पहिंचानको सिद्धान्तलाई आत्मसाथ गर्न नसके देशको हैसियत पनि रवि जस्तै हुने डर !
नेपालको ईतिहासमा पहिलो पटक एउटा यस्तो घटना घट्न पुग्यो जो नसोचेकै अवस्थामा उपप्रधान तथा गृहमन्त्री जस्तो देशकै एउटा उच्च ओहोदामा बसेको व्यक्तित्व ३२ दिन मै कानुनी रुपमा आफ्नो सम्पुर्ण पहिंचान गुमाउन पुगे । बिक्रम सम्वत २०७९ पुष ११ गतेका दिन गृह मन्त्रिमा नियूक्त भएका रवि लामिछाने नागकिकता प्रकरणमा मुछिएपछि ०७९ माघ १३ गतेका दिन सर्वोच्च अदालतको फैसलाले दोषी करार भई उनको संसद पद लगायत उनले प्राप्त गरेको उपप्रधान तथा गृह मन्त्रालयको जिम्मेवारी पनि स्वतह खारेज भयो ।
सर्वोच्च अदालतको निर्णय पश्चात, रवि लामिछाने दोषी भएको प्रमाणित भए । सर्वोच्च अदालतको प्रांगणमा पत्रकारहरूले रवि लामिछानेलाई प्रश्न सोध्दाको दृश्य निकै हृदय विदारक थियो ।
उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने लाई पत्रकारहरूको प्रश्नको वर्षा भईरहदा उनको प्रतिक्रिया थियो “तपाईहरू एउटा अनागरिकलाई प्रश्न सोधिरहनु भएको छ, कहाँको नागरिकलाई प्रश्न सोध्नु भएको ? म कहाँको नागरिक हो र ? तपाईहरूले कस्लाई प्रश्न सोध्नु भएको ? मलाई त त्यो पनि थाहा छैन । प्रश्नको जवाफ म के दिउॅं ? यति खेर म एउटा अनागरिक भएको छु । म जस्तो अनागरिकलाई के प्रश्न सोधिरहनु भएको छ ?”
तर पनि पत्रकारहरूको प्रश्न गर्ने कार्य निरन्तर अगाडी बढि रहन्छ र उहाँहरूको प्रश्न रविलाई अब तपाई के गर्नु हुन्छ भन्ने रहेको हुन्छ ? जवाफमा रविले भन्नु हुन्छ थाहा छैन मलाई । एउटा अनागरिकले के गर्छ मैले बुझेको छैन । पत्रकारहरूले उहाँलाई पार्टी सभापतीको हैसियतले के गर्नु हुन्छ ? भन्ने आसय सहितको प्रश्न के गर्न खोजिरहेका हुन्छन्, रविले आफ्नो जवाफमा “स्वतन्त्र पार्टीसॅग आफ्नो कुनै पनि पहिंचान नरहेको जवाफ फर्काउनु हुन्छ र थप्नु हुन्छ अब म केहीं पनि रहेन र म कोही पनि होईन ।”
यती भन्दैगर्दा उक्त २ मिनेटको भिडियो क्लिपमा केहीं पत्रकारहरूबाट अब भयो, छोडि दिऔं, अब पुग्यो भन्ने आवाज प्रष्ट रुपमा सुनिए पनि, पत्रकारहरूको अनेक जिज्ञासाः अब फेरी नागरिकता लिनु हुन्छ ? यो प्रश्नको उपप्रधान तथा गृह मन्त्री रविलामिछानेले एउटा थकित र सम्पुर्ण रुपमा हारेको, आफ्नो कुनै पहिंचान नै नभएको, घुमन्ते र फिरन्ते शैलिमा पत्रकारहरूलाई फेरी प्रति प्रश्न गर्नु हुन्छ ? म को हुँ, म कहाँको हुँ, म के गर्छु ? मलाई केहीं थाहा छैन । यत्ति कै मा उहाँको प्रश्न रोकिदैन र भन्नु हुन्छ “अहिले एउटा परिचय न भएको अनागरिकलाई कुनै परिचय या पहिंचान त चाहियला नि ?
यसरी एउटा बहाल वाला उपप्रधान तथा गृहमन्त्रीको पहिंचान क्षण भरमै एउटा जादुको शैलिमा समाप्त भएर गएको सायद विश्वमा यो पहिलो घटना हुन सक्छ । पहिंचानको बिरासत यति महत्वपुर्ण हुन्छ । त्यो कुरा जवसम्म आफु माथि पर्दैन तवसम्म थाहा हुदैन भन्ने कुराको व्यवहारिक ज्ञान रविको नागरिकता प्रकरणले छर्लंग पारेको छ । यो घटनाले ३ करोड नेपालीहरूको ध्यान केन्द्रित भएको छ । मलाई लाग्छ यो नागरिकता प्रकरणले नेपाल मात्र होईन, अमेरिका, भारत, पाकिस्तान र बंगला देशको पनि उत्तिकै ध्यान केन्द्रित भएको छ । किनकि यहाँ उल्लेखित हरेक देशहरूमा लाखौं लाख मानिस आफ्नो पहिंचानका खातिर पल पलमा समस्या झेलेको समाचार बिभिन्न सञ्चार माध्यममा आईरहेको छ ।
हुन त रवि लामिछानेले नेतृत्व गरेको पार्टीको ठोस सिद्धान्त, आदर्श र वाद यहि नै हो भनेर अझै प्रष्ट छैन । यस पार्टीका वरिष्ट भन्ने कतिपय नेताको मुखार विन्दुबाट सुन्नमा र प्रकाशमा आएको वाद भनेको व्यवहारिकता नै हो । यस हिसावले अहिलेको परिघटनाले व्यवहारिक रुपमै स्वतन्त्र पार्टीका नेतृत्व कर्ताहरूले “नागरिक उन्मुक्ती पार्टीको सिद्धान्त सुशासन, समृद्धी र पहिंचान” लाई आत्मसाथ नगरि यस धर्तिमा कुनै पनि प्राणी, मानव, प्रकृतिको वास्तविक अस्तित्व नहुने रहेछ भन्ने कुरा बुझ्न जरूरी छ । यो कुरा बुझ्न र बुझाउन अति आवश्यक पनि छ । हुन त यो नागरिक उन्मुक्ति पार्टीको दर्शन र शिद्धान्त हामीले मानेर के काम भन्ने हुन सक्छ । तर व्यवहारले वहांहरूलाई पहिंचानको महत्व क्षण भरमै मेतिन पुग्यो, यो कुरा सायदै भनिराख्नु पर्दैन ।
यो त एउटा सामान्य उपप्रधान तथा गृहमन्त्रीको घटना हो । यस्तै घटना अरुमाथि पनि हुँदै गयो भने राज्य असफल्ताको बाटोमा जबरजस्त धकेलिने छ । र उपप्रधान तथा गृहमन्त्री रवि जस्तै यो सानो देश नेपालकै पहिंचान नै गुम्यो भने हाम्रो हालत के होला ? एक मिनेट भए पनि यो परिघटनालाई कल्पना गर्नुस त ।
जसरी एउटा व्यक्ति आफुले गर्नु पर्ने कार्य गर्न नसकेको खण्डमा ऊ असफल हुन्छ भने राज्यले पनि आफुले गर्नुपर्ने कार्य वा कर्तब्य पुरा गर्न नसकेको खण्डमा राज्य पनि असफल हुने र कालान्तरमा राज्यले पनि रवि जस्तै आफ्नो पहिंचान र अस्तित्व गुमाउन सक्ने कुरामा दुई मत छैन ।
ईतिहासको काल खण्डमा सो परिघटना धेरै ठाउॅंमा घटेका छन र धेरै देशहरूले आफ्नो पहिंचान र अस्तित्व गुमाएर यस संसारमा आफ्नो नाम ईतिहासका पानाहरूमा मात्र पढन पाईने अवस्थामा पुर्याएका छन । यो घटना बुझ्न धेरै टाढा पनि जान पर्दैन आफ्नै छर छिमेकका देशहरूमा पनि प्रशस्त र स्पष्ट रूपमा देख्न पाईन्छ ।
उदाहरणको लागि मानौ रवि लामिछाने जस्तो आवेगमा आएर जे पनि गर्ने, जस्तो कार्य पनि गर्न तम्सिने, आवेगमा आएर आफुलाई हिरो सावित गर्न खोज्ने, आत्म केन्द्रित, अहम्ता बोकेको मानिस सत्तामा पुगेको वेला “जनता भनेको पनि म, राज्य भनेको पनि म, प्रधानमन्त्री भनेको पनि म अर्थात म नै जनता, म नै राज्य” भन्ने सोचको व्यक्ति सत्तामा पुगेको खण्डमा र कथम कदाचित ऊ माथी एका एक यस्तै प्रकारको नसोचेकै घटना घटन पुग्यो भने देशको हालत के होला ?
निवर्तमान गृहमन्त्री रविले गल्ति गर्न नचाहादा नवचाहदै पनि र उनले गल्ति गरेको महशुस नै नगरेर आज उनले आफ्नो पहिचान गुमाउन पर्यो । राज्यले पनि नचाहदा न चाहदै यस्तै प्रकारका तमाम गल्ति गर्दै, सामाजिक व्यवहारिक र कानुनी तबरबाट आफु समस्यामा जेलिदै गयो भने हाम्रो हालत के होला ? राज्य असफल्तातिर उन्मुख भएका केही महत्वपुर्ण घटनाहरूको उदाहरण दिनु पर्दा अनगिन्ति छन । तर पनि केही घटना यस्ता छन जहां राज्यले कैयौं असफल बिम्वहरू छोडेकोछ । जस्तै, राजदरवार हत्याकाण्ड, १० वर्षे जनयुद्ध, गौर हत्याकाण्ड, टिकापुर घटना आदी ।
नेपाल राज्यको आफ्नै परिचय छ , नेपाल देशको आफ्नै पहिंचान छ । नेपाल कस्तो देश हो, यसको भौगोलिक अवस्थिति के छ ? यसका विशेषताहरू के छन ? यस देशमा बसो बास गर्ने मानिसहरूको कला संस्कृति, भाषा, भेषभुसा, खानपान रहन सहन के हुन ? यहाँको राज्य व्यवस्था कस्तो छ । यी यावत कुरा पूर्व गृहमन्त्री रवि लामिछानेको परिचय र पहिंचान हराए जस्तै १ दिनको लागि मात्र हराउन पुग्यो भने पनि के होला ? कसैले कल्पना गर्नु भएको छ ?
त्यसैले यस्तो अवस्था सृजना नहोस भनेर “राष्ट्र र राष्ट्रियता, विविधतामा एकता” भन्ने नारालाई आत्मसाथ गर्दै सुशासन र समृद्धीसंगै पहिंचानलाई आफ्नो राजनैतिक सिद्धान्त मानेर नागरिक उन्मुक्ति पार्टी अघि बढिरहेको छ । यस महा अभियानमा सबै एक भएर अघि बढौं । खस, आर्य, जनजाती, दलित, मुस्लिम, मधेशी सबैको पहिंचान बचाऔं । सबै मिलेर समग्र देशको विकास गरौं र विश्वमा नेपाल लाई एउटा समृद्ध देशको पहिंचान दिऔं । जय देश ! जय नागरिक !!
लेखक : नागरिक उन्मुक्ति पार्टीका केन्द्रय सदस्य हुन् ।













