धर्मभीरुसँग एक संवाद ! 

धर्मभीरू महोदय,
मेरा केही जिज्ञासाहरु छन्
तँपाईंका भनाई र गराईवारे !

तँपाईं भन्नु हुन्छ,
‘भगवानले सवैको रक्षा गर्छन्’
अनि फेरि भन्नु हुन्छ,
‘छोरा छोरीले हेला गरे
मलाई हेर्ने कोही छैन’
तँपाईंका त भगवान छन् हैन र ?

महोदय,
तँपाईं भन्नु हुन्छ,
‘भौतिक कुरा सबै भ्रम हो’
फेरि भन्नु हुन्छ,
‘भरे भात खाने चामल छैन,
यो जाडोमा लाउने कपडा छैन
र बस्ने गतिलो बास छैन ।’
महोदय ,
यी सवै भौतिक चिज हुन्
तँपाईंकै भनाईमा यी मिथ्या हुन्
अनि किन चिन्ता त यी चिजहरुको ?

महोदय,
तँपाईं भन्नु हुन्छ,
‘सवैमाथि ईश्वरको नजर छ
चोरमाथि,
ठगमाथि,
लुटेरामाथि,
हत्यारामाथि,
बलात्कारीमाथि,
र दीनहीनमाथिु
के तँपाईंको ईश्वर मुर्दा हो ?
मात्र हेरिरहन्छ ! केही गर्दैन ?

महोदय,
तँपाईंको चर्को दावी छ,
‘पापीलाई दण्ड
र धर्मात्मालाई पुरस्कार
ईश्वरको अदालतमा हुन्छ ।’
त्यसो भए नि महोदय,
यी सेना,
यी प्रहरी,
यी बन्दूक,
यी जेलनेल,
यी नियम कानून,
यी कठघरा,
र यी कचहरी
किन र कसले खडा गर्यो ?
जसले खडा गर्यो
त्यो ईश्वरलाई विश्वास नगर्ने
नास्तिक थियो हो ?
या त्यसले आफूलाई
ईश्वर घोषणा गरेको छ हो ?

र अन्तमा महोदय,
एउटा कुरा भनिदिनोस्,
के तँपाईं
ईश्वरको अस्तित्वप्रति विश्वस्त हुनुहुन्छ ?

तँपाईंका भनाई र गराईले
अनुसंधानको पहलो सूचीमा
तँपाईं नै हुनुहुन्छ !

कतै तँपाईंको ईश्वर पनि
एउटा मिथ्या कल्पना त होईन ?

२०७५्/०६्/१४
भक्तपुर