सलाम वालेकुम मुर्तजा !
नावालक भएको कारणले
स्थगित भएको मृत्यु दण्ड
तिमी वालिग भएकै दिन फुकुवा हुने छ
र, संभवतस्
तिमी फाँसीमा झुण्डिने छौ !
धरतीका अरवौं नावालकहरूमा
तिमी एउटा जिराहा नावालक
जो मृत्यु दण्ड पर्खेर बसेको छ
तर माफी माग्न तयार छैन !
आफ्नो प्रिय दाजु
जो सहिद भैसक्यो
उसको पदचिन्हमा हिडेका
तिम्रा कलिला पैताला
अव वालिग भैसकेछन्
साउदी सत्ताको नजरमा
तिमी अव योग्य भैसक्यौ
सहिद बन्नको निम्ति !
आहा !
तिम्रो जिहादी चेतना
कति सफा , कति कडा
कति उत्कृष्ट , कति निडर
कति समर्पित, कति प्रेमिल !
मुर्तजा कुरैसी !
म कामना गर्छु
अव धरतीमा
हरेक आमाहरूले जन्माउँन
तिमी जस्तै जिराहा वालक
जो मर्न तयार होस
तर,
शासकहरूको फोहोर खुट्टामा
कहिलै झुक्न तयार नहोस !
तिम्रो निष्ठाको अघिल्तिर
म ईन्द्र धनुष झैं झुकेको छु
र तिमीलाई समर्पित गर्दै छु
एउटा सग्लो अभिवादन
सलाम वालेकुम मुर्तजा !













