लकडाउन छ प्रिय !
सुनसान निदाइरहेछ सहर
नीलो आकाश मुनि
ब्युँझेकाछन् फूल ,पात र लहराहरू
लुकिरहेछ मान्छे सहरमा
म लुकेको प्रियमान्छे खोज्दै हिँडिरहेछु
मृत्यु ,मान्छेको बुइ चढेर
ओहोरदोहोर गर्दैछ सँसारको कुना कुना
मृत्युलाई पर्खाल तेर्स्याएर
मान्छे बन्द बसिरहेछ पर्खालको घेराभित्र
मान्छे आफ्नो जीवनकोलागि
तर्सदैहिँडिरहेछ मान्छेसँग
प्रिय मान्छे !
म तिमीलाई माया गर्छु
आफ्नै ज्यानभन्दा बढी
माया गर्न आखिर ज्याननै चाहिन्छ तिम्रो र मेरो
भागेर होस् या लुकेर
ज्यान जोगाऊ ज्यान
ज्यान बचुन्जेल मात्र माया बच्ने हो मुटु मुटुमा
प्रिय मान्छे !
प्रेमको आराधनामा ध्यानमग्न छन् मान्छेहरू बन्द कोठामा
प्रेमिल यात्रुहरूको स्वागतमा
सफा र चिल्लो बनेर लमतन्न सुतेका छन् सडकहरू
बयेली खेलेर नाचिरहेछन् नव मन्जरीहरू
बिषबाँण बनाउँदैछु म यो शत्रु कोरोना बिरूध्द
नियमका रेखाभन्दा बाहिर चल्छ युध्द
सानो छ भनेर शत्रुलाई लापरवाही छोडनु हुँदैन
सबै मिलेर निर्मुल पारौँ शत्रुको
शत्रु नासेपछि मात्र
निस्फिक्री थप्न सकिनेछ
हाम्रो प्रेमको नवीन उचाई
प्रिय मान्छे !
भेट नहुन्जेल पनि
कहाँ टाढा छौँ र हामी
तिमीले र मैले ताप्ने घाम एउटै हो
तिमीले र मैले तान्ने हावा एउटै हो
प्रिय मान्छे !
जीउ बचे घिउ खाउँला सँगै बसेर
शत्रुसँग युध्दमा डटेको बेला
तिमी तिम्रै घरबाट गाइरहनु
म मेरै घरभित्र नाचिरहन्छु
लकडाउन छ प्रिय !
यो आँखा सन्काउने बेला होइन
(ग्वँगस्बु ,नयाबसपार्क काठमाडौ
२०७७ बैशाख २६ शुक्रवार













