समय !
त्यसो त
अलि अलि सद्नाम र बद्नाम सधैँ भैरहन्छ
तर
यो भने अलि फरक समय हो !
यो समय
कमरेडहरू बद्नाम भएको समय हो !
त्यो बद्नामी पनि
खुद्रामा हैन होलसेलमा !
यो समय
हुलका हुल कमरेडहरूले
आत्महत्या गरेको समय हो !
बोक्न नसकेपछि
कमरेड गरिमाको भारी
सत्ताको द्वारबाट
स्वाट्ट छिरेका लाल कमरेडहरू
निस्कँदा अर्को ढोकाबाट
खाँट्टी दलाल बनेर निस्के !
र त्यसपछि
कुनै कमरेड भेटिए
ठमेलको नाइट क्लबमा
तरुनीका जाँघ चाटिरहेका
कोही कमरेड भेटिए
मालपोत कार्यालयहरूमा
सरकारी जग्गाको
कित्ता काटिरहेका
कोही कमरेड भेटिए
सहादतको स्वत्वसँग
सत्ता साटिरहेका !
कोही व्यस्त भेटिए
तस्करीको सुन लुकाउन
कोही व्यस्त भेटिए
पैसाको बिस्कुन सुकाउन
कोही व्यस्त भेटिए
चुनाव ता चन्दाको
मूल्य चुकाउन
कोही व्यस्त भेटिए
दाताले दिएको पोको फुकाउन !
कोही कमरेड व्यस्त भेटिए
भ्रष्टाचारीलाई सुन पानी छर्कन
कोही व्यस्त भेटिए
बलात्कारीलाई सुरक्षित सेल्टर खोज्न
कमरेडबाट मरेको दिनबाट
झ्याउरी लागेर घरकी कमरेडनी
धेरै कमरेडहरू व्यस्त देखिए
रिभिङ टुगेदरको उद्योग खोल्न !
यसरी
आदर्श र मूल्य
नैतिकतार निष्ठा
उद्देश्य र गन्तव्य
सबै सबै होली वाइनमा डुबेर मरेपछि
कमरेडहरू
नाङ्गा नाङ्गै देखिए
र एक अर्काका गुप्ताङ्गहरू हेर्दै
हल्का लजाएझैँ देखिए !
यो समय
कमरेडहरूले नै
कमरेड शब्दको अस्मितामाथि
बलात्कार गरेको समय हो
कमरेडहरूको हातको झन्डाबाट
हामफालेर रातो रङले
आत्महत्या गरेको समय हो !
यो समय
इतिहासकै क्रूर, कुरूप र दुष्कर समय हो !
ठीक यही समयमा
केही कमरेडहरू
जारी समयको गर्भाशयमा
समाजवाद हुर्किरहेको गफ दिन्छन् !
यो समय
ती जाली कमरेडहरूको गफले
दुईतिहाइ बहुमत बटुलेको समय हो !













