दसैँका कारण कार्यालयहरू बन्द थिए। मैले नेपाल पत्रकार महासंघ, कैलाली शाखालाई आफ्नो अवस्थाबारे जानकारी गराएँ। बिदाको समय भएकाले महासंघबाट पनि तत्काल कुनै सहयोग पाउन सकिनँ।

आफूलाई निकै असुरक्षित महसुस हुन थालेपछि धनगढीस्थित एउटा बालगृहमा आश्रय लिएँ। दसैँका बेला बजार त्यसै पनि सुनसान हुन्छ। त्यस्तो अवस्थामा एक्लै समय बिताउन मलाई निकै गाह्रो हुन्थ्यो। बालगृहमा साढे दुई वर्षका जुम्ल्याहा बच्चाहरू मेरा साथी बनेका थिए। बालगृहमा बसे पनि फोन आउन रोकिएन। पटकपटक फोन गरेर मलाई तनाव दिइरहे। अन्ततः मोबाइल बन्द गरेर बसेँ।

धनगढी नजिकैको मजगाउँमा सखिया नाच देखाइँदै थियो। मलाई नाच असाध्यै मन पर्छ। तर, नजिकै हुँदा पनि त्यो नाच हेर्न जान सकिनँ। ठुलीआमाको मृत्युले मन अशान्त थियो। त्यसमाथि समाचार लेखेकै कारण धम्की आउँदा बेचैनी झन् बढेको थियो।

एक साता त्यही बालगृहमा बसेँ। आफ्नो सुरक्षाका लागि राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक कार्यालय र जिल्ला प्रशासन कार्यालयलगायत निकायमा फोन गरेर घटनाबारे जानकारी गराएँ। तर, सबै ठाउँबाट कार्यालय खुलेपछि निवेदन दिनुहोला भन्ने जवाफ पाएँ। त्यो बेला आफ्नो सुरक्षा आफैँले गर्नुपर्ने रहेछ भन्ने महसुस भयो। मेरो आवाज सुनिदिने कोही नभएको जस्तो लाग्यो।

सुरक्षा माग्न जाँदा उल्टै प्रश्न

आठौँ दिन सरकारी कार्यालय खुलेपछि सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय पुगेँ। तर, त्यहाँ मैले समाचार लेख्दा ध्यान दिनुपर्ने भन्दै उल्टै सम्झाइयो। मैले प्रमुख जिल्ला अधिकारीलाई आफूले लेखेको समाचारको लिङ्क खोलेर पढ्न आग्रह गरेँ।

उहाँले यस्तो माहोलमा किन समाचार लेखेको र जोखिमको ख्याल गर्नुपर्ने बताउनुभयो। त्यसपछि निवेदन छाडेर जान र आफूले बुझ्ने भन्नुभयो। मैले पत्र बुझाएर फर्किएँ।

त्यसपछि जिल्ला प्रहरी कार्यालय पुगेँ। त्यहाँ जाँदा मलाई धम्की दिने व्यक्तिले नै मविरुद्ध उजुरी दिएको थाहा पाएँ। उनले इलाका प्रहरी कार्यालयमा साइबर अपराधसम्बन्धी उजुरी दिएका रहेछन्। प्रहरीले विस्तृत प्रमाण लिएर आउन भनेपछि उनी फेरि प्रहरी कार्यालयमा नआएको जानकारी पाएँ।

समस्या पर्दा सम्बन्धित निकायबाट अपेक्षित सहयोग पाएको महसुस गर्न सकिनँ। आफूलाई परेको समस्या कसरी टुंग्याउने भन्ने चिन्ता भइरह्यो।

दुई सातापछि माफीको फोन

त्यही क्रममा दाङका थारू बुद्धिजीवी अशोक थारूसँग फोनमा कुरा भयो। उहाँलाई आफ्नो समस्याबारे बताएपछि सम्बन्धित पार्टीका नेताहरूसँग छलफल गर्न सुझाव दिनुभयो। मैले पनि छलफलको वातावरण मिलाइदिन आग्रह गरेँ।

त्यसपछि उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का नेताहरूसँग कुरा गर्नुभयो। त्यसको करिब दुई सातापछि मलाई धम्की दिने व्यक्तिले फेरि फोन गरे। यसपटक उनको बोली पहिलेभन्दा नम्र थियो। उनले माफी मागे। त्यसपछि भने म केही ढुक्क भएँ। घरबाहिर निस्कँदा र हिँडडुल गर्दा पहिले जस्तो डर लाग्न छाड्यो।

दसैँ मेरा लागि परिवारसँग भेटघाट गर्ने, आफन्तसँग रमाउने र आफ्नो संस्कृतिसँग जोडिने समय हुनुपर्ने थियो। तर, गत वर्ष ठूलो आमाको मृत्युको शोक र समाचार लेखेकै कारण खेप्नुपरेको धम्कीले त्यो समय त्रासमै बित्यो।

पत्रकारितामा समाचार लेख्नु मेरो काम थियो। तर, समाचारकै कारण घर छाडेर बस्नुपर्ने अवस्था आउला र सुरक्षाका लागि गुहार माग्दा पनि तत्काल सहयोग पाउन सकिएला भन्ने मैले सोचेकी थिइनँ। त्यो दसैँले मलाई व्यक्तिगत पीडा मात्रै दिएन, असुरक्षाको अवस्थामा पत्रकारले भोग्नुपर्ने कठिनाइ पनि नजिकबाट चिनायो। नेपालन्यूजबाट । https://nepalnews.com/2026/10/20/that-dashain-spent-in-fear/?fbclid=IwY2xjawVGpOtleHRuA2FlbQIxMQBwZG9mBXNydGMGYXBwX2lkEDIyMjAzOTE3ODgyMDA4OTIAAR7GAg_aoynaRXGtjcoNFs7SVwSkFaLmuMw3uFcm2wrXHGqnl85OEqOGhSH6GQ_aem_eIR42BxNH8JbUFWWbU-pSg