अल्पसंख्यक !
म पाकिस्तानमा सताइएको हिन्दू हुँ
म हिन्दुस्तानमा दबाइएको मुस्लिम हुँ
म इजरायलले मारेको प्यालेस्टाइनी हुँ
म जर्मनी मा संहार भएको यहूदी हुँ
म इराकले जलाएको कुवेती हुँ
म चीनद्वारा कुल्चिएको तिब्बती हुँ
म अमेरिकामा सताइएको निग्रो हुँ
म आइसिसबाट प्रताडित यजीदी हूँ
म तुर्कहरूका हातबाट काटिएको अर्मेनियाई हुँ
म पूर्वी पाकिस्तानमा रेटिएको बङ्गाली हुँ
म हुतूको हातबाट उजाडिएको तुत्सी हुँ
म नानचिंगमा मारिएको चीनियाँ हुँ
म मध्य अफ्रिकामा मारिएको ईसाई हुँ
मैं दार्फुरमा गाडिएको गैह्र अरबी हुँ ।
म अशोकसँग हारेको कलिङ्गी हुँ
म रशियासँग त्रस्त
सीरियन हुँ, पोलिश हुँ,
हङ्गेरियन हुँ, यूक्रेनी हुँ
म अकबरसँग परास्त राजस्थानी हुँ
म बेलायतको हातबाट लुटिएको
एशियाली हुँ, अफ्रिकी हुँ, अस्ट्रेलियाई हुँ,
उत्तरी र दक्षिणी अमेरिकी हुँ ।
म अमेरिकाको हतियारबाट ध्वस्त बनेको
इराकी हुँ, भियतनामी हुँ,
लिवियाली हुँ अफगानी हुँ,
लगभग ७० नागरिकताहरूको
जल्दै गरेको कहानी हुँ ।
म म्यान्मारबाट लखेटिएको रोहिंग्या हुँ
म श्रीलङ्काबाट मेटाइएको तमिल हुँ
म चौरासीको सिख हुँ
म भारतको जङ्गलबाट
धपाइएको आदिवासी हुँ
म आफ्नै धरतीमा कैद कश्मीरी हुँ
म कश्मीरबाट बेघर बनाइएको
कश्मीरी पण्डित हुँ
म असमको बङ्गाली हुँ
म आफ्नै देशमा रङ्गभेद झेलेको
पूर्वोत्तरको वासिन्दा हुँ ।
म पितृसत्ताबाट
ज्यान जोगाइरहेकी केटी हुँ
म परिवारबाट निकालिएको समलिङ्गी हुँ
म हल्लाले दवाइएको प्रश्न हुँ
म वेदहरूबाट बहिष्कृत एक जाति हुँ
म सामाजिक सम्मानको लागि
मारिएको प्रेमी हुँ
म धर्मान्धहरूले धम्काइएको नास्तिक हुँ
म भीडले बाहिर धकेलेको चेतना हुँ
म तर्कहीनद्वारा आक्रान्त तर्कवादी हुँ
म बजारको माझमा
एउटा नबिक्ने व्यक्ति हुँ
म राष्ट्रियतामा गुमेको आञ्चलिकता हुँ
म प्रचलित सुन्दरतमा अप्रचलित अनुहार हुँ
म मुख्यधाराले नष्ट गरेको मौलिकता हुँ ।
म
कहिलै कुनै गाउँको ,
कहिले कुनै राज्यको,
कहिले कुनै देशको,
कहिले कुनै समाजको,
कहिले कुनै संस्थाको,
त कहिले पूरै संसारको अल्पसंख्यक हुँ ।
म बहुसंख्यकलाई देखाइएको खतरा हुँ
म लुटेरा सत्ताको
सबैभन्दा सजिलो निशाना हुँ
र म जान्दछु कि
यदि मैले आफूलाई निर्दोष भनें भने
यी दुवै हाँस्ने छन्
अनि त मेरो धरती कुन चैं हो र?
मेरो देश कता छ र?
मेरो घर कहाँ हो र?
के म यो पृथ्वीमा
सँधै फिरन्ते रहौंला र?
रचनाकारः पुनीत शर्मा
अनुवादः बलराम तिमल्सिना













