यात्री खित्काको
एक सामान्य सन्ध्या
आफ्नो बन्द सयनकक्षमा
सेजमा सन्चसुबिस्ता गर्दै गर्दा
खित्कासहित हाँसेको सम्झिन पुग्छु
सामाजिक विषयमा कोर्ने गरेको झैँ गरेर
समय रेखा दृष्यमा बनाउन पुग्छु
व्यस्तता, निरसता, विवशता भर्दै जान्छु
निकै समय भएछ साच्चै !
खित्कासहितको हाँसो हासेको
बिस्तराकै छेउमा आलमारीको ऐनाले
मेरो निरस मुखाकृति जस्ताको तस्तै
परावर्तन गरिरहेको हुन्छ
घोरिएर हेरिरहन्छु
मेरो प्रतिविम्व होइन सन्नता टल्किरहेको हुन्छ।
वर्ष पहिला कुनै दिन
शत किलोमिटर लम्बाईको यात्रा पार गर्दै
पियारीसँग भक्कानिएको समय धेरै भएछ
न रोदन न हर्ष
न वर्षा न बतास
गुम्सिएको आकाशको मौसमसरी
मेरो दिनचर्या भएजस्तो लागिरहेछ
केही वर्ष विगतमा
मात्र युगलको संगतमा
मध्यरातसम्म खित्का छोडिछोडी
बात मारेको दुरुस्तै सम्झन सक्छु
आखिर के तत्त्वले को शक्तिले
कुन परिस्थितिले कस्तो विवशताले
मेरो चञ्चल खुशीलाई
अल्प विराम लगाइरहेछ ?
अकृत्रिम परिस्थितिमा मेरो हाँसोलाई
पूर्ण विराम लागेकै हो त ?
हर्ष मदेखि टाढा भएको हो की
म प्रशन्नताभन्दा परपर भागिरहेछु ?
के म हस योगासन वा रोदन योगासन गर्नै पर्ने भएछु ?
विगतमा खित्खिताइरहेको सम्झन्छु
गाम्भिर्यता भण्डारित ऐनाको प्रतिविम्ब हेर्छु
तुलना निमिषभर मै गर्छु
आफ्नो दिनचर्याको, आफ्नो संवेगको
जिन्दगीमा खुशी खोज्न निस्केको यात्री
मध्य बाटोसम्म के पाइरहेको छु
जे पाएको छु सोमा खुशी किन छैन
वा खुशी अझै परपर गन्तव्य नै बनिरहेको छ?













