फर्गेट फर एस्टर्डे !

‘हिजोलाई बिर्सिदेऊ’
अर्थात-
‘फर्गेट फर एस्टर्डे’
यो उत्पीडकहरूको नारा हो !

‘हिजोलाई संझिदेऊ’
अर्थात-
‘रेमेम्वर फर एस्टर्डे’
यो उत्पीडितहरूको चित्कार हो !

‘यही घुमाउँने दह हो
तिम्रा पूर्खाले टाउको काटेर फालेको
हाम्रा पूर्खाको’
जव यसो भन्छन् कोही
शासकहरूको जवाफ हुन्छ-
‘फर्गेट फर एस्टर्डे
‘त्यो गैरी खेत कुनै समय हाम्रो थियो
जहाँ आज तिम्रो रजगज छ
आफ्नै खेतको अन्न पैंचो माग्न
जहाँ म आइरहेको छु
हाम्रो खेत खोसेर हिजो
तिम्रा बराजुलाई विर्ता दिएको हो
जुन जमीनमा उभिएर आज
तिमी विर्तावालको नाती बनेका छौ
जव कसैले यस्तो कुरा गर्छ
विर्तावालको नाती भन्छ –
‘ह्या…फर्गेट फर एस्टर्डे !’

‘कुनै समय यो माटोमा
हाम्रो आफ्नै झण्डा थियो
आफ्नै राज थियो
हाम्रा आफ्नै रीति र परम्पराको शान थियो
हाम्रै भाषामा चल्थ्यो चुम्लुङ्ग
हाम्रै हिसावमा बन्थ्यो पात्रो
जुन दिन हामीले हार्यौं
त्यही दिनबाट पराजित प्रजा भयौं’
सुनिसकेपछि यो अकाट्य सत्य
शासक खलकको आम मान्छे
उही पुरानै नारा दोहोर्याउँछ-
‘फर्गेट फर एस्टर्डे !’

त्यो मेट्दा मेट्दै देखिएको
काङ्सोरेको मधुरो चित्र
त्यो विर्साउँदा विर्साउँदै बचेको
रिन्जिन दोर्जेको संझना
जसभित्र छन्
पूर्खाका असंख्य सामुहिक चिहानहरू
सामुहिक बलात्कारको चित्कार
बराजूका गैरी खेत
आफ्नै राजको झण्डा
नाक कानको ढिस्को
रगतको नदी
आगलागीको मुस्लो
मित लगाउँने वहानामा
काटिएका हजारौं गिडहरूको थुप्रो
खण्डहर बनेका
पुराना गढ गढीका अवशेष
र छ
अहिले पनि तप्क्यानी लागेको
आदिवासीको
श्रमजीवी/शरणार्थी अनुहार
र छ
सुदुर पश्चिमको
सुदुर अतितदेखि दुखिरहेको घाऊ
काँसीमा बेचिएका
पाँच सय युवतीको कहानी
जव यी कुरा उठ्न थाल्छन्
शासकहरू उही वाक्य दोहोर्याउँछन्-
‘फर्गेट फर एस्टर्डे !’

‘कुनै समय
राजकीय चाड थिए –
ल्होसार
उँधौली/ उँभौली
विशु , माघी
चासोक तङ्नाम
छठ, भूमे , म्ह: पूजा
आज आफ्नै भूमिमा ती
अराष्ट्रिय चाड बनेका छन् ‘
जव यसो भन्छन्
एक थरि अनुहार
शासक वौध्दिक भन्छ-
‘पास्ट इज पास्ट व्रो ,
फर्गेट फर एस्टर्डे !’

यो फर्गेट फर एस्टर्डे
सुन्दा सामान्य लाग्छ
तर यसभित्र छ –
इतिहासका सवै अपराधहरूलाई
ढिसमिस पार्ने षडयन्त्र
यसैभित्र छ-
प्रश्न उठाउँन प्रतिवन्ध
इतिहास पढ्न रोक
र भविष्य सोच्न मनाही !

‘फर्गेट फर एस्टर्डे’
इतिहासलाई छोपछाप पार्ने
एउटा खतरनाक
एकतर्फी फैसला हो ।

२०७६-०६-२५