शंका

शंकाले लंका जलाउँछ भन्छन् वास्तवमै हो जस्तो लाग्छ । समाजमा घटेको घटना सुन्दा वा देख्दा साँच्चिकै हुदो रहेछ भन्ने पनि लाग्छ । कुनै समयमा धेरै माया गर्ने श्रीमान–श्रीमतीबीच, गलफ्रेन्ड–बोइफ्रेन्डबीच, प्रिय–प्रियसीबीच, साथी–साथीबीच, घनिष्ठ नातागोताबीच र भावनात्मक सम्बन्ध जोडिएका मित–मितिनीबीच यो शंका भन्ने शब्दले जीवनमा नराम्रो असर पार्दछ । शंका भन्ने शब्द एक त्यस्तो शब्द हो । जसले व्यक्तिको उसको सोच्ने इच्छा शक्तिमा असर पार्दछ । उ कुन खालको मान्छे हो । उ कति सम्मको राम्रो नराम्रो सोच्न सक्दछ र उ कस्तो वातावरणमा हुर्केको छ भन्ने कुरा उसले गरेको व्यवहार र सोच्ने शक्तिले देखाउँछ । अनि उ जुन खालको मनमा सोच राख्दछ त्यै अनुसार उसले अरु माथि व्यवहारको संगसंगै शंका उपशंका गर्न थाल्दछ । यो शंका भन्ने शब्द सबैमा लागु हुन्छ । चाहे कोइ राजा महाराजा होस् या कुनै मन्त्री किन नहोस् । धनी, गरिब, जातपात भेदभाव नराखी सबैमा एकनासले लागु हुन्छ । भल्ही उसले शंका अरुलाई नगरोस् तर उ माथि अरु कसैले शंका गर्न छोड्दैन । सकारात्मक होस् या नकारात्मक कसै न कसैले एकले अर्कालाई कुनै न कुनै समय शंकाको दृष्टिकोणल हेरि नै रहेको हुन्छ । दुई अक्षरको शब्द भए पनि असर चाहि नराम्रो तरिकाले पु¥याउँछ । त्यहि दुई शब्दले कसैको जीवन नै बर्बाद पार्दछ । तर त्यहि दुई शब्दले कसैको जीवन पनि बनाउँछ । जस्तै परीक्षा दिने बेलामा यदि कुनै ठाउँमा शंका लाग्यो भने त्यसलाई फेरि पुनः लेख्न सकिन्छ, मजाले सच्याउन सकिन्छ र परीक्षामा पनि सफल पाउन सकिन्छ । तर त्यै ठाउँमा शंका गरेर सहि उत्तरलाई बिगारेर गलत उत्तर लेखेमा पुरा प्रश्नको उत्तर नै बिग्रिन्छ । त्यहि एउटा शंकाको भरमा तपाईको त्यो वर्षको परीक्षा बिग्रेर फेरि अर्को सालको लागि पर्खिनु पर्ने हुन्छ । त्यसैले बिना कामको शंका गरेर बस्नु भनेको आफै रोगी हुनु हो । र आफैलाई मानसिक रोगीको शिकार बनाउनु हो ।

बुद्धधर्म अनुसार शंका नै सबैभन्दा डर लाग्दो पाप हो । यस्तो भनेको शंका गर्नु पर्ने ठाउँमा पनि आँखा चिम्लेर बस्नु भनेको होइन । कुनै एउटा काम गर्नु पर्यो भने यसो हुन्छ कि, कसैले केहि भन्छ कि, धर्म अनुसार छैन कि भनि चिन्तन गरेर निर्णय नगरी डराएर बस्नु, नचाहिने शंका गरेर बस्नु एउटा मस्तिष्कमा भएको मानसिक रोग हो । आफ्नो स्वतन्त्र दिमागले काम गर्न नसक्नुको कारण पनि शंका नै हो । र त्यहि शंकाले नै मानिसको व्यक्तित्वलाई पछाडि धकेल्दै गइराखेको हुन्छ । र आफु केहि गर्न नसकेको भनेर आफैलाई हेयको भावनाले हेरिन्छ र आफुमाथि घृणा जागेर आउँछ । जीवनमा केहि गर्न नसकेको भनेर अपसोच गरिन्छ । अनि जिन्दगीभर नराम्रो फिल हुन्छ र आफुलाई नै धिक्कार्न पुग्छौ ।

हाम्रो समाजमा शंकाले भित्रैदेखि जरा गाडिसकेको देखिन्छ । गाउँदेखि शहर बजारमा हाम्रो समाजले कुनै नचिनेका केटा र केटीबीच वार्तालाप भएको देख्यो भने उनीप्रतिको सम्बन्धलाई लिएर उ आफ्नो मनमा शंकाको पहाडै खडा गर्छ । तिनीहरु बोइफ्रेन्ड गलफ्रेन्ड हुन कि या तिनीहरुबीच कुनै नराम्रो सम्बन्ध स्थापित भएको छ कि भन्ने यावत कुरा उसको मनमा खेल्न ठाल्दछ । तिनीहरु भाई बहिनी किन नहुन । समाजले शंकाको दृष्टिकोणले हेर्ने गर्छ । त्यस्तै, कुनै मान्छेले कसैको श्रीमतीसंग दिन–दिनै हिड्ने गरेको छ । या कसैको श्रीमतीले अरु कसैसंग बाहिर गएको छ भने प्रायः शंकाको हेयले हेर्ने गर्दछन् । तपाई जहाँ जानुस् तपाई प्रति कसै न कसैको सकारात्मक दृष्टिले होस् या नकारात्मक दृष्टिले होस् । तपाई प्रति मनमनै उ शंकाको नजरले देखेकै हुन्छ ।

एउटा पत्रकारले जहाँ शंका हुन्छ त्यहाँ उसले समाचार देख्दछ । तर त्यहि शंकालाई यकिनमा परिणत गरेर मात्र समाचार बनाउँछ । जुन ठाउँमा शंका छ, त्यहाँ समाचार र केहि छ भन्ने कुरा बुझ्दछ । शंकाप्रति सबैको एकनासको विचार हुदैन । त्यहि शंकाले नै विभिन्न विचार उत्पन्न गर्दछ । एउटा कर्मचारीलाई भ्रष्टाचारीको नजरले हेर्नु, विद्यार्थीलाई शिक्षकले परीक्षामा चिटरको शंकाले हेर्नु, प्रहरीले शंकाकै भरमा व्यक्तिलाई अपराधीको नजरले हेर्नु,…इत्यादि जस्ता काम शंकाकै भरमा हेर्ने चेकजाँच गर्ने गरिन्छ । एकचोटी गलत गरेको व्यक्तिलाई सबैले त्यहि नजरले हेर्ने गर्दछन् । चाहे त्यो राम्रो मान्छे किन न होस् उसलाई समाजले त्यहि बिल्ला भिडाउने गर्दछ । चाहे त्यो एकचोटी मात्रै गलत किन नगरोस् । समाजले उसलाई शंकैको दृष्टिकोणले हेर्ने गर्दछ ।

कहिलेकाही श्रीमान र श्रीमतीबीच ठ्याकठुक पर्ने गरिन्छ । तर त्यहि श्रीमान वा श्रीमतीबीच शंकाकै भरमा एउटा सिंगो परिवार बिग्रिन्छ । श्रीमान होस् या श्रीमती ती दुवैबीच कसैले भनैकै भरमा गलफ्रेन्ड या बोइफ्रेन्ड छ भनेर शंका ग¥यो भने त्यहि बेला देखि नै श्रीमान श्रीमतीबीच इन्क्वाइरी सुरु हुन्छ । घर आउन किन ढिलो भयो ? त्यहाँ किन गाको ? किन नभनी गाको ? कति बेला गाको ? कोसंग गाको ? एक्लै गाको भए किन एक्लै गाको ? किन कसैलाई साथमा नलगेको ? किन फोन ढिला उठाएको ?…आदि प्रश्नहरु आवेगमा हल्का रिसाएको जस्तो खश्रो बोलीमा प्रश्नहरु तेर्सिन्छन् । तर शंका उपशंका नभएका बेला त्यहि कुरा सामान्य भएर कहाँ गएकी थियौ ? अनि एक्लै गाको बोर लागेन मलाई त एक्लै कतै जानू पर्यो भने साथी नभै जाने मनै लाग्दैन ? फोन आको थाहा पाएन हो ? जस्ता कुराहरु हुन्छन् । कुनै बेला मोवाइलमा कुरा गरेको देखे पछि पनि त्यहि शंका गर्छन् कि आफ्नो बोइफ्रेन्ड या गलफ्रेन्डसंग कुरा त गरिराछैनन भन्ने सोच्छन् । यो सोच स्थापना त्यहि समाजले गर्छ, जहाँ शंकाको दुनियाँमा बाँचिन्छ, हेरिन्छ । त्यस्तै शंकाको व्यवहारमै हुर्किन्छ । अनि त्यै समाजका मानिसले जसलाई पनि शंकाको नजरले हेर्ने बातावरण बनाइ दिन्छन् । अनि जो कोही अरुलाई त्यहि शंकाको नजरले हेर्ने गर्छन् । तर कहिलेकाही त्यहि शंकाले गर्दा मानिसलाई बिग्रिनबाट जोगाउँछ । मानिसले शंका गर्छन भनेर जथाभावी गर्न पाउँदैनन् । त्यहि समाजको डर मान्छन् । आफ्नै अनुसार नचली समाज अनुसार चल्न बाध्य हुन्छ । शंकाले उसलाई डोरीमा बाँध्ने काम गर्दछ । जसले निश्चित सीमामा रहेर काम गर्न प्रेरित गर्छ । त्यस भन्दा बाहिर निस्कनलाई एकचोटी सोच्न मजबुर हुन्छ ।

जथाभावी शंकाले सम्बन्ध बिगार्छ । तर शंकामा नै मायाको स्वार्थ लुकेको हुन्छ । शंका श्रीमती या श्रीमानबीच हुनु हुनु भनेको त्यसप्रतिको माया मोह आत्मसाथ गर्नु हो । शंकाले अरु कसैको घर मात्रै जलाउँदैन । त्यसमा आफ्नो घर पनि जल्न पुग्छ । तर त्यहि शंकाले कहिलेकाही बिग्रिन लागेको सम्बन्धलाई सुमधुर बनाउँछ । कसैको लोग्ने या पत्नी समाज भन्दा बाहिर गएर केहि काम गर्न लागेको छ भने बुढी या बुढा शंका गर्छ भनेर त्यस्ता काम गर्नबाट शंकाले रोक लगाउँछ । कुनै पनि सिक्काको दुई पाटा हुन्छ भनेझै शंकाले घर जलाउन मात्रै होइन सपार्ने पनि गर्छ । यसरी श्रीमान र श्रीमतीबीचको सम्बन्धलाई लिएर एकजना यौन अध्येता एल्भिस प्रेसली आफ्नो विचार यसरी व्यक्त गरेका छन “हाम्रो सम्बन्धको वीचमा शंका छ भने हामी दुईवीचको सपनाको विकास गर्न सक्दैनौ” भनेर भनेका छन । त्यस्तै रोवर्ट रेडिल र रोवर्ट विङ्गलका अनुसार शंका धेरै भएको सम्बन्धमा चिन्ता, असुरक्षा, ईष्या र मनोवलमा कमी हुन्छ । शंकाको तह बढ्दै जाँदा आफ्नो पार्टनरको फोन जाँच गर्ने, कता गएको हो भनेर पछ्याउने जस्ता कामहरु पनि हुन थाल्छ र सम्बन्ध झन् बिग्रिन थाल्छ भनी परिभाषित गरेका छन ।
जब मानिसको शंकाकै कारणले घरबार बिग्रिन्छ अनि दुई व्यक्तिबीच मायाको अभाव हुन थाल्दछ । घरमा झै–झगडा हुन थाल्छ अनि सुनौलो परिवारको निन्द्रा चैन सुख आराम हराएर जान्छ । अनि जिन्दगी नै बोझ भएर आउन थाल्छ । अनि त्यहि जिन्दगीलाई पछि सम्म डो¥याएर लैजान मुश्किल पर्छ । त्यहि शंकाले गर्दा सहन नसकेर आत्महत्या जस्ता घटना सुनिन आउँछ । त्यसैले जिन्दगीलाई झमेला होइन सजिलो बनाउँ । प्राय जस्तो सानो तिनो कुरामा चिन्ता लिनु हुदैन । त्यस कुरालाई आपसमा मिलेर सुल्झाउन सक्नु पर्छ । एक आपसमा कुरा गरेर कमी कमजोरी कसको हो भनेर पत्ता लगाई त्यसको समाधान गर्न तर्फ लाग्नु उत्तम मानिन्छ । लोग्ने या स्वास्नी बिग्रिदै छ भनेर कहिलेकाँही यस्तो सोच सबैलाई आउँछ । शंकालाई विस्वासले थिच्नु पर्छ । सारा विश्व नै विश्वासमा अडेको छ । त्यसैले शंकामा होइन विश्वासमा जिउने मान्छे उत्तम मानिन्छ र उसको जीवन नै सुखी खुशी हुन्छ ।

आजकाल संगै बसेर एकले अर्कालाई शंकाकै नजरले हेर्ने गर्छन । एकआपसमा औला ठड्याउँछन । तर परदेशको जिन्दगी त झनै टाढा हुन्छ । प्रदेशीलाई त झन टमाम प्रश्नले पिरोल्छ होला । तर त्यो प्रश्नलाई शंका उपशंका वा आशंकाले होइन । विश्वासले जित हासिल गर्नु पर्छ अनि मात्र सफल जिन्दगीको सुरुवात गर्न सकिन्छ । सकारात्मक सोचाइ र विस्वास नभए जिन्दगी जिउन गाह्रो छ । किनकि विदेशमा कल्पना मै रमाएका हुन्छन्, वर्तमानमा दुःख गरेर सुनौलो भविस्यको कामनामा रमाउन सक्नुपर्छ भनी बुझ्नु पर्छ । आफ्नो रिसमा नियन्त्रण हुनुपर्छ, आफ्नो जवानीमा नियन्त्रण हुनुपर्छ । आफ्नो मनलाई लगाम लगाएर राख्न सक्नुपर्छ । अनि अरुले सुनाएका कुराहरुलाई आफैं विश्लेषण गर्न सक्नुपर्छ । प्राय सय जना विवाहित मध्ये बढीमा ५ जनाको गृहस्थी साँच्चै नै शंकाको लहै–लहैमा बहेर टुट्छ्न् । बाँकी ९५ गृहस्थीले आफ्नैलाई शंका गर्न थाल्छ्न अनि सम्बन्ध कमजोर बनाउँछ्न । शंका यस्तो खिया हो जसले फलाम जस्तो पक्का सम्बन्धलाई पनि गलाइ दिन्छ ।

मानिसको जिवनमा सुख दुख र यमराज संगसंगै आइराखेको हुन्छ । यात्रा गर्दा कहिले सुख अगाडी हुन्छ भने कहिले दुख । अनि त्यहि सुख दुखको चक्करमै कहिलेकाही यमराज अगाडी हुन पुग्छ र जीवन नै समाप्त हुन्छ । मानिस प्रायः जसो सुखी खुशी हुनलाई सात समुन्द्र पारी जाने गर्छन । तर सात समुन्द्र पारी रहेर विश्वासमै टिकेका हुन्छन र कोहीको सुखी खुशीको चक्करमा परेर यहाँ कसैको लोग्ने या स्वास्नी अरु कसैको हुन पुग्छन । अनि बिश्वासको पात्र टुट्छ र शंकाको दृष्टिमा जिउन सुरु गर्छन । यदि तपाई विदेश या सात समुन्द्र पारी हुनुहुन्छ भनेर के तपाईंको बुवा आमाले अर्को छोरा खोज्नु हुन्छ र के उहाँहरुको मायामा कमि आउँछ र ??? अझै बढ्छ बरु । हो त्यस्तै हो श्रीमतीको माया पनि अझै बढ्छ, घट्छ त केबल तपाईको विश्वास । यसकारण आफ्नो मान्छेको विश्वाससंग खेलवाड नगर्नु । विश्वासमै रहेर आफ्नो जिन्दगीको रमाइलो पलसंगै सुरुवात गर्नु । जिन्दगी शंकामा होइन विश्वासमा चल्छ । जिवनलाई पवित्र गंगासरी सलल बग्दै आफ्नो जिन्दगी चलाउँ । यहाँ सपार्ने भन्दा बिगार्ने बढी हुन्छन । अरु कसैको लहै लहैमा लागेर जिन्दगीलाई नर्क नबनाऔ । बरु अरु कसैलाई सम्झाउँ, केहि कुरा भन तर आफूलाई अरु कसैलाई शंका गर्ने ठाउँ नदिआंै । जय विश्वास…।
(कैलारी गा.पा.–६, बेनौली कैलाली, पहुरा थारु दैनिक धनगढी, कैलाली)