दमित आवाज : बिद्रोहको ज्वाला बोकी उठ्नु पर्छ हामी

बिद्रोहको ज्वाला बोकी उठ्नु पर्छ हामी
क्रूर–दमन टेक्दै अब जुट्नु पर्छ हामी

लाठी–भाला, बर्छा–खुडा यही हाम्रो हतियार
परी आए उठ्छ अझै शासकहरु होसियार
हत्या गर्छौ आफैले, आरोप हामी माथि
कति दिन सहने हामी, हेर अब साथी

दुश्मनका किल्ला माथि फुट्नु पर्छ हामी
बिद्रोहको ज्वाला बोकी उठ्नु पर्छ हामी

चट्टान फोडी उर्बर–माटो बनाएका हौं हामी
धर्ती–पुत्र भनी आफू चिनाएका हौं हामी
बाघसंग लड्यौं हामी औंलोसंग लड्यौं
हुरीसंग लड्यौं हामी, आगोसंग लड्यौँ

कोही आए हाम्रो सामु चुट्नु पर्छ हामी
बिद्रोहको ज्वाला बोकी उठ्नु पर्छ हामी

भ्रष्टाचारी, देशद्रोहीले न्याय पाए भर्खर
शासकहरु खुलेयाम नै देश खाए भर्खर
देशकै लागि लड्ने माथि जन्मकैद किन
यसकै बिरुद्ध बिद्रोह गछौं गिन्दै गर दिन

अब लुटेराको घर पनि लुट्नु पर्छ हामी
बिद्रोहको ज्वाला बोकी उठ्नु पर्छ हामी

कर्फ्यु लाग्छ, लुट हुन्छ आगजनी हुन्छ
न्याय माँगे किन यहाँ आनाकानी हुन्छ
हिउँ पनि गल्छ यहाँ घामले तातेपछि
के हुन्न र अब पनि हामीले आँटेपछि

अटेर गर्ने सामन्तीलाई भुट्नु पर्छ हामी
बिद्रोहको ज्वाला बोकी उठ्नु पर्छ हामी