आज तिम्रो गोली खाँदैछु……..

धेरै सन्धी सम्झौता भए
अनेकौं लोभ लालच देखायौ
त्रास दियौ, प्रताडित गरायौ
तर मातृभूमिलाई अगाध प्रेम गर्ने म थारु
एक इन्च पनि पछि हटेन र त
आज तिम्रो गोली खाँदैछु ।
शिक्षाबाट बञ्चित गरायौ
मेरो धर्म संस्कृति नष्ट गर्यौ
ममाथि तिम्रो मनगढन्ते धर्म संस्कार लाद्यौ
म विवश थिएँ म अंधभक्त भएं
बल्ल आँखा खुल्यो क्रोधले म चिच्याएँ र त
आज तिम्रो गोली खाँदैछु ।
अधिकारको लागि लड्न सिकायौ
पहिचानको परिभाषा तिमीले सिकायौ
तिम्रै उक्साहटमा लड्नुपर्यो घरीघरी मर्नुपर्यो
तिम्रो धुर्त्याई नबुझ्नु भूल रहेछ धोका दियौ
त्यही बदलाको क्रोधले विद्रोह गर्दैछु र त
आज तिम्रो गोली खाँदैछु ।
आन्दोलन गर्न उत्तेजित बनायौ
आफ्नै झोले र्याले साइबर स्याले खटायौ
ममाथि गोली बर्सायौ, प्रहरी मार्यौ, बालकलाई पनि छोडेनौ
तर सबै दोष म थारुमाथी थोपर्यौ
त्यही दोष चिर्ने प्रयास गर्दैछु र त
आज तिम्रो गोली खाँदैछु ।
म थारु यो देशको भूमिपुत्र
जति पीडा दियौ दियौ
अब सहन सकिँदैन हेर
यदि अत्याचार गर्न छोड्दैनौ भने
होस गर जल्लादहरु
थारु अघि बढ्यो भने पछाडी फर्किदैन हेर ।
जय थारु जय थरुहट । (लेखक तिलोत्तमा, रुपन्देहीका हुन् ।)