‘अभियुक्त थारुको बयान’

सरकार
म अपराधी हुँ

२०७२ भदौ ७ को दिन
मैले अचानक एउटा जघन्य अपराध गरेँ,
मैले आफ्नो खोसिएको अधिकारको ढडिया
स्वयम् न्यायमा कङ्गाल यो राज्यसँग खोस्ने दुस्साहस गरेँ

यो उर्वर भूमिको मनमुटु छाम्ने पहिलो मानव हुनु
मेरो पहिलो अपराध हो सरकार

मैले यहाँका जङ्गल, जमिन र जल
आफ्नै शरीरको अङ्ग सोचेर स्याहार्नु
मेरो अर्को अपराध हो सरकार

मैले त भएको जिउनी पनि
आप्रवासीहरुका नाममा गरिदिनुपर्थ्यो
जिन्दगीको लिलामी कागजमा, चोबेर आफ्नै रगत, औंठाछाप गरिदिनुपर्थ्यो
म त सोझो, सोझो, महासोझो भइबस्नुपर्थ्यो सरकार

मैले यही माटोमा हलोको निबले अक्षर कोरेँ
फसलहरुको कविता लेखेँ
यो जङ्गलको हरेक रुखका हाँगाहाँगामा
मेरो जीवनको अर्थ दिने शब्दहरुको पात उमारेँ
मलाई मेरै नशामा बहने रगतजस्तो लाग्छ यो नदी
यसकै बहावको सरगम सापटी लिएर कयौं गीत गाएँ
मैले मेरी आमाजस्ती यो माटोको पूजा गर्न हुन्नथ्यो सरकार
मैले यो जङ्गलका जीवजन्तूको नक्कल गरेर नाच्न हुन्नथ्यो सरकार
मैले यो राज्यको कुनै कुरा पनि आफ्नो ठान्न हुन्नथ्यो सरकार

राम्रो त यो हुन्थ्यो सरकार
मैले आजसम्म कमैया हुन राजी हुनुपर्थ्यो
मैले मेरै जमिन हडपेर बनेको नयाँ मालिकलाई
पुस्तौंपुस्तासम्म पालक मानिरहनुपर्थ्यो
मेरा छोरीचेलीहरु कम्लरी नै रहिरहून्
तिनले यो कथित लोकतान्त्रिक देशमा
आधुनिक दासत्व स्वीकार गरिरहून्
उनीहरुको अस्मितामाथि मालिकको पन्जा परिरहोस्
मैले त यस्तो पो कामना गर्नुपर्थ्यो

तर अचानक
हाम्रो एउटा पुस्ताले केही नबुझी
पढ्न थालेछ लोकतन्त्रको कथा
गाउन थालेछ अधिकारहरुको भाका
देख्न थालेछ मुक्तिको सपना
गल्ती भयो सरकार
उनीहरुले भुत्ते भएको हाम्रो मश्तिष्कमा चेतनाको पाइन लगाइदिन हुन्थेन
उनीहरुले एक घर एक विचारको बन्दुक घरघरमा थम्याइदिन हुन्थेन
सरकारसँग यसरी जोरी खोज्नै हुन्थेन

तर सरकार
कसरी सहनु आफ्नै देशमा अनागरिक हुनुको पीडा ?
कसरी बोक्नु यो हृदयमा दास बनिरहनुको हीनताबोध ?

तपाईं सयौं वर्षदेखि सत्तामा विराजमान हुनुहुन्छ
हामीभने देहातमा पनि सिमान्त हुँदै गएका छौं
तपाईं हामीलाई दया गरेर केही दिएजस्तो गर्नुहुन्छ
मनमा के कुरा खेल्छ र फेरि त्यो आफैँ खोस्नुहुन्छ
तपाईंलाई प्राप्त संरचनाको लाभांश
तपाईंलाई यति प्यारो लाग्छ, यति प्यारो लाग्छ
तपाईं बिर्सनुहुन्छ
तपाईंको असंवेदनशील अहंकारको फौजले हामीलाई निरन्तर लखेटिरहेको छ

सरकार
हाम्रो भूमिमा तपाईं जथाभावी नक्साङ्कन गर्नुहुन्छ
हाम्रो भविष्यको ठेक्का तपाईं लिन चाहनुहुन्छ
हाम्रो चेतनाको चिहानमा समृद्धिको महल खडा गरिदिनुहुन्छ
संविधानमा हाम्रोजस्तो देखिने धाराको मुहान थुनिदिनुहुन्छ
हाम्रो मुखमा ताल्चा र हातखुट्टामा साङ्लो लगाएर
तपाईं समावेशी समानुपातिकताको लड्डु बाँड्नुहुन्छ
तपाईं आरक्षण त आफ्नो करेसाबारीको तरकारी सम्झनुहुन्छ
तपाईं यो देशको भूमिपुत्रलाई पटक्कै गन्नुहुन्न
यसरी त कसरी चल्छ सरकार ?

जब हामी प्रतिरोधको मसाल बोकेर सडकमा उत्रन्छौं
तपाईं त्यसलाई सिंहदरबारतिर हान्निएको मिसाइल देख्नुहुन्छ
अनि भएभरको शक्ति बटुलेर दमनमा उत्रनुहुन्छ
तपाईं के सोच्नुहुन्छ सरकार, यो आगोको लप्का अब तपाईंले फू।।।। गर्दा निभ्छ ?

हतियार त हामीसँग पनि छ, विचारको
शक्ति त हामीसँग पनि छ, विद्रोहको

हो मैले अपराध गरेँ
अपराधीको अपराधका विरुद्ध प्रतिरोध गर्नु अपराध होभने
मैले जरुर अपराध गरेँ

मेरो प्रतिरोधलाई अदालतले अपराध करार गर्छ भने
यो अपराधी राज्यलाई सिध्याउन म अरु अपराधीहरु जन्माउन तयार छु

के तपाईंको कारागारले हाम्रो विचारलाई थुन्नसक्छ ?
के तपाईंको मेसिनगनले चेतनाको लङमार्चमा लामबद्ध सबैलाई भुट्नसक्छ ?

तर हाम्रो विचारको हतियारले अब विद्रोह गर्नसक्छ

हो म अपराधी हुँ सरकार
यो विभेदकारी राज्यका विरुद्ध
प्रतिरोधी आगोको फिलिङ्गो बाँड्ने
म थारुहरुको ‘विलियम वालेस’ हुँ !