हत्यारा

आदित्य कमल
यो हत्यारो समयमा
भैरहन्छ हत्या, या फेरी हत्या
मृत्यु त सामान्य हो जहिले पनि, जहिँ पनि ।
र सामान्यतया
जाँचको आदेश दिने गरिन्छ
घोषणा गरिन्छ कि
दोषीहरूलाई यो पटक
कुनै पनि हालतमा छोडिने छैन ।

तर हत्याको सिलसिला
रोकिदै रोकिदैन
अपराधहरूको बढ्दै जान्छ मात्रा
मानिसहरू मरिरहन्छन्
यहाँसम्म कि हत्या हुन्छ
साँक्षी र प्रमाणसम्मको
यहाँसम्म कि जाँच गर्नेहरूको पनि ।

र फेरि सुरु हुन्छ एउटा नयाँ जाँच
फेरि प्रमाण, फेरि साँक्षी
र फेरि हत्या !
कुनै षडयन्त्र छ या यही हो आम तरीका ?

सबै सामान्य नै हो आजकल
हत्याको सिलसिला पनि
जाँचको सिलसिला पनि
हत्यारा अझै पक्राऊ नपर्ने
सिलसिला पनि
र पटक पटक यो दोहोर्याउँनु पनि कि
यो पटक दोषीहरूलाई
कुनै हालतमा छोडिने छैन ।

के तपाईलाई थाहा छ
यो कुराको लहरो
कहाँ गएर जोडिन्छ ?

थाहा छैन भने ,
थाहा त पाउँनै पर्छ नि
वास्तविक हत्याराको पहिचान गर्नै पर्छ ।

जिन्दगी कुनै जासूसी फिल्म त हैन नि ,
अन्तमा पर्दा उठ्छ हत्यारा फुत्त निस्कन्छ
र त्यसपछि हामी आश्चर्यले भन्छौं अरे

अरे ,
त्यो त यो पटक पनि
थेत्तरो भएर भन्दै छ दोषीहरूलाई यो पटक
कुनै पनि हालतमा छोडिने छैन

(हिन्दीबाट अनुवाद )