भ्यूटावर
सरकार !
तिम्रो त्यो भ्यूटावरबाट
गरिबका झुपडीहरू देखिदैन
गरिबहरू पनि देखिदैनन्
बरु, देखिन्छन् हुलका हुल स्यालहरू ।
मान्छे हेर्न त चन्द्रमा चढ्नु पर्छ
र, देखिन्छन् त्यहाँबाट
गरिबहरूका कमिला जस्तै ताँतीहरू
अनि देखिन्छन्
रेलका डिब्बा जस्तै गरिबका झुपडीहरू
तर गरिबहरू कहिले चन्द्रमामा पुग्नु
र देख्नु ?
कमिलाका ताँती जस्तै गरिबहरू हिडिरहेको
अनि रेलका डिब्बा जस्तै झुपडीहरू ।
जब चन्द्रमा अस्ताउँछ
जूनको प्रकाशपुञ्जसंगै
क्रमश–क्रमश अस्ताउँछन्
झुपडी भित्रका दीपहरू पनि
र अँध्याराहरूले साम्राज्य जमाउँछन्
यता स्यालहरूका जुलुस निस्किन्छन्
सभा हुन्छन्, सम्मेलन हुन्छन्
र अहोरात्र चलिरहन्छ् भोज–समारोहहरू
यता तिम्रो भ्यूटावरले
एकहोरो ताली पिटिरहन्छ ।
अचेल, तिम्रो भ्यूटावरमा बसेर
हिंसक चिल र बाजहरू
हरेक बिहान नियाल्छन् झुपडी तिर
र बारबार झम्टिन्छन् समृद्धिका मुनाहरू ।
तिम्रो भ्यूटावरको साम्राज्यले
अचेल फुलवारीमा मखमली फुल्न छारेका छन्
सयपत्री फुल्न छारेका छन्
र, फुल्न छारेका छन् बेली–चमेली र बगमबेलीहरू
यसकारण, हावामा सुगन्धहरू बहन छारेका छन्
बरु बहन्छन् मन्द पवनसंगै
स्यालहरूले ल्याएका सिनोहरूको दुर्गन्धहरू
कुहिएका जिउँदो–मानव लासहरूका गन्धहरू ।
एक टुक्रा कागजमा अटाएको
तिम्रो भ्यूटावरको नक्शाले
विगहौं जमीनमाथि आफ्नो कालो पाउ टेकेर
र, आकाश कब्जा गरेर
फहराइरहेछ देश चाट्ने दलका झण्डाहरू ।
तिम्रो भ्यूटावर !
प्रकृतिको अनुपम लुटेर
गरिरहेछ बन्जर भूमिमा रुपान्तरण
कृत्रिम स्वास फेरेर
आफूलाई बनाइरहेछ विश्वकै सभ्य बस्तु
किन कि
तिम्रो भ्यूटावरलाई
रातम्मै फुलेको फूल मन पर्दैन
नवपालुवा बोकेर आएको बसन्त मन पर्दैन ।













