महिलाले पुरुष समान अधिकारको लागि प्रतिस्पर्धा गर्न जरुरी
यो वृथ्वीको उत्पत्ती हुँदा सन्तान उत्पादनको लागी महिला पुरुष भएर आए । जतिपनि संसारमा जिव वनस्पती छन्, ती सबैमा भालेपोथी हुन् । जो सन्तान उत्पादनका लागि प्राकृतिक रुपमा रहेका हुन्छन् । भालेपोथीमा जैविक विविधता भनेको भालेले विर्यदान गर्ने पोथीले गर्भ धारण गरेर बच्चा उत्पादन गर्दछन् । प्राकृतिक रुपमा नै बच्चा उत्पादन भएपछि प्रायः सबै जिवजन्तुमा पोथी जातिले नै सन्तानको पालन पोषणमा बढी जिम्मेवारी बहन गरेको देखिन्छ । जिवहरुमध्ये मानिस अरु प्राणी भन्दा विवेकशिल प्राणी भएकोले महिलाले जन्माएको बच्चा हेरचाह र हुर्काउन पुरुषहरु केही मात्रामा सहभगी भएको देखिन्छ । अल्पविकशित मुलुकहरुमा त त्योपनि धेरै कम मात्रामा सहभागी हुन्छन् ।
विकशित मुलुकहरुमा त राज्यले नै महिला पुरुष दुबैले बच्चालाई १८ बर्ष नपगुुन्जेल समान रुपले अनिवार्य पालनपोषण शिक्षा दिलाउनु पर्ने कानुनमा बाध्यता गरेकाले बाबुआमाको छोडपत्र भई अलगअलग भएपनि बच्चालाई हुर्काउनु पर्ने खर्च दिइरहनु पर्ने हुन्छ । १८ वर्ष पुगेपछि राज्यले शिक्षा स्वास्थ्य रोजगारीको ग्यारेन्टी लिएकोले बावुआमाको घरबाट बाहिर गएर बस्नु पर्ने आफ्नो भविष्य आफै तयार गर्न दक्षता हासिल गर्नुपर्ने भएकोले प्रायः छोराछोरीहरु घरबाट अलग जाने रितिरिवाज बनेको छ । बावुआमाको सम्पत्ति कमाई छोराछोरी कसैलाई पनि दिनुपर्ने बाध्यकारी नियम कानुन छैन् ।
आफ्नो मन खुसी आमाबावुले दिन सक्ने नीति नियम छ । विवाह पनि केटाकेटीको इच्छा भएमा मात्र गरिन्छ । हाम्रो जस्तो मुलुकमा आमाबावुको इच्छामा विवाह गर्नुपर्ने, विवाहमा फजुल खर्च गर्नुपर्ने, ति मुलुकहरुमा अन्त्य भइसकेको छ । बाआमाको सम्पतिमा छोराछोरीको हक लाग्ने ति मुलुकहरुमा छैन । छोराछारीले सम्पत्ति खान पाउने नीति नियमले नै हाम्रो मुलुकहरुमा अन्याय अत्याचार भ्रष्टाचार गर्ने सम्पती थुपर्याउने, छोराछोरीले फुजल खर्च गर्ने ट्यापे हुने दक्षता हासील नगर्ने बावुआमाको कमाईमा मोजमस्ती गर्ने समस्याहरु बढी अल्पविकशित मुलुकहरुमा नै रहेका छन् । विकशित मुलुकहरु त्यहि भएर पनि भ्रष्टाचार अन्त्य हुँदै गइरहेको छ । त्यस्ता मुलुकहरुमा पुरुष अधिनायीकत्वको विरुद्धमा यूरोपमा महिलाहरुले शसस्त्र विद्रोह गरी हरेक क्षेत्रमा समान अधिकारको प्रयोग गरिरहेका छन् ।
समाज विकासको क्रममा पुरुषले महिलाहरुका सबै समान अधिकार खोसेर पुरुषको दासी मनोरन्जनको भाडो बनाएकै हुन् । अहिलेपनि अल्पविकसित मुलुकहरुमा धर्म संस्कार सांस्कृती रुपमा महिलामाथि अनेकौँ बार वन्देजहरुका पर्खालहरु लगाइएका छन् । हाम्रै नेपालमा कथित उपल्लो भनिने हिन्दु मुस्लिम जातीहरुमा अनेकौं बार वन्देजहरुभित्र महिलालाई नियन्त्रण गरिएको छ । ति वर्गका राजनीतिज्ञहरु भाषणमा मतको भकारी लिन अत्यन्तै उदार देखिएपनि महिलाप्रति गरिने भेदभाव सामान्ती संस्कार गएको छैन । तरपनि दक्षिण एसियामा राजनीतीमा महिला सहभागी ४० प्रतिशत संविधानमा किटानी गरेर कोटा दिने नेपालनै अग्रेणी देश रहेको छ । यसैमा पनि स्थानीय चुनावमा प्रायः प्रमुख पदको लागी महिलालाई नदिएर उपमा मात्र सिमित, संघ र प्रदेशको चुनावमा प्रत्यक्षमा उम्मेदवारी नदिएर समानुपातीमा मात्र सिमित पुरुषवादी सोँच र संस्कार देखिन्छ । स्वतन्त्रता नहुँदा राजनीतिज्ञ हुन पुगेका महिलामाथी श्रीमानहरुबाट अनेकौँ समस्या देखिएका छन् । रुकुममा निर्वाचित वडासदस्यलाई उनका श्रीमानले हत्या पनि गर्न पुगेका छन् भने कतिपयलाई शारीरिक-मानसिक यातना भोग्नु परेको छ ।
राजनीतिज्ञ हुन पुगेका महिलालाई अनेकौँ कोणबाट हमला भइरहेका छन् । हुन त कुनै पनि संस्कार संस्कृती जन्माउन लाखौँ करोडौँ बर्ष लगाएर मानव समाजले निर्माण गरेको हो । त्यसलाई हामीले चाहेजस्तो एकछिनमा फ्याक्न सकिँदैन, कति त ति संस्कार संस्कृती मानव उपयोगी पनि छन्, तिनलाई राख्दै बाँकी महिलामाथीका थुपारीएका बार बन्देजहरु फ्याक्न महिलाहरु आफै उठ्न जरुरी छ । निगाहले दिएका अधिकार पूर्ण हक अधिकार प्राप्त हुँदैनन् ।
मानव समाजले युगौंयुगदेखि समाज सञ्चालन गर्न अनेकौँ नीति विधि धर्म संस्कार संस्कृती उत्पादन गरेको छ । युगको काल क्रममा कुनै समयको त्यो नीति विधि धर्म लागु गर्दा बेथितिलाई व्यवस्थापन सजिलो भयो होला ? सधै त्यहि विधि नीति रहिरहन्छ भन्ने कही छ, काल फेरिन्छ प्राकृतिकका मापदण्डहरु त फेरबदल भइरहन्छन भने मानवले निर्माण गरेका मापदण्डहरु पनि कालक्रममा फेरवदेल भैरहन्छन् । त्यहि व्यवस्थापन चाहिन्छ भन्नेहरु सामन्ती चिन्तन बोक्नेहरु सधै हारेर गइरहेका छन् । विकसित मुलुकहरुमा महिलाहरु गर्भ राख्ने बोक्ने मलाई नै पर्छ गर्भ धारण गर्ने पनि मेरो इच्छा भएपछि मात्र राख्छु भन्ने संस्कृतीमा अगाडी बढीसके, हाम्रो त याहाँ छोरा नपाएको हुनाले बहुविवाह गर्नेहरु समस्याले जेलिएको छ ।
दाइजो नपाउँदा कति युवतीहरुको ज्यन गएको छ । पर पुरुषसँग लागेको शंका उपशंकाबाट कति बिछोडदेखि मृत्यु बरण गर्नु परेको छ । स्वतन्त्र मानव भएर बाच्न पाउने अधिकार महिलाको छिनिएको छ । कति बालिका, बृद्ध, जवान, महिलाहरु जबरजस्ती बलातकृत हुने गरेकी छन् भने कतिले मृत्यु बरण गर्नु परेको छ । स्वतन्त्रताको अधिकार प्राप्त गर्न महिलाले राजनीतिकदेखि उत्पादनका हरेक क्षेत्रमा पुरुषसँग प्रतिस्पर्धा गर्नुपर्छ । पुरुषले कमाएर ल्याउ, म पर्दाभित्र बसेर खन्छु भनेपछि अधिकार पाउन सक्दैनन् । निगाहले दिएको राजनीति कोटाभन्दा समान अधिकारका लागी समान प्रतिस्पर्धा हुनु जरुरी देखिन्छ । सबैमा चेतना भया ।
- लेखक विक सुदूरपश्चिम प्रदेशसभा सदस्य हुन् ।













