हिल्सामा पुल बन्यो, सञ्चालनमा आउन सकेन
हुम्ला । नेपाल र चीनको सिमाना हिल्सामा निर्माण कार्य पूरा भएको दुई देशबिचको मैत्रीपुलको उद्घाटन यस पटक नहुने भएको छ । पुल उद्घाटन गर्न चिनियाँ पक्ष तयार भए पनि नेपालको कारण पुल सञ्चालनमा आउन नसकेको बताइएको छ ।
भोटेकोशी बाढी लगायतका समस्याले गर्दा नेपालले मैत्रीपुल उद्घाटनका लागि समय मिलाउन नसकेको कारण देखाएपछि पुल सञ्चालनमा आउन नसक्ने भएको हो । चिनियाँ पक्षले निर्माण कार्य सम्पन्न भएर सञ्चालनमा आउन नसकेको हिल्साको मैत्रीपुलको उद्घाटनको ब्यवस्थाका लागि नेपालसँग आग्रह गरेको थियो ।
नेपाली पक्षले समय मिलाउन नसकेको कारण यस वर्ष पनि सो पुल सञ्चालनमा आउन नसक्ने यारी नाका भन्सार कार्यालयका प्रमुख रामराज जैसीले बताउनुभयो । सो पुलको उद्घाटन कार्य नभएका कारण हाल चीनले आफ्नो क्षेत्रमा बार लगाएर पुलमा आवतजावत बन्द गरेको छ ।
अब हिमपात सुरु भइसकेको कारण पनि पुलको उद्घाटन गर्न सक्ने अवस्था नभएको बताउदै यसले कम्तिमा आठदेखि नौ महिनापछि धकेलिएको उनले बताए । नेपालको सम्वन्धित निकायले चाँडोभन्दा चाँडो पुल उद्घाटनको ब्यवस्थाका लागि तयारी गर्न आफूलाई मौखिक आग्रह आएको र त्यहीअनुसार जिल्ला प्रशासन कार्यालयलाई आफुले लिखित जानकारी गराएको बताए ।
हिल्सा नाकाले यसअघि आयातको मात्र अनुमति पाएको भए पनि अव २९ किसिमका जडिबुटीको निकासीका लागि चीनले अनुमति दिइसकेको छ । पुल उद्घाटन भएर सञ्चालनमा आएपछि मालवहाक कन्टेनरहरु पुलबाट सिधै नेपाली सिमनामा आउन पाउने छन् ।
पुल उद्घाटन नभएकै कारण हाल हिल्सामा नेपालले निर्माण गरेको बेलिब्रीजबाट यातायातका साधनहरु आवतजावत गरिरहेका छन् । स्थानीय तथा पर्यटकहरु झोलुङ्गे पुल तरेर आवतजावत गरिरहनु भएको उनले बताए ।
अघिल्लो वर्ष मङ्सीर महिनामा उक्त पुलको निर्माण कार्य पुरा भएको थियो । निर्माण भएर पनि सञ्चालनमा नआएको कारण पुलको बारेमा जानकारी गराउने र अब त्यसलाई प्रयोगमा ल्याउनका लागि चीनले जिल्ला प्रशासन कार्यालय हुम्लालाई पत्राचार गरेको थियो । चीन र नेपालका स्थानीय प्रतिनिधिविच गत बैशाख १० गते छलफल भए पनि पुल उद्घाटनबारे कुनै निर्णय हुन सकेन ।
उक्त मैत्रीपुल छ महिना समय लगाएर निर्माण कार्य सम्पन्न भएको थियो । चीनले उक्त पुल निर्माण गरेको हो । पुलसँगै चीनले साढे तीनसय मिटर नेपाल पट्टीको सडक पनि निर्माण कार्य सम्पन्न गरेको छ ।













