सडकमा मालिकहरु

मानौं यो देश मालिकहरुको हो
यहाँ मालिकहरुको आदेश पालन हुन्छ
मालिकहरुकै कुरामा सुनुवाइ हुन्छ
किन कि
यो देश मालिकहरुले चलाउँछन् ।

हाम्रा बा’हरुले
यो घना झाडी र बञ्जर भूमि आवाद गरे
र बनेका हुन् उर्बर माटो ।

यता केही थान सामन्तहरुका आँखा
हाम्रा बा’हरुको पसिना लुट्न
ललायित भए र लुटियो
धर्म र संस्कृतिको नाममा पुरै आवाद भूगोल
र उही भूगोलमाथि श्रमको दास बनाइयो ।

र, एउटा बैधानिक प्रमाण–पत्रमा लेखियो
लुटको कालो इतिहास
महाराजको दान–दक्षिणाले किनियो
यो बडेमानको भूगोल ।

बा’हरुलाई थाहा छैन
कुन भूगोल बेचियो ?
कुन मूल्यमा बेचियो ?
कुन कागजमा सही–छाप गरियो ?
र कुन सहुमहाजनले खरिद ग¥यो ?
तर, बा’हरुलाई यति कुरा थाहा छ
बाुहरूको बिमतिका बाबजूद पनि
मालिकहरूकै डर, धाक-धम्कीमा
आवाद भूगोल लुटियो ।

आज मालिकहरु हाम्रै बा’हरुका बिरुद्ध छन्
हाम्रै बाुहरुको पसिनाको बिरुद्धमा छन्
किन कि
हिजो तीनै सामन्तहरुलाई
हाम्रा बा’हरुले रातो भाले खुवाउन सकेनन्
गोलराको रक्सी पु¥याउन सकेनन्
र यही झोकमा हाम्रा बा’हरुको पसिना लुटेर
मठ्ठीभर दलालहरुलाई मालिक बनाएका हुन् ।

मालिकहरु अझै पनि
धर्म र संस्कृतिलाई बिक्री केन्द्रमा राखेर
आकर्षण विज्ञापन गरिरहेछन् ।

इतिहासले केही पदचाप छोडेर गएको छ
महन्थहरु डोकोभरि पैसा लुटेर भागेको
महन्थहरु धनसहित कसैको चेलीबेटी भगाएको
भूमाफियाहरु किस्ता–किस्तामा बिक्री गरिरहेको
र मिलोमतोमा ढुकुटी लुटिरहेको ।

आज मुट्ठीभर मालिकहरुको स्वर्गको जग
नहल्लियोस् भनेर मालिहरु सडकमा छन्
यसो त मालिकहरु सदनमा पनि छन्, सरकारमा पनि छन्
र अहिले बिगतको लुट इतिहास नबाहिरियोस भनेर
हाम्रा बा’हरुका बिरुद्ध दफा–दफामा झूट वकालत गरिरहेछन्
बूँदा–बूँदामा स्पष्टीकरण दिरहेछन्
किन कि
यति बेला पनि हाम्रा बा’हरु निरीह छन्
निरीहहरु र पीडितहरु
लुटिएपछि अधिकार माँग्छन्
तर यतिबेला बा’हरु होइन
मालिकहरु लुटकै साम्राज्य माग्दै सडकमा छन्
किन कि
यो देश मालिकहरुले चलाउँछन् ।