देशको हुलिया
हेर्दा सानो देखिए पनि
यो धेरै देशहरूको देश हो
एउटै छैन यसको परिचय
एउटै हुलियाले देश चिनिंदैन
तर, आजसम्म
एउटै हुलियाले धानेको छ
देशको परिचय !
देश भन्नु,
होइन, सुलुत्त परेको नाक मात्र
होइन, खस भाषा मात्र बोल्ने जिब्रो
होइन, त्यो गहुँगोरो छाला मात्र !
देश भन्नु,
दौरा सुरुवाल र टोपी मात्र होइन
देश भन्नु,
सगरमाथा मात्र पनि होइन
न त हो देश भन्नु,
लाली गुराँस फुल्ने पहाडहरू मात्र !
दावा ग्याल्जेन
देशको नाक हेर्छ र आफ्नो नाक हेर्छ
र सोच्छ,
म देशभित्र छैन कि कसो रु
किन देशको नाक र मेरो नाक फरक छ ?
फुल्गेन सदा
देशको अनुहार हेर्छ
र ऐनामा आफूलाई हेर्छ
अनि मनमनै सोच्छ,
किन मेरो रंग र देशको रंग फरक छ ?
वीरमान लिम्वु
एकोहोरो सोचिरहन्छ,
कसरी खोसियो किपट ?
तमोरका घुमाउँनीहरूमा
किन अझै देखिएझैं लाग्छ घुमिरहेका
बाजे बजुका घाइते शरीर ?
च्याब्रुङ फुटेको वर्षौं भयो
च्याब्रुङमा नयाँ छाला फेर्न
किन पटक – पटक रोक्छ संविधान ?
राष्ट्रिय विभूतीहरूको सूचीमा
किन आफ्नो अनुहारका कोही छैनन् ?
यस्तै यस्तै सोच्छन्,
झगरु मुसहर
आइतसिंह तामाङ
पेम्वा शेर्पा
फूलमान गुरुङ
ताया किराँती
छविलाल थारु
र मकरसिंह मगरहरू !
माघी, साकेला
भूमे, लोसार
यिनीहरू किन राष्ट्रिय चाड बनेनन्
यसरी सोच्ने टाउकाहरू पनि
उम्रिसकेका छन् सरहदभित्र
भलै यो समाचार
शासकहरूका लागि
भयानक दुखद समाचार हो !
याङ्वेन, ढिक्रि, बगिया, भक्का
किनामा, स्योसोम, रेल्दोक, बारा
मुरब्बा, खाप्से, वाचिपा, तोङ्वा
यिनीहरू कसरी बहिस्कृत भए
देशका राष्ट्रिय खानाहरूको सूचीबाट ?
यस्तै – यस्तै प्रश्नहरूको जुलुस
देशभित्र निस्कन थालेको छ !
देशको अनुहारबाट
गायव भएपछि
कसैको नाक
कसैको रङ्ग
कसैको भाषा
कसैका भेषभुषा
कसैका चाडपर्वहरू
र कसैका प्रिय भोजनहरू
देश पनि परदेश लाग्ने रहेछ
रआफूलाई सोच्दोरहेछ मान्छे
एक यायावर शरणार्थी !
देशभित्रै देश हराएका
असंख्य अनुहारहरू
देशको मानचित्र पल्टाएर
खोजिरहेछन् आफ्नो अनुहार
म देखिरहेछु,
तिनीहरूका आँखामा सघन उदासी !
कुनै विदेशीले सोध्यो भने
मेरो देशको हुलिया
के उत्तर दिने होला !
यही सोचेर वर्षौंदेखि
असमन्जसमा छ एउटा कवि !













