कमरेड ! तिमीलाई मेरो यो उपहार कालो झण्डा स्वीकार्नु ल

कमरेड !
आज तिमीलाई मेरो यो उपहार
दिनु त मसँग अरु केही छैन
म दाम चढाए ढोग्न पनि सक्दिन
घाम लुकाएर भाग्न पनि सक्दिन
बस् ! मसँग यही एउटा कालो झण्डा छ
जो तिमीलाई खुब सुहाउँछ
जे जस्तो भएपनि स्वीकार्नु ल !

कालो झण्डा
तिम्रो टोपीसँग पनि मिल्छ
तिम्रो कोटसँग पनि मिल्छ
जुत्ता त झन दुरुस्तै कालो छ
त्यसो त कालोसँग
तिम्रो छाँयाको सम्बन्ध पनि मधुर छ
माया पनि उसैगरी प्रगाढ छ
त्यसैले तिमीसँग जे/जे कुरा मिल्छ
ठ्याक्कै हिसाब/किताब मिलाएर
यो उपहार पठाएको हुँ ।

सूर्यास्त पछि
औंसीको रात निस्पट्ट अँध्यारो हुन्छ
अँध्यारो पनि कालो, कालो लाग्छ
आगो बलेर काठ, इन्धन अंगार बन्छन्
अंगार पनि कालो हुन्छ
जसरी सडकमा टायर बालिन्छ
र टायरको धुवाँ पनि कालो हुन्छ
ठ्याक्कै मैले तिमीलाई सम्झें
तिमीलाई सुहाउला पनि
त्यसैले उपहारको यो कालो झण्डामा
केही औसी, केही अंगार
र केही धुवाँ राखेर पठाएको छु
सहर्ष अर्पण गर्नू ।

रगत रातो हुन्छ
रातो रगत शहीदको प्रतीक
क्रान्तिको प्रतीक
तर, रगत सुक्यो भने कालो हुन्छ
कालो तिमीलाई मन पर्छ
अँध्यारो पनि तिमीलाई मन पर्छ
त्यसैले यो कालो झण्डा पठाएको हुँ
किन कि,
तिमीलाई रातो मन पर्दैन ।
(२०७६ बैशाख ९ गते  फेसबुकबाट