सेल्टर

कमरेड !
यही झुपडी हो
हिजो तिमीले मेरै बाको गाँस खाएर बाँचेको
मेरी आमाको फाटेको गुन्यूको थाङ्नामा
कैयौं रात बिताएको
र, सुखको निद सुतेर मीठो सपना देखेको ।

यही झुपडी हो
हिजो मेरा भाइ र बहिनीलाई
मार्क्सवाद, लेनिनबादको परिभाषा घोकाएको
र देशको निम्ति
जनयुद्धका लागि उत्पेरित बनाएको ।

हो, यो उही झुपडी हो
दुश्मनका नाइटभिजनले
बस्तीमा बमबारी गरिरहँदा ओट लागेको
दुश्मनले घेरा हाल्दा लुकेको
र, यही झुपडीबाटै हो
मेरा बा–आमाले तिमीलाई
विजयीको टीका लगाएर बिदाइ गरेको ।

युद्ध रणसंग्राममा
बहिनीले शहादत प्राप्त गरिहो
यही झुपडीबाटै भाइ गिरफ्तार प¥यो
ऊ बेपत्ता पारियो
तर पनि बा–आमाले
देशको निम्ति रगत सम्झेर
एक मुठी माटो राखेर सलाम गरे ।

कमरेड !
समय बदलियो,
यता झुपडीको छानो चुहिने भयो
भित्ताहरु भत्किए
म बा–आमाको कहानी के सुनाउँ रु

तिम्रा दिनहरु फेरिए
तिम्रा विचार पनि फेरियो
सायद, दरबार छिरेपछि
तिम्रा आँखाहरूले मेरा बा–आमालाई
आतंकारीका बा–आमा देख्न थालेछ
र मेरो घर आतंकारीको घर देख्न थालेछ
अर्थात आतंकारी सेल्टर ।
(२०७६ असार १३ गते