थुक्क ! तिम्रो झोले जिन्दगी

तिमी त सांसद भयौ रे दाजु
चिल्ला गाडीमा हिड्छौ रे अचेल
तिम्रो भाई त हो नि थुनिएको म
चिन्दिन भन्दै ढोल पिट्छौ रे अचेल
थुक्क ! तिम्रो झोले जिन्दगी ।।।

तिमी म हुर्के बढेको त गाउँ दिहात नै हो नि दाजु
तर तिमीलाई त उही राजधानी शहरप्रति माया बढ्यो रे अचेल
सांसद हुनुअघि सबैलाई प्रणाम गर्दै हिड्ने तिमी
सांसद भएपछि तिमीलाई मात चढ्यो रे अचेल
थुक्क ! तिम्रो झोले जिन्दगी ।।।

म त पहिचानको लागि लडे थुनिएको छु कोठरीमा
मेरा छोराछोरी त भोकप्यासले एकापसमा लड्दै छन् रे अचेल
तिमीले त चाट्न सिक्यौ, ढोग्न जान्यौ, सांसद भयौ
तिम्रा छोराछोरी त महंगा स्कुलमा पढ्छन् रे अचेल
थुक्क ! तिम्रो झोले जिन्दगी ।।।

तिमी त सांसद बन्यौ, आसेपासेले नोकरी पाए
गाउँमा त तिम्रा गाउँले भाईहरु बेरोजगार छन् रे अचेल
अरुको ईशारामा नाच्छौ रे तिमी, बोल्यौ भने
मालिकले भन्छ, तिमी जस्ता त फालाफाल छन् रे अचेल
थुक्क ! तिम्रो झोले जिन्दगी ।।।

न पहिचान दिलायौ, न त अधिकार पायौँ
तिम्रो मुखमा त पैसाको बुजो लागेछ रे अचेल
धिक्कार छ तिमीलाई, तिम्रो दासी जिन्दगी
घर न घाटको हुँदै तिमी त, यताउता भागेछ रे अचेल
थुक्क ! तिम्रो झोले जिन्दगी ।।।

जय थारु । जय थरुहट ।।
ठेगानाः तिलोत्तमा नगरपालिका, रुपन्देही ।