सीताको फिराद पत्र !
अक्षरको ज्ञान थियो
पुरुषकै दिमागमा
कलम थियो पुरुषकै हातमा
नर,नारायण र न्यायधीश उनिहरू नै थिए
र उनीहरूले नै लेखे रामायण !
पुरुषका आँखाले रामलाई
मर्यादा पुरुषोत्तम देखे
प्रजावत्सल देखे
पत्नीव्रता देखे
खै देख्न त के देखे
तर असल नै असल देखे !
धेरैलाई यस्तो पढाइयो
लङ्काको लडाइ रामले
मेरो प्रेमको खातिर गरेका थिए
हजारौं आदिवासी अर्थात वानरहरू
मेरो उध्दारको खातिर मरेका थिए
कसैले पनि सोचेन
सोच्न जरुरी पनि संझेन
लङ्का लडाइको मुलजरो
राजाहरूको अहङ्कारको परिणाम थियो
र त्यसको चेपुवामा परेकी थिएँ म !
रामको इज्जतको लागि
म अशोक बाटीकामुनी चोखी थिएँ
भोकी थिएँ, आत्महत्या उन्मुख थिएँ
एक अर्को राज्यद्वारा उपहरित नारी थिएँ
मलाई थाहा छ ( म कस्ती थिएँ
तर जोगाउनु थियो किर्ती
मर्यादा पुरुषोत्तमको
त्यसैले म सग्ली र चोखी थिएँ !
लङ्काको वैभव लुट्न
कुनै बहाना चाहिन्थ्यो
त्यै बहानाको खातिर
म त बल्छीमा फालिएकी गड्यौला थिएँ
युध्दको खातिर प्रयोग भएकी
म त ढाल बनाइएकी अभागी आइमाई थिएँ !
लङ्का बिजयपछिको
रामको पहिलो अनुष्ठान थियो
मलाई ज्युँदै जलाएर खरानी बनाउने
र स्वास्नीको चिताको खरानीमा उभिएर
चक्रवर्ती बनेको घोषणा गर्ने !
खै कुन संयोगले काम गर्यो
भन्नलाई रामको प्रतापले भन्लान
म अधपिल्ठो बनें तर खरानी बनिंन
त्यसपछि मेरा दुर्दिनहरू थपिदै गए !
झम्के साँझ थियो कुनै दिन एउटा
चराहरू गुँडतिर फर्कदै थिए
मान्छेहरू घरभित्र छिर्दै थिए
त्यही साँझ हो
अयोध्या दरवारभित्र नयाँ षडयन्त्र बुनिदै थियो
मर्यादा पुरुषोत्तम
मर्यादाको खिल्ली उडाउदै
नयाँ घोषणा गर्दै थिए
मेरो निर्वासनको घोषणा !
दोजिया म
रातको निरवतामा निर्वासित बनें
त्यो पनि अनकन्टार जङ्गलको बीचमा !
आहा !
योभन्दा दयालु लोग्ने को हुन्छ रु
त्यही दयालु लोग्नेलाई ढोगिरहेछन्
हजारौं वर्षपछि पनि
लोग्ने प्रजातिका मान्छेहरू
भन्नोस त
भगवान हुन कति दुख रहेछ ?
रामको अहङ्कारको अगाडि
मैले अपहरित हुनु पर्ने
रामकै अहङ्कारको आगोमा
मैले खरानी हुनु पर्ने
रामकै अहङ्कारको स्वागतमा
मैरे निर्वासित भैदिनु पर्ने
र यी सवै गरेर पनि
राम मर्यादा पुरुषोत्तम हुने
उनको राज राम राज हुने
र उनै देवादिदेव बन्ने !
ए रामका भक्तहरू हो
तिमीहरू रामलाई जति सुकै श्रध्दा गर
तर मलाई रामसँग नजोड
राम र मलाई एकसाथ श्रध्दा गर्नु असंभव छ
असंभव मात्र हैन अनैतिक छ !
कि रामराई श्रध्दा र मलाई घृणा गर
कि मलाई सम्मान र रामलाई घृणा गर
म त रामद्वारा फसाइएकी मान्छे
म त रामद्वारा जलाइएकी मान्छे
म त रामद्वार् मध्यरातमा
घरबाट धपाइएकी मान्छे
मेरो नजरमा राम
एउटा नारीद्वेशी, हत्यारा
र क्रुर लोग्ने मान्छे हो
कृपया मलाई रामसँग जोडेर
समस्त महिलाहरूको अपमान नगर !
हजारौं वर्षदेखि
शहनशीलताको पगरी गुथाइएकी म
अस्वीकार गर्छु तिम्रो पगरी
म त सताइएकी नारी
म त जलाइएकी नारी
म त लखेटिएकी नारी
मलाई एक्काइसौं सताव्दिको न्याय देऊ
मलाई रामसँग पारपाचुके देऊ !













