अक्षरहरू
अक्षरहरू
अझै पनि जाग्राम छन् ।
किन कि
लुटेराहरूले देश लुटिरहेछन्
निरङ्कुशहरूले दमन लादिरहेछन्
बलात्कारीहरू देशमाथि बलात्कार गरिरहेछन्
विचरा ! निरीह अक्षरहरू
कसरी निदाउन सक्छन् यो भयावह रात ?
अक्षरहरू !
शासकहरूको दमनका बिरुद्ध
विद्रोहका कालो मसीले रंगाउँछन्
निरङ्कुशता बिरुद्ध, धावा बोल्छन्
र सडक सडकमा निस्किन्छन्
विचारहरूको जुलुस लिएर ।
यसकारण शासकहरूलाई
अक्षर अराजक लाग्न सक्छ
उदण्ड लाग्न सक्छ
आतङ्कारी लाग्न सक्छ
र त, गिरफ्तार हुन्छन् अक्षरहरू
कोही चिया(पसलबाट
कोही खेत(खलिह्यानबाट
त कोही आफ्नै घर, ओछ्यानबाट ।
शासकहरूको जस्तो
कुर्सीको निम्ति
पद् र प्रतिष्ठाको निम्ति
अक्षरहरू कहिल्यै ढुङ्गा हान्दैनन्
कहिल्यै बन्द, हड्ताल, आगजनी गर्दैनन्
न कहिले बन्दुक उठाउँछन्
न बम पड्काउँछन् ।
तर पनि कृष्णसेनहरू जेलभित्रै मारिन्छन्
तस्लिमाहरू देश निकाला हुन्छन्
र कविहरू पक्राउ पर्छन् ।
हो, अक्षरहरूका पनि
आफ्नो आस्था हुन्छ, विचार हुन्छन्
अक्षरहरू पनि कम्युनिष्ट हुन्छन्
अक्षरहरू कांग्रेस पनि हुन्छ
कोही राजावादी अक्षर पनि हुन्छन्
कोही हिन्दू हुन्छन्, कोही इसाई
त कोही मुस्लिम अक्षर पनि हुन्छन्
तर, इमान अक्षरहरू
मालिकहरूका अन्धभक्त हुँदैन्
शासकहरूका गुलाम पनि बन्दैन
र, गुनगान पनि गाउँदैनन् ।
अक्षरहरू त सँधै बेथितिका बिरुद्ध
अराजकताका बिरुद्ध
अव्यवस्था र अशासनका बिरुद्ध बोल्छन् ।
हो, केही थान भाटहरू
र, केही थान गुलामहरू
मालिकहरूकै निर्देशनमा
शासकहरूकै आदेशमा
अक्षरहरूका खिलाप गर्छन्
र, केही अक्षरहरू बन्धक बनाएर
देश गुम्राहको फिरौती मागिरहेछन्
तर, अक्षरहरू कहिल्यै हतास हुँदैनन्
अक्षरहरू कहिल्यै निरास पनि हुँदैनन्
उनीहरू त सँधै खबरदारी गरिरहन्छन्
किन कि अक्षरहरू अझै जाग्राम छन् ।
(२०७६ बैशाख ४ गते













