जिन्दगी अलग्गै मोडमा
जिन्दगी जन्मे देखि सुरु भैहाल्छ । सुख दुख जिन्दगीको एक पाटो हो । त्यहि जिन्दगी चलाउन जाने सुख हुदो रहेछ, त्यहि जिन्दगीलाई चलाउन जानिएन भने जिन्दगी नै दुखमा बित्दो रहेछ । जिन्दगी जिउने व्यक्तिमा भर पर्छ । उ कसरी आफ्नो जिन्दगीलाई कुन मोडमा लगिरहेछ । जिन्दगीलाई कुदाउन जाने सहि ट्रयाकमा जान्छ नजाने जिन्दगी नै बेकार भइ दिन्छ । गलत मोडमा चल्न थाल्छ । जिन्दगीमा जे गरे पनि जिन्दगीको एउटा अंश बनेर रहि रहन्छ । जीवन अरुले चाहे जस्तो, लोभ लाग्दो, चाख लाग्दो बनाउनु पर्छ । ताकि त्यस्तै जिन्दगी अरुले जिउन चाहुन र केहि सिकुन । अरुको लह लहैमा लागेर गलत जिन्दगीमा नबाँचुन । कुनै पनि काम गर्दा राम्रो चिजको काम गरेर देखाउनु पर्छ । ताकि त्यहि जिन्दगी जिउन र मेहनत गर्न अरुले सिकुन । खैर जिन्दगी जे जस्तो भए पनि आ–आफ्नो तरिकाले चलिरहन्छ । कसैको जिन्दगी राम्रो हुन्छ त कसैको नराम्रो । कसैलाई जिन्दगीमा धेरै मेहनत गर्नु पर्छ, कसैलाई उनीहरुको पुस्ता पहिलेदेखि नै बनाएर राखि दिएका हुन्छन र कम मेहनतमै बढी आयआर्जन गर्छन । तर पनि जिन्दगी त जिन्दगी । जसरी भए पनि आफ्नै समाज अनुसार, चालचलन अनुसार जिउनै पर्छ ।
जन्म पछि जिन्दगीको अध्याय सुरु हुन्छ । जब म कक्षा ६ मा आफ्नो गाउँको स्कुल छोडी अर्को स्कूलमा पढ्न आए । त्यो स्कूलको म नयाँ विद्यार्थी भएको होला । मलाई त्यहाँ चिन्ने मान्छे कोही थिएन । बिस्तारै बिस्तारै सबै साथीहरुसंग चिनजान हुदै गयो । म पास हुदै ८ कक्षासम्म पुगे । साथीसंग राम्ररी चिनजान भएपछि फोटो साटासाट हुन थाल्यो । कसैले मेरो फोटो समेत चोर्न कसर राखेनन । म भर्खरको लोभ लाग्दो उमेरमा प्रवेश गरेको थिए । सायद त्यो उमेर नै त्यसै खालको हुदो रहेछ । प्रायः जसो ऐना हेर्ने, मुखमा फेयर एण्ड लभली दल्ने, ओठमा लिपिस्टिक लाउने र अरु साथीभन्दा राम्रो हुन खोज्ने प्रायजसो यस्तो काम भइ नै रहन्छ । स्कूल जानु भन्दा कति चोटि साबुन पानीले मुख धुने, घरि घरि ऐना हेर्ने, स्कूल न हिडुनजेल सम्म कति पटक ऐना हेरिन्छ, हेरिन्छ । अरु साथीले केहि सचमुचको या झुठो तारिफ गरे पनि मन प्रफुल्ल हुने, सायद उमेरले गर्दा नै हो । केहि भन्दा खेरि मन नै उत्साहित हुने, झन साथीहरुले भनेको जस्तै गर्न खोज्ने गरिन्छ । घरमा होस या नहोस् त्यहि साथीहरुको लहैलहैमा लागेर त्यहि अनुसारको काम गर्न मन लाग्छ । यी यस्ता यावत् कुरा हामी केटी साथीहरुमा मात्र लागु हुदैन, केटा साथीहरुमा पनि लागु हुन्छ । आखिर यो सबैको एउटै कारण एक अर्कालाई इम्प्रेस गराउन र आफुतिर विपरित लिङ्गलाई आकर्षित गर्नका लागि हो जस्तो लाग्छ मलाई । एउटा आफ्नो पर्सनलिटी देखाउनु पनि हो ।
स्कूलमा प्रायः पढ्दा खेरि पहिला हामी केटी साथीहरु एक साइडको बेन्चमा मिलेर बस्थ्यो र केटा साथीहरु एक साइडको बेन्चमा मिलेर बस्थे । पछि सरले केटीलाई अगाडि र केटालाई पछाडि मिलाएर बसाए । सधैझैं सर पढाउन आउनुहुन्थ्यो र आफ्नो काम कर्तव्य पुरा गरि जानु हुन्थ्यो । पढ्ने, लेख्ने, घरमा गएर होमवर्क गर्ने जस्ता दिनचर्या बित्न थाल्यो ।
मेरो कलासमा केटा र केटी साथीहरुबीच कहिलेकाही झै–झगडा भइ रहन्थ्यो । केटाहरु हामीसंग निहु खोजिरहन्थे । कहिले हाम्रो कपाल पछाडिबाट तान्ने गर्दथे त कहिले चुइन्गम नै कपालमा फालदिन्थे । यस्तै गर्दा गर्दै एकदिन एउटा साथीले भन्यो कि यो फलानो केटाले तलाई मन पराउँछ भनेर । अनि केहि दिन पछि त्यो केटा मलाई प्रपोज ग¥यो । अनि मैले सोरी भने । अहिले हाम्रो पढ्ने उमेर छ । पहिला पढौ अनि सोचौला भने । अनि त्यो केटा केहि भनेन । केहि दिन पछि अर्को केटा मलाई प्रपोज ग¥यो । मलाई त्यो केटाको बारेमा सबै कुरा थाहा थियो । उसको आनीबानी, लवाइखवाइ, रहनसहन, चालचलन व्यवहारको बारेमा । म त्यो केटालाई पहिलाको केटा जस्तै राम्ररी सम्झाए । तर त्यो केटाको दैनिकीको व्यवहारले मलाई परेशान ग¥यो । र म त्यो केटालाई बेस्सरी गाली गरे । तर पनि त्यो केटा मलाई पछ्याउन छोडेन । म जति गाली गरे पनि उ मेरै अघि पछि घुमिरहन्थ्यो । म स्कूलबाट घर फर्के पनि उ मेरो घर सम्म आइपुग्थ्यो । जति गर्दा पनि मेरो केहि लागेन । त्यस्तै गर्दा गर्दै स्कूलभरि र गाउँमा समेत हल्ला भैहाल्यो । म उसलाई माया नगरे पनि उसको व्यवहारले मलाई बदनामित बनायो । यो केटा र त्यो केटीबीच लभ अफेयर चल्दैछ भनेर सबै साथीहरु हामी दुई जनालाई प्रेमी प्रेमिकाको रुपमा हेर्न थाले । स्कूल र गाउँमा हल्ला भएपछि मेरो केहि लागेन । उसले गरेको मप्रतिको व्यवहारले गर्दा आखिरमा म पनि उसलाई स्वीकार्न बाध्य भए । त्यसपछि म उसको श्रीमती र उ मेरो श्रीमान भयो ।
समाजले भन्ने गरेको श्रीमान र श्रीमती शब्द मेरो जीवनमा पनि लागु हुन पुग्यो । हामी दुई जना एक परिवार भई बस्न थाल्यो । म पनि घरमा श्रीमतीको भूमिका निर्वाह गर्न थाले । जुन एउटा विवाहित महिलाले गर्ने गर्दछन् । बिहान उठ्ने बित्तिकै खाना पकाउने, भाँडाकुँडा धुने, कपडा धुनेदेखि लिएर घरका काममा सिमित हुन पुगे । श्रीमान श्रीमतीको बन्धनमा बाँधिएपछि पढाई पनि फुलस्टप भयो । अब आफ्नो भन्दा पनि आफ्नो घरको बारेमा सोच्ने समय आइसकेको थियो । श्रीमानदेखि सास ससुराको कुरा मान्नै पर्ने भयो । आफ्नो एक्लोपन मनमौजी गर्ने वातावरण म आफ्नो जन्मघरमा छोडेर आइसकेको थिए । आफ्नो जन्म घर (माइत) या आफुलाई जन्म दिएको आमावुवालाई भेट्न जानु प¥यो भने पनि श्रीमान या सासससुराको अनुमति लिएर जानुपर्ने भयो । कुनै चाडपर्वमा घर गइहाले पनि श्रीमानले भने जस्तै त्यै दिन घर पुग्नु पर्ने बाध्यता आयो । तर पनि दाम्पत्य जीवन खुशी नै थियो । श्रीमान पनि आफुले पढे अनुसारको प्राविधिक तर्फ काम गर्न थाल्नु भयो । आफुले जाने अनुसारको सीप भए जति सबै काम गर्न थाल्नु भयो । त्यहि काम अनुसार मेहनत गर्न थालेपछि खाने लाउनेको केहि कमी थिएन । सासससुरा पनि भने अनुसार नै थिए । कहिलेकाही घरबाट फुर्सद हुँदाखेरि उहाँले काम गरेकै ठाउँमा गएर उहाँ संगै बस्ने गर्दथे । घरमा काम हुदा सास ससुरालाई काममा सघाउन आउँथे ।
दाम्पत्य जीवनलाई निरन्तरता दिने क्रममा मेरो पहिलो सन्तानको रुपमा छोरी अलिसा जन्म भई । उहाँलगायत घरका सबैले छोरी अलिसालाई माया गर्थे । घरमा खुशीको बहार छायो । दिनप्रति दिन छोरी अलिसा ठूली हुदै गई । छोरी अलिसालाई धनगढीको कुनै प्राइभेट स्कूलमा पढाउने निधो ग¥यो । सोचे अनुसारको काम भएपछि छोरी अलिसालाई धनगढीमै ल्याएर भर्ना गरायौ । छोरी ठूली भए पछि फेरि दोस्रो सन्तानको रुपमा छोरा सन्जय जन्मियो । छोराको ख्याल पनि त्यहि अनुसारको ग¥यो । छोरा भएपछि म गाउँमै बस्न थाले । म र मेरो श्रीमान बीच दुरी बढ्दै गयो । उहाँ अरु कसैलाई मन पराउन थाल्नुभयो । घरमा भए पनि म बाट लुकिलुकी फोनमा कुराकानी गर्न थाले । फेशबुकको मेसेन्जरमा च्याट गर्न थाले । कसको फोन हो भनेर सोध्दा खेरि साथीको भन्थे । साथीसंग म भएकै ठाउँमा कुरा गर्न मिल्दैन किन म बाट पर गएर फोनमा कुरा गरेको भन्दा खेरि उहाँ यता हल्ला हुदै थियो त्यै भएर यहाँ कुरा नगरेको भन्नुहुन्थ्यो ।
एक दिन उहाँ मेसेन्जरमा कुरा गर्दागर्दै निदाउनु भएछ । मैले मोवाइल हेर्दा खेरि फेशबुकमा उर्मिला भन्ने केटीसंग कुरा गरेको देखे । त्यहाँ नहुने नहुने कुरा गरेको देखे । ताकि तिनीहरु श्रीमान र श्रीमती हुन । तिनीहरुबीच श्रीमान र श्रीमतीमा हुनुपर्ने सबै कामकुरा भइसकेको रहेछ । अब समाजले मात्रा तिनीहरुलाई श्रीमान र श्रीमतीको ट्याग दिनुपर्ने बाँकी रहेको थियो । मैले केहि नभनी त्यो रात सुतिहाले । अर्को दिन सोध्दा खेरि उर्मिला मेरो साथी मात्र हो अरु केहि पनि होइन भन्ने कुरा गर्नुभो । तर पनि मलाई पत्यार लागेन । मेसेन्जरमा भएको कुरा खाली हो जस्तो गर्नुभो । यति धेरै कुरा पनि खाली हो भनेर भनेपछि मलाई उहाँ प्रति भएको विश्वास नै हराउन पुग्यो । उहाँ मसंगै भएर पनि म बाट टाढा टाढा हुदै जानुभयो । दिनदिनै फोनमा त्यहि केटीसंग कुरा गरिराख्नुभयो । मलाई आफुभन्दा टाढा राख्दै जानुभयो र उसंग भौतिक रुपमा नभएपनि भावनात्मक रुपमा नजिकीदै जानुभयो । मलाई माया गरे जस्तो गर्नुहुन्थ्यो तर भौतिक रुपमा माया गरे पनि भावनात्मक रुपमा मलाई उहाँ आफ्नो मनबाट हटाइ सक्नुभाथ्यो । मेरो सबै चिज तिमी नै हो भन्ने मान्छे उहाँले मलाई नराम्रो नजरले हेर्न थाल्नुभयो । दिन बित्दै जाँदा यस्तो नगर्नु भन्दा पनि उहाँले उल्टै मलाई झपार्नु हुन्थ्यो । यसरी कहिले माया कहिले झगडा गर्दा गर्दै उहाँले मलाई छोडी अर्कैलाई अँगाल्नु भयो । उहाँले म माथि अर्को सौता थपे । आमाबुवाले सम्झाउँदा पनि कसैको सुन्नु भएन । सौता लिएर कहिले काठमाडौं कहिले अर्कै गाउँतिर धाउन थाले । तर घरमा आउन भने हिम्मत भएन उहाँको । किनकि उहाँले आफ्नो घर मात्र होइन, आफ्ना मान्छेको विश्वास नै तोडेर जानु भएको छ । विश्वास एकपटक गरिन्छ तर त्यहि विश्वासलाई उहाँले हलका रुपमा लिएर जानु भयो । अन्जानमा भएको गल्ती माफ गर्न सकिन्छ तर जानी जानी गरेको गल्तीको माफी कसरी दिने ? आफु जिउँदो रहुन्जेल अरु कसैले पनि आफ्नो ठाउँमा अरुलाई राख्न त के हेर्न पनि चाहदैन ।
माया त यस्तो गरिन्छ भन्ने मान्छे, आफ्नो छोराछोरीको माया भुलेर मलाई छोडी अर्कैलाई अँगाले । के माया यस्तै गरिन्छ ? अरुलाई रुवाएर, दुखमा पारेर आफु अरुसंग रमाउने । हाम्रो सास रहुन्जेल साथ छुट्दैन भन्ने व्यक्ति आज अरु कसैको साथ पाएर आफुलाई नै चिन्न भुलेछन । तिमलाई र आफ्नो छोराछोरीलाई कहिल्यै भुल्न सक्दिन भन्ने व्यक्ति आज आएर सबै कुरा भुली अरु कसैसंग रमझममा रमाउने गरेका छन । म उहाँको लागि के नै गरिन र ? उहाँले भनेको कुरा सबै गरे । भने अनुसारको गरे पनि तर आज आएर मलाई एक्लै पारेर गए । म आफुभन्दा बढी विश्वास उहाँको गर्थे तर विश्वासको पर्खाल नै तोडेर जानुभयो । विश्वासको भरमा रहि कल्पनामा रमाउने मान्छे, जब आफ्नो मान्छेले नै विश्वासको बाँध फुटाएपछि अरु कसको विश्वास गर्ने । इँटाले बनेको घर त बनाउन सकिन्छ । जति पटक तोडे पनि आफु खुशी मनपरि बनाउन सकिन्छ । तर विश्वासको पर्खालले बनेको घर एकचोटी फुट्यो भने जोड्न मुश्किल पर्छ । केहि गरे जोडे पनि त्यसमा टुटे फुटेको दाग र चिन्ह नमेटिने रहेछ ।
अरुलाई मायाको परिभाषा सिकाउने मान्छे, मायाको परिभाषा नै बदलेर जानुभयो । जति माया गरे पनि सौताको जति माया दिन सकिन होला सायद त्यै भएर होला आज सौता ल्याउनुभयो । पहिलाको जिन्दगी बेग्लै थियो । अबको जिन्दगी अलग्गै मोडमा छ । जब देखि म एक्लो भए । त्यो दिन देखि नै म आफ्नो जिन्दगी सम्हाल्न सिके । अब अरुको साथ चाहिदैन मलाई । जिन्दगी कसरी जिउनु पर्छ त्यो म राम्ररी थाहा पाइसके । त्यहि जिन्दगीलाई म आफ्नै तरिकाले चाहे जिउन चाहन्छु र त्यहि अनुसार चलाउन सक्छु । अब धोखादारीवाला तिम्रो साथ चाहिदैन मलाई । म आफ्नो जिन्दगी एक्लै पनि चलाउन सक्छु । ठीकै छ मलाई धोखा दिए पनि अरुलाई धोखा नदिनु । माया त गरिन्छ तर धोखा दिएर होइन विश्वासले गरिन्छ । अरुको मनलाई चोट पु¥याएर होइन अरुको मनलाई जितेर गरिन्छ । (कैलारी गा.पा.–६, बेनौली कैलाली हाल : पहुरा थारु दैनिक धनगढी, कैलाली)













