हामी कमैयाँँ भाषा बोल्छौं

हामी कमैयाँँ हौं
हो, हामी कमैयाँँ नै हौं
काम कैना मनैयाँ, कमैयाँँ
अर्थात
काम गर्ने मान्छे, कमैयाँँ
त्यसैले, हामी कमैयाँँ हौं ।

हामी कमैयाँँ भएर उठ्छौं
कमैयाँ भएर बस्छौं, कमैयाँँ भएर खान्छौं
र, कमैयाँँ भएरै सुत्छौं
किन कि, कमैयाँँ हाम्रो कला हो
कमैयाँँ हाम्रो संस्कृति हो, रहन–सहन हो
र कमैयाँँ हाम्रो भाषा हो
त्यसैले हामी कमैयाँँ भाषा बोल्छौं ।

हामी कमैयाँ
हाम्रो हाम्रै साँस छ
त्यसैले हामी हाम्रै सास फेर्छौं
हाम्रो हाम्रै ढुकढुकी छ
त्यसै हाम्रो हाम्रै ढुकढुकी चल्छ
र, हाम्रो आफ्नै जिन्दगी छ
त्यसैले हामी हाम्रै जिन्दगी बाँचेका छौं
किन कि,
हाम्रो सासले कमैयाँको भाषा बोल्छ
हाम्रो ढुकढुकी कमैयाँकै धड्कनमा चल्छ
त्यसैले हामी कमैयाँ हौं
हामी आफ्नै जिन्दगीको कमैयाँ हौ
त्यसैले हामी कमैयाँ भाषा बोल्छौं ।

कोही सोच्छ होला
कमैयाँहरू दास हुन्
कमैयाँहरू गुलाम पनि हुन्
हो, हामी दास पनि हौं
गुलाम पनि हौं
तर, हामी मालिकका दास होइनौं
न हौं हामी शासकहरूका गुलाम पनि
हामी त खाली
आफ्नै जिन्दगीको दास हौं
आफ्नै जिन्दगीको गुलाम पनि हौं
किन कि, हामी हाम्रै जिन्दगी बाँच्नका लागि
माटोमा पसिना चुहाउँछौं
आफ्नै शरिरको रगत बगाउँछौं
हो, यसरी पसिना चुहाउने हामीहरूलाई
शरिरको रगत बगाउने हाम्रा सन्तानहरूलाई
र, हामीले बोल्ने भाषालाई
शासकहरू र शासकका असली गुलामहरूले
कमैयाँ भाषा भन्छन्
त्यसैले जसले जेसुकै भनोस्
हामी कमैयाँहरू सगर्व कमैयाँ भाषा बोल्छौं ।

कोही कोही जरूर भन्छ
कमैयाँहरू मालिकहरूका गुलाम हुन्
कमैयाँहरू शासकहरूका दास हुन्
तर,
छातीमा हात राखेर हेरून्
हाम्रो धड्कनले मालिकहरू बाँचिरहेको
हाम्रै सासले शासकहरू सास फेरिरहेको
हाम्रै रगत र पसिना चुसेर
शासकहरू छाडा साँढेझैं डुक्रिरहेको
र हाम्रै सर्वस्व लुटेर
कुटिल सकुनिहरू पासो थापिरहेको
तर पनि हामी सगर्व
हामी आफ्नै अस्तित्वमा, आफ्नै माटोमा उमिएर
निसंकोच कमैयाँ भाषा बोलिरहेछौं
किन कि, हामी कमैयाँ हौं
हामी कमैयाँ भाषा बोल्छौं ।

हो, हाम्रो सुनौलो भविष्य लुटेर
हाम्रो सर्वस्वहरण र हाम्रो जीवन बन्धकीमा राखेर
हाम्रै सास र धड्कनमा बाँचिरहेका
मालिक शासक
र शासकहरूका चाटुकारहरूको आँखाले
हामीलाई गुलाम देख्न सक्छ
हामीलाई दास देख्न सक्छ
किन कि, चाटुकार र चम्चाहरूको हातले
सधैं मालिकहरूका गुलाम गर्छ
सधैं शासकहरूका दास बन्छ ।

हो, हामी कमैयाँ जरूर हौं
हामी लुटिएकाहरू, दमितहरू जरूर हौैं
तर, मालिकहरूको गुलाम होइनौं,
शासकहरूको दास पनि होइनौं
किन कि हामी, हाम्रै अस्तित्वमा छौं
र, हामीसँग हाम्रै स्वत्व छ
यसकारण हामी कमैयाँ हौं
हामीलाई कमैयाँ भाषा बोल्दा आनन्द आउँछ
त्यसैले हामी कमैयाँ भाषा बोल्छौं ।